गाजामा मारिएका पत्रकारको अन्तिम सन्देश – ‘मैले मेरो वाचा पूरा गरेँ, कहिल्यै धोका दिइनँ’
प्रकाशित मिति : श्रावण २७, २०८२ मंगलबार
इजरायली हवाई आक्रमणमा सोमबार अल जजीराका पत्रकार अनस अल शरिफसहित ५ जना मारिए । अनस अल शरिफसँगै मोहम्मद क्रेकिह, इब्राहिम जाहेर, मोहम्मद नुफल र स्थानीय स्वतन्त्र संवाददाता मोहम्मद अल-खालदी मारिएका हुन् । ।
इजरायली सेनाले उनीहरूलाई हमाससँग सम्बन्धित मिलिसियाका सदस्य भएको आरोप लगायो । यद्यपि, अल जजीराले यी दाबीहरू अस्वीकार गरेको छ ।
२८ वर्षका अनस अल शरिफ पूर्वी गाजामा रहेको अल शिफा अस्पताल नजिकैको एउटा पालामा भएको हवाई आक्रमणमा मारिएका हुन् ।
अल शरिफ गाजाका अन्तिम आवाजहरूमध्ये एक थिए, जसले सञ्चारमाध्यममार्फत विश्वलाई गाजाको दयनीय स्थिति देखाउने काम गरिरहेका थिए । अल जजीराले यस घटनालाई गाजाको कब्जा गर्न पूर्व तयारीको रूपमा आवाजहरूलाई दबाउने प्रयास भएको प्रतिक्रिया दिएको छ ।
२८ वर्षीय अनस अल शरिफले मृत्यु हुनुभन्दा अगाडी आफ्नो अन्तिम सन्देश तयार गरेका थिए । उनको मृत्युपछि उक्त सन्देश अनसका साथीले एक्समा पोस्ट गरेका थिए । उक्त सन्देशले अहिले धेरैलाई भाव विह्वल बनाएको छ ।
उक्त सन्देशलाई नेपालीमा गरिएको अनुवाद :
मेरो इच्छा र अन्तिम सन्देश
यो मेरो इच्छा हो र मेरो अन्तिम सन्देश पनि। यदि यी शब्दहरू तपाईँसम्म पुग्छन् भने, बुझ्नुहोस् : इजरायलले मलाई मार्न सफल भएको छ र मेरो आवाजलाई दबाएको छ।
पहिला, तपाईंमाथि शान्ति छाओस्, अनि अल्लाहको दया र आशिर्वाद सधैं रहोस्। अल्लाहलाई थाहा छ, मैले मेरो सम्पूर्ण शक्ति र प्रयास मेरो जनताको समर्थन र आवाज बन्न खर्च गरेको छु । जबदेखि मैले जीवनका आँखा खोलें (जबालियाको गल्लीहरू र सडकहरूमा), मेरो आशा थियो कि अल्लाहले मेरो जीवन लम्ब्याउनेछन्, ताकि म मेरो परिवार र प्रियजनसहित हाम्रो कब्जामा परेको अस्कालन (अल-मज्दल) फर्कन सकूँ। तर, अल्लाहको इच्छा सर्वोपरि छ । उहाँको निर्णय अन्तिम हुन्छ।
मैले पीडाका हरेक रंग भोगें, दुःख र क्षतिहरूको स्वाद धेरै पटक चाखें । तर, कहिल्यै पनि सत्यलाई झुक्याउन वा विकृत गर्न म ढिलो भएनँ। मैले सत्य जस्तो छ, त्यस्तै सुनाएँ ताकि अल्लाह गवाही दिन सकून्, (तिनीहरूविरुद्ध जो मौन बसे ।)
जसले हाम्रो हत्या स्वीकारे, जसले हाम्रो सास रोके र जसको मनहरू हाम्रो बच्चा र महिलाहरूका टुक्रिएका शरीरहरूसँग पनि अनुत्तरदायी भए। तिनीहरूले एक वर्ष र आधाभन्दा बढी समयदेखि हाम्रो जनतामाथि भइरहेको नरसंहार रोक्न केही गरेनन्।
