न्यूयोर्कमा नियमित भिसा सुनुवाइ सकेर निस्किँदै गर्दा पक्राउ परेकी २० वर्षीया गो रिहा
प्रकाशित मिति : श्रावण २०, २०८२ मंगलबार
एक सामान्य भिसा सुनुवाइपछि अप्रत्याशित रूपमा अमेरिकी इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)द्वारा नियन्त्रणमा लिइएकी २० वर्षीया येन्सु गो सोमबार राति रिहा भएकी छिन्। उनको रिहाइ पाँच दिनपछि भएको हो, जब संघीय एजेन्टहरूले उनलाई म्यानह्याटनको सुनुवाइ सकिएलगत्तै पक्राउ गरेका थिए।
गो, पर्ड्यु विश्वविद्यालयमा इन्जिनियरिङ अध्ययन गरिरहेकी विद्यार्थी हुन् । उनले स्कार्सडेल हाई स्कूलबाट स्नातक गरेकी थिइन्। उनकी आमा स्कार्सडेल, न्यूयोर्कस्थित एक एपिस्कोपल चर्चमा पादरीका रूपमा कार्यरत छिन्।
उनले प्रयोग गर्दै आएको धार्मिक भिसा डिसेम्बर महिनासम्म वैध रहेको उनको वकिलको भनाइ छ। तर पनि उनलाई लुइजियानास्थित संघीय आप्रवासन थुनामा राखिएको थियो। आइसले उनलाई नियन्त्रणमा लिनुको कारण स्पष्ट रूपमा बताएको छैन।
उनको गिरफ्तारीले स्कार्सडेल समुदायमा आक्रोश र चिन्ता फैलाएको थियो । न्यूयोर्कका एपिस्कोपल बिशप लगायत स्थानीय नेताहरूले उनको रिहाइको माग गर्दै विरोध जनाएका थिए।
स्कार्सडेल निवासी जिन रोसेन्थलले भनिन्, “यो कठोर प्रणाली अन्त्य गर्न हामीले अझै बलियो आवाज उठाउन जरुरी छ। यो हाम्रो समुदायमै आइपुगेको छ।”
आइतबार, अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले गोको भिसा दुई वर्षअघि नै सकिएको दाबी गर्दै उनलाई ‘कागजातविहीन आप्रवासी’को रूपमा प्रस्तुत गर्यो । साथै, ‘छिटो निष्कासन प्रक्रिया’अन्तर्गत पक्राउ गरिएको जनायो।
तर, गोका वकिलले यो दाबी असत्य भएको र भिसा डिसेम्बरसम्म वैध रहेको बताएका छन् । “हामी भगवानप्रति र सबै सहयोगीप्रति आभारी छौं, जसको अथक प्रयासले गोलाई घर फर्काइयो। अब उनी यो शरद ऋतुमा कलेज फर्कन सक्छिन्,” सहयोगी एश्ली गन्जालेज-ग्रिसमले भनिन्।
गोको कानुनी टोलीले यो मुद्दा अझै चलिरहेको र संघीय अधिकारीहरूसँग सहकार्य भइरहेको जनाएको छ।








