‘लियो’को जीवन संघर्ष : मरणासन्न चितुवा शावकको अद्भुत उद्धार र पुनर्जन्म


प्रकाशित मिति : श्रावण २६, २०८२ सोमबार

तस्बिरमा देखिएको यो शावक (चितुवाको बच्चा) लाई कास्कीको पचभैया वन्यजन्तु उद्धार केन्द्र, वन विभागका कर्मचारी सबैले लाडप्यारले ‘लियो’ भनेर बोलाउँछन् । गत माघ २१ गते गोरखाको पालुङटार नगरपालिका–१० मिरकोटको सामुदायिक वनबाट लियोको मरणासन्न अवस्थामा उद्धार गरिएको थियो ।

करिब तीन हप्ताको लियो जङ्गलमा रोइरहेको अवस्थामा स्थानीयले फेला पारेका थिए । लियोकी आमा र अर्को शावक नजिकै मृत फेला परेका थिए । स्थानीयले भेट्दा लियो पिलपिल रोइरहेको थियो ।

डिभिजन वन कार्यालय गोरखालाई उनीहरुले लियो बुझाएका थिए । डिभिजन वन कार्यालयका प्रमुख मदन मोहन शाण्डिल्यले भने, “घटनास्थलमा लियोकी आमा र उसको लियोसँगैको अर्को बच्चा मरिसकेका थिए । लियो भने रोइरहेको, कराइरहेको अवस्थामा फेला परेको थियो ।”

नाजुक अवस्थामा फेला परेको लियोलाई स्थानीय बासिन्दा, वन कार्यालय र वन्यजन्तु विशेषज्ञहरूले छिटो उद्धार गरेको कारण बाँच्न सफल भएको उनले बताए । लियोकी आमा र उसको अर्को बच्चाको मृत शरीर बेलायतको केन्ट विश्वविद्यालयकी विद्यावारिधिका शोधार्थी तथा वन्यजन्तु पशु चिकित्सक डा जेसिका बोडजीनरले परीक्षण गरेकी थिइन् । बोडजीनरको परीक्षण प्रतिवेदनमा उनीहरुको मृत्यु भाले चितुवाको आक्रमणमा भएको अनुमान गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“भाले चितुवाले उनीहरुमाथि घातक आक्रमण गर्यो । आफ्ना बच्चाहरूको रक्षा गर्ने क्रममा आमा अनि एउटा बच्चा मारिए”, बोडजीनरले भनिन्, “बाघ वा चितुवाजस्ता ठूला बिरालो प्रजातिमा ‘इनफ्यान्टिसाइड’ भन्ने व्यवहार हुन्छ । जसमा भालेले आफ्नो नभएका बच्चाहरू मार्न खोज्छन्, जसले पोथीलाई पुनः प्रजनन अवस्थामा ल्याउन चाहन्छन् ।” लियो सँगैको अर्को शावकको आक्रमण र भोकका कारण मृत्यु भएको हुनसक्ने डा बोडजीनरको अनुमान छ ।

सुरुमा चिकित्सकहरु लियो बाँच्छ या मर्छ भन्नेमा निश्चिन्त थिएनन् । “हाम्रा कर्मचारीले लियोलाई भेट्दा, ऊ दुई दिनभन्दा बढी बाँच्ला भन्ने लागेकै थिएन”, डिभिजन वन कार्यालय प्रमुख शाण्डिल्य भन्छन्, “ऊ यति सानो र कमजोर थियो, अहिले ऊ स्वस्थ हुँदै गएको खबर सुन्दा हामी अत्यन्तै खुसी छौँ ।”

लियोलाई डिभिजन वन कार्यालय गोरखामा प्राथमिक उपचारपश्चात थप उपचार र संरक्षणका लागि कास्कीको पचभैया वन्यजन्तु उद्धार केन्द्रमा सारिएको थियो । त्यहाँका डाक्टर किशोर आचार्यको नेतृत्वमा उसलाई २४ सै घण्टा हेरचाह गरियो । उद्धार केन्द्रमा लियोलाई बोतलबाट दूध खुवाउनेदेखि दिसा–पिसाब गराउन सहयोग गरिएको डाक्टर आचार्यले बताए ।

“लियो बाँचेको तथ्य आफैँमा उद्धार केन्द्रको कर्मचारीको समर्पण र कडा मेहनतको प्रमाण हो”, उनले भने, “टुहुरा चितुवा बच्चाहरूलाई हातले हुर्काउनु अत्यन्तै चुनौतीपूर्ण हुन्छ र धेरैजसो त बाँच्नै सक्दैनन् । भारतमा भएका यस्तै प्रयासहरुका तथ्याङ्कले ५० प्रतिशतभन्दा बढी हातले हुर्काइएका चितुवा बच्चाहरू जिउँदै रहन नसक्ने देखाउँछ । तर लियोले यी सबै प्रतिकूलतालाई जितेको छ ।”

लियोले सुरुमा ढिलो प्रगति गरे पनि हाल छिटोछिटो तन्दुरुस्त हुँदै गएको छ । “अहिले लियोको तौल १२ किलोग्राम पुगेको छ । जुन उसको उमेरका लागि स्वस्थ तौल मानिन्छ”, उनले भने । हालसालै गरिएको स्वास्थ्य परीक्षण र एक्सरेले उसमा छातीमा कुनै किसिमको समस्या नभएको पुष्टि भएको डाक्टर आचार्य बताउँछन् ।

लियोको बढ्दो आकारलाई ध्यानमा राख्दै, वाइल्ड टाइगरका संरक्षणकर्मी ज्याक किनरोसले जेन गुडअल इन्स्टिच्युटसँगको सहकार्यमा नयाँ घेराबार प्रणाली निर्माणका लागि आर्थिक स्रोत जुटाएका छन् । यसले लियोलाई भविष्यमा पुनः प्राकृतिक आवासमा फर्काउन सकिन्छ कि भन्ने मूल्याङ्कन प्रक्रिया सुरु गर्न मद्दत पु(याउने बताइएको छ ।

स्थानीय समुदाय, वनका कर्मचारी र पशु चिकित्सक बीचको समन्वयले लियोको नयाँ जीवन सम्भव भएको कास्कीका डिभिजन वन अधिकृत कोमलराज काफ्लेले बताए । “लियोको सफल उद्धार र पुनःस्थापना आफैँमा सबै मिलेर संरक्षणको क्षेत्रमा काम गरे के प्राप्त गर्न सक्छौँ भन्ने उत्कृष्ट उदाहरण हो”, उनले भने ।

हालका लागि, लियोलाई पोखरा जुलोजिकल पार्कमा विशेष निगरानीमा राखिएको छ । उसको जीवनको यो अद्वितीय सङ्घर्ष र सफलताले नेपालभरिका संरक्षणकर्मीलाई आशा र प्रेरणा दिइरहेको उनीहरु बताउँछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com