२००७ देखि २०२२ भित्र फेसबुक चलाएकालाई ७२५ मिलियन डलर वितरण सुरु, एकजनाको हिस्सामा कति?
प्रकाशित मिति : भाद्र २६, २०८२ शुक्रबार
Photo by Alexander Schimmeck
फेसबुकले प्रयोगकर्ताहरुलाई डेटा गोपनीयता मुद्दाको सम्झौताबाट भुक्तानीको रकम पठाउन सुरु गरेको छ । २ बर्ष अगाडि फेसबुकले प्रयोगकर्ताहरूलाई कम्पनीसँग सम्बन्धित क्लास एक्शन मुद्दामा अलर्ट गर्दै सूचनाहरू पठाएको थियो । यो क्याम्ब्रिज एनालिटिका डाटा गोपनीयता घोटालामा कम्पनीको संलग्नतासँग सम्बन्धित छ। यसबारेको सम्झौतामा फेसबुकले प्रयोगकर्ताहरुलाई ७२५ मिलियन डलर तिर्ने सहमति गरेको थियो ।
हरेक प्रयोगकर्ताहरुले औषतमा ३० डलर पाउने र बढीमा ३८ डलरसम्म पाउने बताइएको छ । लामो समय फेसबुक चलाएकाहरुले बढी रकम पाउनेछन् भने कम अवधि चलाएकाहरुले कम रकम पाउनेछन् । आगामी १० हप्ताभित्र उक्त रकम वितरण गरिने भएको छ ।
हालका र पूर्व फेसबुक प्रयोगकर्ताहरूको समूहले फेसबुकको विरुद्धमा धेरै मुद्दा दायर गरेका थिए, जुन अहिले मेटा भनेर चिनिन्छ । कम्पनीले डाटा माइनिङ फर्म क्याम्ब्रिज एनालिटिका र अन्य तेस्रो पक्षहरूसँग निजी प्रयोगकर्ता डाटा साझेदारी गरेको मुद्दा हाल्नेहरुको दाबी थियो । फेसबुकले प्रयोगकर्ताको डाटामा पहुँच गर्ने तेस्रो पक्षहरूमा यसको नियमहरू पर्याप्त रूपमा अनुगमन र लागू नगरेको पनि मुद्दा हाल्नेहरुको दावी थियो ।

सन् २०१८ मा फेसबुकले क्याम्ब्रिज एनालिटिकाबाट ८७ मिलियन फेसबुक प्रयोगकर्ताहरूको विवरण संकलन गरिएको बताएको थियो । त्यो डाटा २०१६ को राष्ट्रपति चुनावमा हेरफेर गर्न प्रयोग भएको आरोप लगाइएको थियो ।
कुनै दायित्व वा गल्तीलाई अस्वीकार गर्ने मेटा डिसेम्बर २०२२ मा अदालत बाहिर यी दावीहरू समाधान गर्न ७२५ मिलियन डलर तिर्न सहमत भएको थियो । २००७ देखि २०२२ सम्मको कुनै पनि अवधिको कुनै समय अमेरिकामा भएका फेसबुक प्रयोगकर्ताहरुले ७२५ मिलियन डलरमध्येको आफूले पाउने हिस्सा दावी गर्नका लागि २ बर्ष अगाडि फेसबुकले सूचित गरेकोमा अहिले रकम पठाउन सुरु गरेको हो । रकम पाउनका लागि २००७ र २०२२ को बीचमा कुनै पनि समयमा फेसबुक एकाउन्ट खोलेको, चलाएको र २ बर्ष अगाडि आफ्नो हिस्सा दावी गरेको हुनुपर्छ ।
प्रयोगकर्ताहरूले सन् २०२३ को अगस्त २५ भित्र अनलाइनमाफर्त रकम दावी गरेका थिए । त्यसका लागि प्रयोगकर्ताले आफ्नो नाम, ठेगाना, इमेल, युजर आईडी र रकम प्राप्त गर्ने माध्यम अनलाइनमा भरेका थिए । युजर आईडीको साटो आफूले फेसबुक लगइन गर्ने इमेल वा फोन नम्बर पनि प्रयोग गर्न सकिने व्यवस्था रहेको थियो । अब योग्य प्रयोगकर्ताहरुले मास्टर कार्ड, पेपल, भेन्मो र जेल लगायतमा माध्मबाट रकम प्राप्त गर्न सक्छन् । सन् २००७ देखि २०२२ भित्रको अवधिमा कुनै समय अमेरिकामा बसेका र यो अवधिको कुनै समयमा फेसबुक चलाएकाहरुले रकम दावी गर्नसक्ने प्रावधान थियो ।








