परिवारमा आधारित ग्रिनकार्डको कुनै पनि श्रेणीमा भिसा अन्तरवार्ताको मितिमा भएन टसमस
प्रकाशित मिति : श्रावण २८, २०८२ बुधबार
परिवारमा आधारित ग्रिनकार्डको कुनै पनि श्रेणीमा भिसा अन्तरवार्ताको मितिमा टसमस भएको छैन । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको भिसा बुलेटिन अनुशार अगस्तको तुलनामा सेप्टेम्बरमा कुनै पनि परिवारमा आधारित आप्रवासी भिसा श्रेणीमा अन्तरवार्ता पाउने मितिमा टसमस नभएको हो । जसका कारण अमेरिकाबाहिर अन्तरवार्ताको प्रतीक्षामा रहेका आवेदकहरूको प्रतिक्षा अवधिमा थप बृद्धि हुने भएको छ ।
२१ वर्ष वा सोभन्दा माथिका अमेरिकी नागरिकका अविवाहित छोराछोरीको हकमा सेप्टेम्बरका लागि पनि प्राथमिकता मिति १५ जुलाई २०१६ कायम छ । १५ जुलाई २०१६ भन्दा अगाडि आई १३० पिटिसन दर्ता गरेका व्यक्तिहरूले मात्र सेप्टेम्बरमा भिसा अन्तरवार्ता वा आप्रवासी भिसा पाउन सक्नेछन् ।
त्यस्तै, ग्रिन कार्ड वाहकका जीवनसाथी र २१ वर्षमुनिका अविवाहित छोराछोरीको हकमा आप्रवासी भिसा अन्तरवार्ता पाउने मितिमा टसमस भएको छैन । सेप्टेम्बर महिनाका लागि पनि प्राथमिकता मिति १ सेप्टेम्बर २०२२ कायम हुनेछ । १ सेप्टेम्बर २०२२ भन्दा पहिला आई १३० पिटिसन दर्ता गरेकाहरुले सेप्टेम्बरमा भिसा अन्तरवार्ता पाउनेछन्।
त्यस्तै, ग्रिन कार्ड वाहकका २१ वर्ष वा सोभन्दा माथिका अविवाहित छोराछोरीका लागि सेप्टेम्बरको प्राथमिकता मिति १५ अक्टोबर २०१६ नै कायम गरिएको छ, अगस्त महिनामा पनि सोही मिति नै कायम थियो । १५ अक्टोबर २०१६ भन्दा अगाडि आई १३० पिटिसन दर्ता गरेका व्यक्तिहरूले सेप्टेम्बरमा भिसा प्रक्रिया अगाडि बढाउन सक्नेछन्।
अमेरिकी नागरिकका विवाहित छोराछोरीका सन्दर्भमा पनि प्राथमिकता मिति १ अगस्ट २०११ नै कायम गरिएको छ, अगस्तको तुलनामा यो श्रेणीमा पनि कुनै टसमस भएको छैन । त्यसैले १ अगस्ट २०११ भन्दा अगाडि आई १३० पिटिसन दर्ता गरेका आवेदकहरूलाई सेप्टेम्बरमा भिसा अन्तरवार्ता मिल्नेछ।
त्यस्तै अमेरिकी नागरिकका दाजुभाइ तथा दिदीबहिनीहरूको हकमा पनि कुनै परिवर्तन भएको छैन। उनीहरूका लागि प्राथमिकता मिति १ जनवरी २००८ नै कायम गरिएको छ । तसर्थ, १ जनवरी २००८ भन्दा अगाडि आई १३० पिटिसन दर्ता भएकाहरूले मात्र सेप्टेम्बरमा भिसा अन्तरवार्ता पाउनेछन्।
यी प्राथमिकता मितिहरू चीन, भारत, मेक्सिको र फिलिपिन्सबाहेक अन्य देशहरूका लागि लागू हुनेछन्। यद्यपि, भिसा बुलेटिनअनुसार मिति योग्य भए पनि अमेरिकी दूतावासहरूमा उच्च ब्याकलगका कारण धेरै आवेदकहरूलाई अन्तरवार्ताको मिति पाउन कठिन भइरहेको छ।