म तपाईंलाई प्यालेस्टाइन सुम्पन्छु, मुस्लिम संसारको मुकुट रत्न, यस संसारका स्वतन्त्र हरेक हृदयको धड्कन। म तपाईंलाई यहाँको जनतासँग सुम्पन्छु, ती अन्यायपीडित र निर्दोष बच्चाहरूलाई जसले कहिल्यै सपनाहरू देख्न पाएनन्, कहिल्यै सुरक्षाको अनुभूति गर्न पाएनन्। हजारौं टन इजरायली बम र मिसाइलले उनीहरूको शुद्ध शरीरहरू चपेटामा आए, टुक्रिए र भित्ताहरूमा छरिए।
म तपाईँहरूलाई आग्रह गर्छु – जन्जिरहरूले तपाईँको आवाज मौन नबनाओस्, न त सिमानाहरूले तपाईँलाई बाँधुन् । तपाईँ बन्नुहोस् पुल, त्यो पुल जसले हाम्रो भूमि र जनतालाई मुक्तिको बाटो देखाओस् ।
म तपाईंलाई मेरो परिवारको हेरचाह गर्न सुम्पन्छु। मेरो प्रियतमा छोरी, शम । मेरो आँखाको उज्यालो, जसलाई मैले कहिल्यै ठूलो हुँदै गएको देख्ने मौका पाएनँ ।
मेरो प्रिय छोरा सलाह, जसलाई मैले जीवनभर साथ दिन चाहन्थे । जब ऊ बलियो हुन्छ, मेरो भार बोक्ने र मिशन अगाडि बढाउने जिम्मा दिन चाहन्थे। मेरी आमा, जसका आशिर्वादहरूले मलाई यहाँसम्म ल्याए, जसका प्रार्थनाहरू मेरो किल्ला बने, जसको प्रकाशले मेरो बाटो देखायो, म उनको लागि अल्लाहसँग शक्ति र उत्तम पुरस्कारको कामना गर्छु।
म तपाईंलाई मेरो जीवनसाथी, मेरी प्यारी पत्नी उम सलाहलाई पनि सुम्पन्छु, जसबाट यो युद्धले मलाई धेरै दिन र महिना टाढा राख्यो। तर, उनी हाम्रो सम्बन्धमा अडिग रहिन् । ओलिभको रुख जस्तै, जसले कहिल्यै झुकेको छैन। धैर्यवान, अल्लाहमा विश्वास गर्ने र मेरो अनुपस्थितिमा सम्पूर्ण जिम्मेवारी बोकेकी ।
म तपाईंलाई अनुरोध गर्छु, उनीहरूको साथ दिनुहोस्, अल्लाह पछि उनीहरूको सहारा बन्नुहोस्।
म मरे पनि, म मेरो सिद्धान्तमा अडिग भएर मर्छु। म अल्लाहलाई गवाही दिन्छु, म उहाँको निर्णयसँग सन्तुष्ट छु, उहाँलाई भेट्नेमा निश्चित छु र विश्वस्त छु कि अल्लाहसँग हुने कुरा उत्तम र शाश्वत हुन्छ।
हे अल्लाह, मलाई शहीदहरूको श्रेणीमा राख, मेरा विगत र भविष्यका पापहरू क्षमा गर र मेरो रगतलाई मेरो जनता र परिवारको स्वतन्त्रताको बाटो उज्यालो पार्ने ज्योति बनाऊ। यदि मैले कसैलाई दुःख दिएको छु भने मलाई माफ गर । दया सहित मेरो लागि प्रार्थना गर, किनभने मैले मेरो वाचा कहिल्यै भंग गरिनँ, न धोका दिएँ।
गाजा नबिर्सनुहोस् र मलाई आफ्नो सच्चा क्षमायाचना र स्वीकृतिका प्रार्थनामा सम्झनुहोस्।








