परिवारमा आधारित ग्रिनकार्डको सबै श्रेणीमा भिसा अन्तरवार्ताको मितिमा अग्रता
प्रकाशित मिति : भाद्र २६, २०८२ शुक्रबार
अक्टोबरमा परिवारमा आधारित ग्रिनकार्डको प्राय सबै श्रेणीमा भिसा अन्तरवार्ताको मितिमा अग्रता कायम भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको भिसा बुलेटिन अनुशार केही श्रेणीमा थोरै अग्रता कायम भएको छ भने केही श्रेणीमा उल्लेख्य अग्रता कायम भएको छ । जसका कारण अमेरिकाबाहिर अन्तरवार्ताको प्रतीक्षामा रहेका आवेदकहरूको प्रतिक्षा अवधि केही घटेको छ ।
२१ वर्ष वा सोभन्दा माथिका अमेरिकी नागरिकका अविवाहित छोराछोरीको हकमा सेप्टेम्बरका लागि पनि प्राथमिकता मिति ८ नोभेम्बर २०१६ कायम भएको छ । जुन सेप्टेम्बरको १५ जुलाई २०१६ का तुलनामा झण्डै ४ महिनाको अग्रता कायम भएको हो । अब ८ नोभेम्बर २०१६ भन्दा अगाडि आई १३० पिटिसन दर्ता गरेका व्यक्तिहरूले अक्टोबरमा भिसा अन्तरवार्ता वा आप्रवासी भिसा पाउन सक्नेछन् ।
त्यस्तै, ग्रिन कार्ड वाहकका जीवनसाथी र २१ वर्षमुनिका अविवाहित छोराछोरीको हकमा आप्रवासी भिसा अन्तरवार्ता पाउने मितिमा १७ महिनाको अग्रता कायम भएको छ । सेप्टेम्बर महिनाका लागि पनि प्राथमिकता मिति १ सेप्टेम्बर २०२२ रहेकोमा अब अक्टोबरमा १ फेब्रुअरी २०२४ कायम भएको छ । अर्थात् १ फेब्रुअरी २०२४ भन्दा पहिला आई १३० पिटिसन दर्ता गरेकाहरुले अक्टोबरमा भिसा अन्तरवार्ता पाउन सक्नेछन् ।
त्यस्तै, ग्रिन कार्ड वाहकका २१ वर्ष वा सोभन्दा माथिका अविवाहित छोराछोरीका लागि अक्टोबरका लागि प्राथमिकता मिति २२ नोभेम्बर २०१६ कायम भएको छ, जुन सेप्टेम्बरको तुलनामा एकमहिनाभन्दा बढी हो । यो श्रेणीमा सेप्टेम्बरको प्राथमिकता मिति १५ अक्टोबर २०१६ कायम गरिएको थियो भने , अगस्त महिनामा पनि सोही मिति नै कायम थियो । तर अब २२ नोभेम्बर २०१६ भन्दा अगाडि आई १३० पिटिसन दर्ता गरेका व्यक्तिहरूले अक्टोबरमा भिसा पाउन सक्नेछन्।
अमेरिकी नागरिकका विवाहित छोराछोरीका सन्दर्भमा पनि अक्टोबरमा प्राथमिकता मिति ८ सेप्टेम्बर २०११ कायम गरिएको छ, जुन सेप्टेम्बरको तुलनामा एकमहिनाभन्दा बढी हो ।
सेप्टेम्बरमा यो मिति १ अगस्ट २०११ थियो भने अगस्तको तुलनामा कुनै टसमस भएको थिएन । तर अब अक्टोबरमा त्यसैले ८ सेप्टेम्बर २०११ भन्दा अगाडि आई १३० पिटिसन दर्ता गरेका आवेदकहरूलाई भिसा अन्तरवार्ता मिल्नसक्नेछ ।
त्यस्तै अमेरिकी नागरिकका दाजुभाइ तथा दिदीबहिनीहरूको हकमा पनि थोरै परिवर्तन भएको छ । अक्टोबरका लागि उनीहरूका लागि प्राथमिकता मिति ८ जनवरी २००८ कायम गरिएको छ, जुन केबल एकसाताको मात्र अग्रता हो । ८ जनवरी २००८ भन्दा अगाडि आई १३० पिटिसन दर्ता भएकाहरूले मात्र अक्टोबरमा भिसा अन्तरवार्ता पाउन सक्नेछन् ।
अमेरिकाभित्र हुनेहरुका सन्दर्भमा ग्रिनकार्डवाहकका अमेरिकाभित्रै हुने दम्पत्ति र २१ बर्ष अगाडिका बच्चाबच्चीलाई ग्रिनकार्ड फाइल गर्ने मितिमा उल्लेख्य अग्रता आएको छ, अर्थात् २२ सेप्टेम्बर २०२५ भन्दा अगाडि आई १३० पिटिसन फाइल गरेकाहरुले अक्टोबरमा ग्रिनकार्ड आवेदन दिनसक्नेछन् । त्यस्तै अमेरिकाभित्र। हुने अमेरिकी नागरिकका दाजुभाइ तथा दिदीबहिनीहरूको हकमा २ महिनाको अग्रता कायम भएको छ । यो श्रेणीमा १ मार्च २००९ भन्दा अगाडि आई १३० पिटिसन फाइल गरेकाहरुले अक्टोबरमा ग्रिनकार्ड आवेदन दिनसक्नेछन् ।
अमेरिकाभित्र हुनेहरुका सन्दर्भमा अन्य श्रेणीमा ग्रिनकार्ड फाइल गर्ने मितिमा कुनै फेरबदल भएको छैन । सेप्टेम्बरकै कायम छ । जसका कारण अमेरिकाभित्र हुनेहरुका सन्दर्भमा ग्रिनकार्ड फाइल गर्नका लागि प्रतिक्षा अवधिमा अझ वृद्धि भएको छ। अमेरिकी नागरिकका २१ वर्ष उमेर कटेका अविवाहित छोराछोरी, विवाहित छोराछोरी र ग्रिनकार्डवाहकका २१ वर्ष उमेर कटेका अविवाहित छोराछोरीको सन्दर्भमा अमेरिकाभित्र ग्रिनकार्ड फाइल गर्ने मितिमा कुनै परिवर्तन भएको छैन। यो मिति अक्टोबरमा पनि क्रमशः १ सेप्टेम्बर २०१७, २२ जुलाई २०१२ र १ जनवरी २०१७ नै रहेको छ।








