अमेरिकामा बिरामी लिन उडेको मेडिकल ट्रान्सपोर्ट विमान दुर्घटना, ४ जनाको मृत्यु
प्रकाशित मिति : श्रावण २१, २०८२ बुधबार
प्रतिकात्मक तस्वीर
अमेरिकाको एरिजोनास्थित नवाजो नेशनमा रहेको चिन्ले म्युनिसिपल विमानस्थलमा मङ्गलबार एक मेडिकल ट्रान्सपोर्ट विमान दुर्घटनाग्रस्त हुँदा चार जनाको ज्यान गएको छ। मृतकमध्ये दुई जना पाइलट र दुई जना स्वास्थ्यकर्मी रहेका छन्।
बीचक्राफ्ट ३०० मोडेलको उक्त विमान एक बिरामीलाई लिनका लागि चिन्ले विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेबाट करिब ३०० यार्ड टाढा दुर्घटनाग्रस्त भएको थियो।
विमानमा बिरामी भने सवार थिएनन्। सीएसआई एभिएसन नामक निजी कम्पनीको स्वामित्वमा रहेको सो विमान पूर्वी एरिजोनामा हवाई एम्बुलेन्स सेवा पुर्याउने उद्देश्यले खटाइएको थियो।
नवाजो नेशन प्रहरी विभाग र संघीय अधिकारीहरूले दुर्घटनाको कारण पत्ता लगाउने अनुसन्धान सुरु गरिसकेका छन्। अमेरिकी संघीय हवाई प्रशासन र राष्ट्रिय यातायात सुरक्षा बोर्डले संयुक्त रुपमा दुर्घटनाबारे छानबिन गर्ने जनाएका छन्।
सीएसआई एभिएसन कम्पनीले अनुसन्धानमा पूर्ण सहयोग गरिरहेको जनाएको छ । साथै, मृतकको परिवारलाई आवश्यक सहयोग तथा राहत सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।








