अमेरिकामा ९० सेकेन्डमै लाखौँ डलरका गरगहना चोरी,सम्लग्नलाई खोज्दै प्रहरी
प्रकाशित मिति : श्रावण ३१, २०८२ शनिबार
अमेरिकाको सिएटलमा दिनदहाडै एउटा गहना पसलमा लुटपाट भएको छ। यस घटनामा लाखौँ डलर बराबरको गहना चोरी भएको प्रहरीले जनाएको छ।
सिएटल प्रहरीका अनुसार, अगस्ट १४ मा वेस्ट सिएटलस्थित एक पारिवारिक गहना पसलबाट चार जना नकाबधारीले ९० सेकेन्डमै लाखौँ डलर बराबरको गहना लुटेर फरार भएका थिए। उनीहरूले पसलको अगाडिको ढोका हथौडाले फोडेर भित्र पसेका थिए।
प्रहरीका अनुसार, उनीहरूले ६ वटा गहना डिस्प्ले काउन्टर तोडेर गहना चोरी गरेका थिए। लुटेराहरूले टेजर र बियर स्प्रे बोकेका थिए ।
त्यसको प्रयोग गरी पसलका कर्मचारीहरूलाई तर्साएर लुटपाट गरेका थिए। यस घटनामा भने कुनै पनि कर्मचारीलाई चोटपटक लागेको छैन।
पसल नजिकैको जिमका कर्मचारी ब्रेट गिब्सनका अनुसार, ‘भित्रबाट काँच फुटेको र ठूलो आवाज आएको थियो। मानिसहरूले प्रहरीलाई फोन गरिरहेका बेला उनीहरू लुटपाटमा व्यस्त थिए।’
प्रहरीले दिएको जानकारीअनुसार, चोरी भएको गहनामध्ये एउटा काउन्टरमा मात्र ७ लाखदेखि ८ लाख डलरसम्मका रोलेक्स घडीहरू थिए।
अर्को काउन्टरमा १ लाख २५ हजार डलरको पन्नाको हार र एउटा प्लेटिनमको हीरा थियो। साथै, दुई अन्य काउन्टरबाट ठूलो मात्रामा सुनका गहना चोरी भएका थिए।
लुटपाटपछि अपराधीहरू गाडीमा भागेका थिए। प्रहरीले उनीहरूको खोजी गरे पनि फेला पार्न सकेको छैन। घटनामा संलग्नहरूको खोजी भइरहेको त्यहाँको प्रहरीले बताएको छ। प्रहरीले चोरीको पछिल्लो घटनाका बारेमा कसैसँग कुनै सूचना भए उपलब्ध गराउन आग्रह गरेको छ।








