डिभी २०२६ का विजेतालाई अक्टोबरदेखि भिसा, ६ हजारसम्म केस नम्बर हुने नेपाली पहिलो महिना योग्य
प्रकाशित मिति : श्रावण २८, २०८२ बुधबार
डिभी २०२६ का विजेताहरुले अक्टोबरदेखि भिसा पाउन सुरु गर्नेछन् । पहिलो महिना ६ हजार सम्म केस नम्बर हुने २०२६ का डिभी विजेता नेपालीहरु अक्टोबरमा भिसा पाउन योग्य हुने भएका हुन् । अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको भिसा बुलेटिन अनुशार डिभी २०२६ को पहिलो महिना नेपालीहरुलाई ६ हजार केस नम्बरको सिमाबन्दी लगाइएको छ ।
विगतका बर्षहरुका तुलनामा यो केस नम्बरको सिमाबन्दी नेपालीका सन्दर्भमा केही खुकुलो हो । गतबर्षको अक्टोबरमा २९५० र २०२३ को अक्टोबरमा १३ सय सम्म केस नम्बर हुने नेपालीहरुले भिसा पाउनसक्नेगरी सिमाबन्दी लगाइएको थियो भने २०२२ को अक्टोबरमा यो सिमाबन्दी १४५० रहेको थियो । २०२१ को अक्टोबरमा यो सिमाबन्दी ९ सय रहेको थियो भने २०२० को अक्टोबरमा यो सिमाबन्दी १०५० थियो ।
त्यस्तै आगामी सेप्टेम्बर ३० मा समाप्त हुने चालु आर्थिक बर्ष २०२५ का नेपाली डिभी विजेताहरुका लागि सेप्टेम्बरमा समेत सिमाबन्दी तोकिएको छ । सेप्टेम्बरका लागि नेपाली डिभी विजेताहरुका लागि १४ हजार ४ सय ५० केस नम्बर तोकिएकाले अब १४ हजार ४ सय ५० भन्दा माथि केस नम्बर हुने डिभी विजेताको यसबर्षको डिभीमार्फत अमेरिकी सपना समाप्त भएको छ ।
१४ हजार ४ सय ५० भन्दा बढी केस नम्बर हुने नेपाली डिभी विजेताले भिसा नपाउने भएका हुन् । सेप्टेम्बर ३० पछि यसबर्षको डिभी समाप्त हुने र अक्टोबर १ देखि आर्थिक बर्ष २०२६ को डिभी सुरु हुने भएकाले सोमबार प्रकाशित भिसा बुलेटिनसँगै १४ हजार ४ सय ५० भन्दा माथि केस नम्बर हुनेहरु निराश भएका छन् । २०२४ भन्दा अगाडिका बर्षहरुमा सामान्यतया अगस्त र सेप्टेम्बर महिनाका लागि सबै डिभी विजेता नेपालीहरुको केस नम्बर करेन्ट हुने वा केस नम्बरको सिमाबन्दी कममात्र रहने गरेको थियो भने गतबर्ष १३ हजारसम्म केसको सिमाबन्दी थियो ।
अमेरिकी सरकारको विदेश मन्त्रालयले प्रकाशित गरेको अगस्तको भिसा बुलेटिन अनुशार अगस्तमा १० हजार ६ सय ५० सम्म केस नम्बर हुने डिभी विजेता नेपालीहरुले भिसा पाउन सक्नेछन् । सन् २०२२ मा अगस्तदेखि नै केसनम्बरमा लगाइएको सिमाबन्दी हटाइएको थियो भने २०२३ को अगस्तमा २० हजार ५ सयसम्म केस नम्बर हुने नेपालीहरुलाई भिसा प्रदान गरिएको थियो । २०२४ को अगस्तमा केसको सिमाबन्दी १२ हजार थियो ।
गतबर्षको अक्टोबर १ देखि सुरु भएको आर्थिक बर्षका लागि ३८६१ जना नेपाली डिभी लोटरीमा छनौट भएका छन् । डिभी लोटरीमा छनौट हुनेमा नेपालीहरु एसियामा तेश्रो नम्बरमा छन् । पहिलो नम्बरमा इरानका ५२६७ जनाले डिभी पारेका छन् भने दोश्रो नम्बरमा अफगानिस्तानका ४ हजार ९ जनाले डिभी पारेका छन् । युरोपमा सबैभन्दा धेरै उज्वेकिस्तानका ५५६४, दोश्रोमा टर्कीका ४१९४ र तेश्रोमा युक्रेनका ४००२ जनाले डिभी पारेका छन् । दक्षिण अमेरिकामा क्युबाका २३४८ जनाले डिभी पारेका छन् । अफ्रिकामा अल्जेरियाका ५५२६, इजिप्टका ५५१५, सुडानका ५५०५ र केन्याका ४४५९ जनाले डिभी पारेका छन् ।
५५ हजारले भिसा पाउने भएतापनि कुल १ लाख ३१ हजार ६० जनाले विश्वभरबाट डिभी पारेका छन् । विश्वभरबाट १ करोड ९९ लाख २७ हजार ६ सय ५६ जनाले डिभीका लागि आवेदन दिएका थिए । आर्थिक बर्ष २०२५ को डिभीका लागि छनौट भएकाहरुले २०२५ को सेप्टेम्बरभित्र भिसा प्राप्त गरिसक्नुपर्छ । विद्यमान कानून अनुशार उक्त अवधिभित्र भिसा नपाउनेहरु स्वत अयोग्य हुनेछन् ।
डिभी २०२५ का आवेदकहरुलाई कम्तीमा सन् २०२५ को सेप्टेम्बर ३० सम्म कन्फर्मेशन नम्बर साथमा राख्न सुझाव दिइएको छ । डिभी परे नपरेको चेक गर्ने एकमात्र आधिकारिक माध्यम भनेको अमेरिकी विदेश मन्त्रालयको यो वेवसाइट नै हो । कतिपय ठगहरुले डिभी परेको भन्दै इमेल पठाउने र ठग्ने गतिविधिसमेत तीब्र भएकाले त्यसबारे सचेत हुन सावधान गराइएको छ ।
अमेरिकी संससदको कार्यादेश प्राप्त डाइभर्सिटी आप्रवासी भिसा कार्यक्रम अमेरिकी विदेश मन्त्रालयले वार्षिक रूपमा सञ्चालन गर्दछ । आप्रवासन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २०३ सीले ऐतिहासिक रूपमा कम दरमा अमेरिका आप्रवासन गर्ने देशका व्यक्तिहरूलाई डाइभर्सिटी आप्रवासीका रूपमा एक वर्गको हैसियत प्रदान गर्ने व्यवस्था गरेको छ ।
चिठ्ठा पर्ने आवेदकहरूले डिभी कार्यक्रमका लागि योग्य हुनका निम्ति सरल तर कडा योग्यताका मापदण्डहरू पूरा गर्नुपर्छ । भिसाहरू छ भौगोलिक क्षेत्रमा वितरण गरिन्छ र हरेक क्षेत्रमा कुनै पनि एक देशले कुनै पनि एक वर्षमा उपलब्ध हुने डिभीको सात प्रतिशत सङ्ख्याभन्दा बढी भिसा प्राप्त गर्ने छैन ।






