भिसा बुलेटिन: ग्रिनकार्डवाहकका दम्पत्ति र छोराछोरीको भिसा र ग्रिनकार्डमा उल्लेख्य अग्रता
प्रकाशित मिति : भाद्र २६, २०८२ शुक्रबार
अमेरिकी सरकारको विदेश मन्त्रालय अन्तरगत ब्यूरो अफ कन्सुलर अफेयर्सबाट आज सार्वजनिक अक्टोबरको भिसा बुलेटिनले ग्रिनकार्डवाहकका दम्पत्ति र छोराछोरीको मुहारमा खुशी ल्याएको छ । १ फेब्रुअरी २०२४ भन्दा अगाडि प्राथमिकता मिति भएका अमेरिकाबाहिर हुने ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुले अक्टोबरमा अमेरिकाको ग्रिनकार्डका लागि अमेरिकी दूतावास वा कन्सुलेटमा आप्रवासी भिसा अन्तरवार्ता प्राप्त गर्न सक्नेछन् ।
यो मिति सेप्टेम्बरमा झण्डै डेढ बर्ष अगाडि अर्थात् १ सेप्टेम्बर २०२२ कायम थियो । अब त्यसमा झण्डै १७ महिनाको अग्रता कायम भएको छ । अमेरिकाभित्रै हुने ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुका लागि पनि अक्टोबरको भिसा बुलेटिनले खुशी ल्याएको छ । २२ सेप्टेम्बर २०२५ अगाडि आई १३० आवेदन पेश गरेकाहरुले अब अक्टोबरमा ग्रिनकार्ड आवेदन आई ४८५ का लागि पनि आवेदन दिनसक्ने भएका छन् ।
यो प्रतिक्षा अवधि पनि सेप्टेम्बरमा झण्डै ३ महिना रहेको थियो । अब उक्त अवधिमा उल्लेख्य कमी आएपछि अमेरिकाभित्रै हुने ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुले ग्रिनकार्ड आवेदन पेश गरेर वर्क परमिट प्राप्त गर्न र ट्राभल डकुमेन्टमार्फत अमेरिकावाहिर यात्रा गर्न समेत पाउँछन् । यद्यपी युएससीआईएसले अहिलेसम्म भिसा बुलेटिनको फाइलिङ मितिलाई नै अमेरिकामा परिवारमा आधारित ग्रिनकार्ड आवेदन दिन पाइने मितिका रुपमा स्वीकार गर्दै आएपनि अक्टोबरका सन्दर्भमा भने अझै यसबारे जानकारी सार्वजनिक गरेको छैन ।
अमेरिकाभित्रै हुनेहरुले भिसा करेन्ट भइसकेपछि आई ४८५ फाइल गर्न पाएको खण्डमा सामान्यतया अध्यागमन स्टाटस जोगाउने झन्झट हुदैन । तर आई ४८५ अस्वीकृत भएमा भने कतिपयको सन्दर्भमा अन्य गैर आप्रवासी स्टाटस कायम नहुँदा देशनिकालाको प्रकृयामा पर्नसक्ने भएकाले आफ्नो आवेदनबारे निर्णय गर्नु अगाढि लाइसेन्सप्राप्त कानुन व्यवसायीको सल्लाह लिनु आवश्यक छ ।
सेप्टेम्बरमा पनि ग्रिनकार्डवाहकका अमेरिकाभित्रै हुने दम्पत्ति र २१ वर्षमुनिका बच्चाबच्चीलाई ग्रिनकार्ड फाइल गर्ने मितिमा २ महिनाको अग्रता कायम भएको थियो । त्यस्तै, ग्रिन कार्ड वाहकका दम्पत्ति र २१ वर्षमुनिका अविवाहित छोराछोरीको हकमा आप्रवासी भिसा अन्तरवार्ता पाउने मितिमा पनि सेप्टेम्बरमा टसमस भएको थिएन । १ सेप्टेम्बर २०२२ भन्दा पहिला आई १३० पिटिसन दर्ता गरेकाहरुले सेप्टेम्बरमा भिसा अन्तरवार्ता पाइरहेका छन् ।






