ब्राजिलका पूर्व राष्ट्रपतिलाई घरमै नजरबन्द गर्न सर्वोच्चको आदेश,अमेरिकाद्वारा आदेशको निन्दा
प्रकाशित मिति : श्रावण १९, २०८२ सोमबार
ब्राजिलको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति जाइर बोल्सोनारोलाई घरमै नजरबन्द गर्न आदेश दिएको छ । सर्वोच्च अदालतले देशका पूर्व दक्षिणपन्थी राष्ट्रपति बोल्सोनारोलाई घरमै नजरबन्द गर्न आदेश दिएको हो ।
उनीमाथि कू आयोजना गरेको आरोपमा मुद्दा चलिरहेको छ । यो आरोपलाई उनले अस्वीकार गरेका छन्। बोल्सोनारोको अनुसन्धान गरिरहेका न्यायाधीश अलेक्जेन्ड्रे डे मोराइसले यो निर्णय गत महिनामा लगाइएको प्रतिबन्धात्मक आदेशको उल्लंघन गरिएको भन्दै दिएका हुन् ।
बोल्सोनारोको कानुनी टोलीले कुनै पनि प्रतिबन्धात्मक आदेश उल्लंघन नगरेको दाबी गर्दै अदालतको आदेशविरुद्ध अपील गर्ने बताएका छन्।
एक्स मा अमेरिकी विदेश मन्त्रालयले अदालतको आदेशको निन्दा गर्दै प्रतिबन्धित गतिविधिमा सहयोग गर्ने सबैलाई जवाफदेही बनाइने चेतावनी दिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बोल्सोनारोमाथिको मुद्दालाई ‘डायनसिकार’ को संज्ञा दिँदै यसलाई कारण देखाएर केही ब्राजिली सामानमा ५० प्रतिशत सम्मको ट्यारिफ (कर) लगाउने घोषणा गरेका छन् । यद्यपि अमेरिकाले ब्राजिलसँग व्यापारमा लाभ उठाइरहेको अवस्था छ।
न्यायाधीश मोराइसले बोल्सोनारोले आफ्ना छोराहरू लगायतका समर्थकहरूको सामाजिक सञ्जाल प्रयोग गरेर सर्वोच्च अदालतमाथि आक्रमण र ब्राजिलियन न्यायपालिकामा विदेशी हस्तक्षेपलाई प्रोत्साहन दिने सन्देशहरू फैलाएका बताएका छन ।
बोल्सोनारो समर्थकहरूले ब्राजिलका विभिन्न शहरहरूमा र्याली निकालेका छन।
न्यायाधीश मोराइसले बोल्सोनारोलाई अब कानुनी प्रतिनिधि वा सर्वोच्च अदालतले स्वीकृत व्यक्तिबाहेक कसैसँग भेट्न नपाउने पनि आदेश दिएका छन् । उनलाई मोवाइल फोन प्रयोग गर्न पनि प्रतिबन्ध लगाइएको छ ।
बोल्सोनारो र ट्रम्पबीच राष्ट्रपतित्वकालमा मैत्रीपूर्ण सम्बन्ध थियो । उनीहरू सन् २०१९ मा ह्वाइट हाउसमा भेटेका थिए।
गत महिना, ट्रम्पले सामाजिक सञ्जालमार्फत बोल्सोनारोलाई समर्थन जनाउँदै आफ्नो देशलाई साँचिकै माया गर्ने बलियो नेता भनेर प्रशंसा गरेका थिए।








