अध्यागमन कारवाही तीब्र पार्न ट्रम्प प्रशासनद्वारा ५० हजार कर्मचारी भर्ना


प्रकाशित मिति : कार्तिक २९, २०८२ शनिबार

President Donald Trump speaks with reporters in the James Brady Press Briefing Room at the White House, Monday, Aug. 11, 2025, in Washington. (AP Photo/Mark Schiefelbein)

अमेरिकी सरकारले राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार सम्हालेदेखि ५० हजार कर्मचारीहरू नियुक्त गरेको छ । नयाँ कर्मचारीहरू प्रशासनको नीतिगत प्राथमिकता झल्किने गरी ठूलो संख्यामा राष्ट्रिय सुरक्षा पदहरूमा भर्ना भएका छन्। संघीय सरकारका मानव संसाधन निर्देशक स्कट कुपोरले दिएको जानकारीअनुसार नयाँ भर्ना गरिएकामध्ये अधिकांश कर्मचारीहरू आइसमा कार्यरत छन्।

कर्मचारीमा गरिएको यो परिवर्तन ट्रम्पको सरकारलाई नयाँ रूप दिन र अन्य संघीय जागिरहरूमा तीव्र कटौती गर्ने अभियानको हिस्सा हो। प्रशासनले नयाँ कर्मचारीहरूलाई भर्ना गरिरहँदा आन्तरिक राजस्व सेवा आईआरएस र स्वास्थ्य तथा मानव सेवा विभागजस्ता सरकारका अन्य निकायहरूमा भने भर्ना रोक्का गर्नुका साथै कर्मचारीहरूलाई निष्कासन पनि गरेको छ। कुपोरले अगस्टमा यो वर्षभरि करिब ३ लाख कर्मचारी कटौती गर्ने अपेक्षा गरिएको बताएका थिए।

ट्रम्पले २४ लाख कर्मचारीहरुको संख्याबाट घटाउने परियोजना सुरु गर्न यसै वर्षको जनवरीमा अर्बपति एलोन मस्कलाई नियुक्त गरेका थिए। मस्कले संघीय कार्यबल धेरै ठूलो र अति अव्यवस्थित भएको बताएका थिए। ट्रम्प प्रशासनले नागरिक अधिकार कानुनहरू लागू गर्ने, कर राजस्व सङ्कलन गर्ने र स्वच्छ ऊर्जा परियोजनाहरूको निरीक्षण गर्ने जिम्मेवारी पाएका कर्मचारीहरूलाई पनि बर्खास्त गरेको छ।

कर्मचारी कटौतीको क्रममा लगभग १ लाख ५४ हजार कर्मचारीहरूले ट्रम्प प्रशासनबाट बाइआउटको प्रस्ताव स्वीकार गरेका थिए। यो बाइआउटले मौसम पूर्वानुमान, खाद्य सुरक्षा, स्वास्थ्य कार्यक्रम र अन्तरिक्ष परियोजनाहरू लगायतका सरकारी गतिविधिहरूको विस्तृत दायरालाई प्रभावित गरेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com