कामदार भिसा लोटरी अन्त्य गरेर तलबको आधारमा छनौट गर्ने प्रस्तावित नियम ह्वाइट हाउसबाट पारित
प्रकाशित मिति : श्रावण २९, २०८२ बिहीबार
ट्रम्प प्रशासनले वार्षिक ८५ हजार कामदार भिसा एचवान बी भिसाको लोटरी प्रणाली अन्त्य गर्ने वा उल्लेखनीय परिवर्तन गर्ने प्रस्तावित नियम ह्वाइट हाउसबाट स्वीकृत भएको छ ।
ह्वाइट हाउसको सूचना तथा नियामक मामिला कार्यालयले प्रस्तावित परिवर्तन स्वीकार गरिसकेकाले अब यो प्रस्तावित नियम फेडरल रजिष्ट्ररमा प्रकाशनको नजिक पुगेको छ । अबको अर्को चरण भनेको फेडरल रजिष्ट्ररमा यसको प्रकाशन हुनेछ भने कमेन्ट अवधि तोकिनेछ । प्राप्त प्रतिक्रियाका आधारमा त्यसपछिमात्र अन्तिम नियम प्रकाशित हुनेछ । त्यसैले अन्तिम नियम आउन केही महिनासम्म लाग्नसक्नेछ ।
प्रस्तावित नियममा के छ भन्नेबारे अझै प्रष्ट छैन । यद्यपी नयाँ नियमले लोटरी प्रणाली सही भए नभएकोबारे समीक्षा गर्नसक्ने जनाइएको छ । कामदार भिसा एच वान बीबाट ठूलो संख्यामा नेपालीहरु समेत लाभान्वित हुँदै आइरहेकाले यो नियमले कामदार भिसा एच वान बीका लागि आवेदन दिन चाहने नेपालीहरु र खासगरी अमेरिकामा रहेका नेपाली विद्यार्थीहरुलाई बढी प्रभाव पार्नसक्छ ।
डोनाल्ड ट्रम्पको पहिलो कार्यकालको अन्त्यतिर ट्रम्प प्रशासनले लोटरीमार्फत कामदार भिसाका लागि छनोट प्रक्रिया अन्त्य गर्ने प्रस्ताव गरेको थियो । लोटरीको साटो उच्चतमदेखि न्यूनतम तलबको आधारमा कामदार भिसा एच वान बी प्रदान गर्ने ट्रम्प प्रशासनको योजना थियो । अहिलेको प्रस्तावित नियममा पनि लोटरीलाई अन्त्य गरेर उच्चतमदेखि तलबको आधारमा कामदारहरु छनौट गर्ने प्रणाली लागु गर्ने विषय हुनसक्न्े बताइएको छ ।
अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार बाइडेनकालमा झण्डै ३५ सय नेपालीले एच श्रेणीको भिसा पाएका थिए । अघिल्लो ट्रम्प प्रशासनको अवधिमा झण्डै २३ सय जना नेपालीहरुले अमेरिकाको एच श्रेणीको भिसा पाएका थिए । अर्थात् ट्रम्पको पहिलो कार्यकालको तुलनामा बाइडेन प्रशासनको बेलामा एच श्रेणीको भिसा पाउने नेपालीहरुको संख्यामा ५० प्रतिशत बृद्धि भएको थियो ।
आर्थिक बर्ष २०२४ मा ७८१ जना नेपाली एच वान बी भिसा पाएका थिए । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांक अनुशार ७८१ जनाले एचवानबी भिसा पाएका थिए भने उनीहरुका २८८ जना आश्रितहरुले एचफोर भिसा पाएका थिए । यसरी आर्थिक बर्ष २०२४ मा कुल १०६९ जना नेपालीहरुले एच श्रेणीको भिसा पाएका थिए ।
आर्थिक बर्ष २०२३ मा ११३५ जना नेपालीहरुले अमेरिकाको कामदार भिसा एच प्राप्त गरेका थिए । यो संख्या २०२२ मा भने ९०५ थियो । आर्थिक बर्ष २०२१ मा भने जम्मा ३२७ जनालाई एचश्रेणीको भिसा प्रदान गरिएको थियो । जसमा कामदार भिसावाहक र उनीहरुका डिपेन्डेन्ट समेत गणना गरिएको छ ।
२०२० मा ५१७ जना नेपालीलाई एच श्रेणीको भिसा प्रदान गरिएको थियो भने आर्थिक बर्ष २०१९ मा ६४१ जना नेपालीहरुले यो श्रेणीको भिसा पाए । सन् २०१८ मा ५७४ जना नेपालीले अमेरिकाको कामदार भिसा एच प्राप्त गरेका थिए । त्यस्तै २०१७ मा ५९७ जना नेपालीहरुले एच श्रेणीका भिसा पाएका थिए ।
यो भिसाको अवधि ३ बर्ष हुन्छ र ६ बर्षसम्म थप्न सकिने प्रावधान रहेको छ । त्यसपछि भिसावाहकले यहीभिसामा रहनका लागि पुन आवेदन दिनुपर्ने हुनसक्छ । यो भिसा सन् १९९० को अध्यागमन ऐन अन्तरगत श्रृजना गरिएको हो । यद्यपी अमेरिकामा सन् १९५२ को अध्यागमन तथा राष्ट्रियता ऐनले नै एच वान भिसाको श्रृजना गरेको थियो । तर पनि सन् १९९० पछि नर्सहरुका लागि एचवान ए र अन्यका लागि एचवान बी छुट्याइएको थियो ।






