जालसाजी गरेर एसाइलम लिनेको ग्रिन कार्ड आवेदनमा कडाइ, ६ आधारमा अन्तरवार्ता अनिवार्य


प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार

युएससीआईएसले एसाइलम स्वीकृत भएकाहरू र उनीहरूका आश्रित परिवारका सदस्यहरूको ग्रिन कार्ड आवेदनसम्बन्धी नीतिमा महत्त्वपूर्ण परिवर्तन गरेको छ। यो नयाँ नीतिले एसाइलम स्वीकृत भइसकेकाहरूको ग्रिन कार्ड आवेदनका लागि अन्तरवार्ता अनिवार्य हुने स्पष्ट मापदण्ड तोकेको छ, जसले छानबिन प्रक्रियालाई थप कडा र सुरक्षित बनाउने लक्ष्य राखेको छ। यो नीति तत्काल लागू भएको छ र २०२५ अगस्ट १ वा त्यसपछि पेस भएका तथा विचाराधीन रहेका सबै आवेदनहरूमा लागू हुनेछ।

युएससीआईएसका प्रवक्ता म्याथ्यू ट्रेगेसरका अनुसार यो नीतिको मुख्य उद्देश्य जालसाजी, गलत प्रस्तुति, राष्ट्रिय सुरक्षा जोखिम र सार्वजनिक सुरक्षा खतरा पत्ता लगाउनु हो। उनले भने, “हामी प्रत्येक अमेरिकीलाई सुरक्षित महसुस गराउन चाहन्छौं, र अमेरिकामा प्रवेश गर्न वा यहाँ बस्न चाहने सबै आवेदकहरूले उच्च नैतिक मापदण्डको पालना गरेको सुनिश्चित गर्न चाहन्छौं।” उनले यस परिवर्तनले एसाइलम र शरणार्थी प्रक्रियामा कडाइ र सुरक्षा बढाउने बताए।

नयाँ निर्देशिकाअनुसार, एसाइलम स्वीकृत भएका आवेदकको अन्तरवार्ता अनिवार्य हुने ६ मापदण्ड तोकिएका छन्। पहिलो, यदि आवेदकको पहिचान कागजातबाट प्रमाणित गर्न सकिएन भने अन्तरवार्ता अनिवार्य हुनेछ। त्यस्तै, आवेदकले नयाँ वा फरक पहिचान दाबी गरेमा पनि अन्तरवार्ता लिनुपर्नेछ।

तेस्रो मापदण्डमा, यदि आवेदकको आप्रवासन रेकर्ड अपूरो छ भने अन्तरवार्ता आवश्यक हुनेछ। चौथो, यदि आवेदकले जालसाजी गरेर एसाइलमको स्थिति प्राप्त गरेको प्रमाण भेटियो भने पनि अन्तरवार्ता अनिवार्य हुनेछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पाँचौँ मापदण्ड अनुसार, यदि फिंगरप्रिन्ट जाँचमा समस्या आयो वा दुई पटकसम्म असफल भयो भने आवेदकलाई अन्तरवार्तामा बोलाइनेछ। अन्तिम अर्थात् छैटौँ मापदण्डमा भने, आतंकवाद वा राष्ट्रिय सुरक्षासम्बन्धी कुनै चिन्ता देखिएमा, वा प्रस्तुत प्रमाण स्पष्ट नभएमा अन्तरवार्ता अनिवार्य हुनेछ।

यस्ता परिस्थितिमा अन्तरवार्ता लिईनु अनिवार्य हुनेछ, र अधिकारीहरूले अन्तरवार्ताविना आवेदकको योग्यताबारे निर्णय गर्न सक्ने छैनन्। नयाँ नीतिले एसाइलम र शरणार्थी प्रक्रियामा पारदर्शिता र सुरक्षा दुवैलाई सुदृढ बनाउने युएससीआईएसको लक्ष्य रहेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com