अमेरिकी राजदूत कुशनरसँग फ्रान्सले स्पष्टीकरण लिने
प्रकाशित मिति : भाद्र ७, २०८२ आईतबार
फ्रान्सले अमेरिकाका राजदूत चार्ल्स कुशनरलाई पेरिसस्थित विदेश मन्त्रालयमा बोलाएर स्पष्टीकरण लिने घोषणा गरेको छ। कुशनरले फ्रान्सले यहूदी विरोधी गतिविधिमा गम्भीर कदम नचालेको भनी सार्वजनिक रूपमा आरोप लगाएपछि जवाफ दिन बोलाइएको हो।
कुशनर स्वयं एक यहूदी हुन्। उनका छोराले डोनाल्ड ट्रम्पकी छोरी इभाङ्का ट्रम्पसँग विवाह गरेका छन्। उनले ‘वाल स्ट्रिट जर्नल’मा प्रकाशित एक लेखमार्फत फ्रान्सेली राष्ट्रपति इमानुएल माक्रोंलाई यहूदी विरोधी गतिविधि नियन्त्रण नगरेको भन्दै सोझै आरोप लगाएका थिए।
इजरायलले केही दिनअघि गरेको आलोचनालाई समर्थन गर्दै कुशनरले गाजा युद्ध सुरु भएयता फ्रान्समा यहूदीहरूविरुद्ध घृणाको विस्फोट भएको दाबी गरेका छन्।
“फ्रान्सले यी ताजा आरोपलाई दृढतापूर्वक अस्वीकार गर्छ,” फ्रान्सको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ। मन्त्रालयले थप स्पष्ट पार्दै कुशनरलाई सोमबार उपस्थित हुन भनिएको जनाएको छ।
पत्रमा राजदूतले माक्रोंलाई इजरायलमाथि गरिएको आलोचना कम गर्न आग्रह गरेका थिए।
उनले फ्रान्समा यहूदीहरूलाई सडकमा आक्रमण, सिनेगोग वा विद्यालयमा तोडफोड, यहूदी स्वामित्वका पसलमा आक्रमणलगायतका उदाहरण प्रस्तुत गर्दै भने, “फ्रान्समा यहूदीलाई आक्रमण नगरिएको दिन नै हुँदैन।”
कुशनरले फ्रान्सेली नेताहरूसँग सहकार्य गरेर यो समस्या समाधानका लागि “गम्भीर योजना” बनाउन तयार रहेको बताएका छन्।
फ्रान्सेली विदेश मन्त्रालयले सन् १९६१ को भियना सम्झौताअनुसार राजदूतहरूले कुनै देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नपाउने प्रावधान रहेको स्मरण गराएको छ।
कुशनरको पत्र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गत हप्ता माक्रोंलाई पठाएको पत्रसँग मिल्दोजुल्दो छ। नेतान्याहुले माक्रोंमाथि प्यालेस्टाइनलाई मान्यता दिने अभिव्यक्तिले यहूदी विरोधी भावनालाई प्रोत्साहित गरेको आरोप लगाएका थिए।
फ्रान्सले आगामी सेप्टेम्बरमा आधिकारिक रूपमा प्यालेस्टाइनलाई मान्यता दिने योजना बनाएको छ। माक्रोंले यसअघि पनि यहूदी विरोधी भावनालाई फ्रान्सेली मूल्यविपरीत भन्दै आलोचना गरेका थिए।








