अब अमेरिकाको भिजिटर, विद्यार्थी लगायतका भिसा आवेदन दोश्रो देशमा दिन नपाइने
प्रकाशित मिति : भाद्र २२, २०८२ सोमबार
अमेरिकी विदेश मन्त्रालयले भिजिटर लगायत गैर आप्रवासी भिसा आवेदनसम्बन्धी नीतिमा ठूलो परिवर्तनको घोषणा गरेको छ । नयाँ नियमअनुसार अब अधिकांश गैरआप्रवासी भिसा आवेदकहरूले आफ्नो अन्तर्वार्ताको लागि आफू नागरिक भएको वा बसोबास गरेको देशमा रहेको अमेरिकी दूतावास वा कन्सुलटमा आवेदन दिनुपर्नेछ । यो निर्देशनले अन्तर्वार्ताका लागि स्थान छनौट गर्न धेरै लचकता प्रदान गर्ने पुरानो नीतिमा महत्त्वपूर्ण परिवर्तन ल्याएको छ।
नयाँ भिसा अपडेट अनुशार अमेरिकी गैर आप्रवासी भिसा आवेदकहरूले आफ्नो भिसा अन्तर्वार्ताको लागि आफू नागरिक भएको वा बसोबासको देशमा रहेको अमेरिकी दूतावास वा कन्सुलटमा अप्वाइन्टमेन्ट लिनुपर्नेछ । विगतमा नेपालीहरुले समेत नेपालमा भिसा अन्तरवार्ताको अप्वाइन्टमेन्ट नहुँदा भारत, सिंगापुर, थाइल्याण्ड लगायतका स्थानमा गएर विद्यार्थी र भिजिटर भिसा आवेदन दिदै आएका थिए ।
आफ्नो देशमा अन्तरवार्ताका लागि लामो समय कुर्नुपर्ने अवस्थाबाट बच्नका लागि तेस्रो देशहरूमा अन्तर्वार्ता खोज्ने आवेदकहरूलाई यो नीतिले उल्लेखनीय प्रभाव पार्ने छ। विदेश मन्त्रालयले आफू नागरिक भएको वा बसोबासको देशबाहिर अन्तर्वार्ताको समय तोक्नेहरूलाई भिसाका लागि योग्य हुन अझ कठिन हुने भनी स्पष्ट रूपमा चेतावनी दिएको छ।
मन्त्रालयले थप चेतावनी दिँदै भनेको छ, “यदि आवेदनको स्थान उनीहरूको बसोबासका आधारमा छ भने आवेदकहरूले आफू बसिरहेको देशमा बसोबास गरेको प्रमाणित गर्न सक्षम हुनुपर्छ । यस्ता आवेदनहरूको लागि भुक्तानी गरिएको शुल्क फिर्ता हुनेछैन र स्थानान्तरण गर्न सकिँदैन।”
हालका लागि तोकिएका अन्तर्वार्ताहरू सामान्यतया प्रभावित हुने छैनन्, तर नयाँ नीतिले केही आवेदकहरूका लागि प्रतीक्षा समय बढाउन सक्छ। विदेश मन्त्रालयले आफ्नो गृह देशबाहिर आवेदन दिनेहरूले अन्तर्वार्ताका लागि उल्लेख्य रूपमा लामो समय कुर्नुपर्ने अपेक्षा गर्नुपर्ने बताएको छ।
नयाँ नियममा केही भिसा श्रेणीहरूका लागि अपवादहरू पनि समावेश छन् । कूटनीतिज्ञ र सरकारी अधिकारीहरू, संयुक्त राष्ट्र मुख्यालय सम्झौता अन्तर्गत यात्राका लागि अपवाद रहेको छ । मानवीय वा चिकित्सा आपत्कालीन अवस्था वा विदेश नीतिका कारणले पनि दुर्लभ अपवादहरू प्रदान गर्न सकिन्छ। सबै गैर आप्रवासी भिसा आवेदकहरूलाई आवेदनका आवश्यकता र प्रक्रियासम्बन्धी सबैभन्दा पछिल्लो जानकारीका लागि सम्बन्धित अमेरिकी दूतावास वा कन्सुलटको वेबसाइट हेर्न सल्लाह दिइएको छ।
यसैबीच अगस्ट २८ मा अमेरिकी विदेश मन्त्रालयले आप्रवासी भिसाका लागि पनि यस्तै नियमको घोषणा गरेको थियो। यो नयाँ नीति, नोभेम्बर १, २०२५ देखि लागू हुनेछ । यो नीति अनुशार पनि सबै आप्रवासी भिसा आवेदकहरूले उनीहरूको बसोबासको देशमा अन्तर्वार्ता दिनुपर्नेछ। नयाँ नियमअनुसार नेशनल भिसा सेन्टरले सबै आप्रवासी भिसा अन्तर्वार्ताहरू आवेदकको बसोबासको देशमा रहेको कन्सुलर पोस्टमा तोक्नेछ। आवेदकहरूले आफ्नो राष्ट्रियताको देशमा अन्तर्वार्ता दिन अनुरोध पनि गर्न सक्छन्।






