ट्रम्पको ट्यारिफ घोषणापछि भारतको प्रतिक्रिया – ‘अन्यायपूर्ण र अनुचित’
प्रकाशित मिति : श्रावण २०, २०८२ मंगलबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप भन्सार शुल्क (ट्यारिफ) लगाउने घोषणा गरेपछि भारतको विदेश मन्त्रालयले उक्त निर्णयलाई “अन्यायपूर्ण र अनुचित” भन्दै कडा प्रतिक्रिया जनाएको छ।
सोमबार राति जारी एक विज्ञप्तिमा मन्त्रालयले राष्ट्रहित र आर्थिक सुरक्षालाई जोगाउन आवश्यक सबै कदम चालिने चेतावनी दिएको छ। भारतले भन्यो, “राष्ट्रिय हितका विरुद्धमा आएको यस्तो निर्णय अस्वीकार्य छ।”
ट्रम्पले सामाजिक सञ्जालमार्फत भारतमाथि २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेपछि विवाद सुरु भएको हो। ट्रम्पले रुसी तेलको आयात रोक्न भारतमाथि दबाब दिने प्रयास गरिरहेका बेला यस्तो कदम उठाइएको बताइएको छ।
तर, भारतले भने युक्रेन युद्धपछि युरोपतर्फ मोडिएको पारम्परिक आपूर्ति व्यवस्थाको विकल्पका रूपमा रूसबाट तेल आयात बढाइएको बताएको छ। मन्त्रालयले स्पष्ट पारेको छ, “त्यसबेला अमेरिकाले नै भारतलाई यस्तो आयात गर्न प्रोत्साहित गरेको थियो, ताकि विश्व उर्जा बजारमा स्थिरता कायम रहोस्।”
भारतीय अधिकारीहरू भन्छन्— “अमेरिकाले आफैं रूससँग व्यापार गरिरहेको छ भने भारतलाई मात्र निशाना बनाउनु अन्याय हो। भारतले औंल्याएको छ कि युरोपेली संघले २०२४ मा रसियासँग करिब ९७ अर्ब डलर बराबरको वस्तु तथा सेवा व्यापार गरेको छ, जसमा द्रवित प्राकृतिक ग्यासको ठूलो हिस्सा छ। अमेरिका पनि आफ्नो आणविक र अटो उद्योगका लागि रसियाबाट रसायनिक पदार्थ आयात गरिरहेको भारतले दाबी गरेको छ।”
प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति ट्रम्पबीचको चर्चित मित्रवत सम्बन्ध पछिल्लो समय चिसिएको संकेत देखिएको छ। विश्लेषकहरूका अनुसार ट्रम्पको पछिल्लो कदम या त युक्रेन मुद्दामा भारतको भूमिकाबाट असन्तुष्टि हो, या भारतसँग व्यापार सम्झौता वार्तामा दबाब दिने रणनीति हो ।
ट्रम्पले भारत–पाकिस्तानबीचको सैन्य तनाव आफूले अन्त्य गराएको दाबी गर्दै आएका छन्। तर, भारतले ट्रम्पको दाबीलाई खारेज गर्दै यस्तो बयान भारतीय नेताको सशक्त छविमा असर गर्ने उद्देश्यले आएको आरोप लगाएको छ।








