अमेरिकाले दिएको समयसीमा सकियो, क्यानडासँगको व्यापार सम्झौता अन्यौलमा
प्रकाशित मिति : श्रावण १७, २०८२ शनिबार
क्यानडा र अमेरिका बीचको नयाँ व्यापार सम्झौता तय गर्ने समयसीमा सकिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको समयसीमा शुक्रबार सकिए पनि कुनै सहमति जुट्न सकेको छैन ।
पछिल्लो छ महिनादेखि यी दुई छिमेकी मुलुकबीच शुल्क युद्ध चलिरहेको छ । उनीहरुबीचमा ‘सघन रुपमा वार्ता’ भईरहेको भनिए पनि ठोस नतिजा भने अझै आएको छैन।
अमेरिकी राष्ट्रपति ट्रम्प र क्यानडाका प्रधानमन्त्री मार्क कार्नी दुवैले छिटो र शुल्कमुक्त सम्झौता हुने सम्भावनालाई अस्वीकार गरेका छन् ।
यसै हप्ता क्यानडाले प्यालेस्टाइनलाई मान्यता दिने निर्णय गरेपछि ट्रम्पले खुला आलोचना गरेका थिए । जसले अन्तिम क्षणमा सम्झौता हुने आशालाई थप कमजोर बनाएको देखिएको छ ।
यद्यपि व्यापारिक अनिश्चितताबाट प्रभावित व्यवसायहरूलाई राहत दिन दुबै देशमा दबाव बढ्दो छ । क्यानडाका विपक्षी नेता पिएर पोइलिभ्रेले सम्झौता नहुँदा निराशा व्यक्त गरेका छन । उनले कार्नीको सरकारलाई आर्थिक स्वतन्त्रता फिर्ता ल्याउन दबाव दिन आग्रह गरेका बताइएको छ ।
हाल क्यानडाले अमेरिकी बजारमा ३५ प्रतिशत शुल्क व्यहोर्नुपरेको छ । यद्यपि हालको स्वतन्त्र व्यापार सम्झौता अन्तर्गतका सामानमा भने छुट रहेको छ।
अमेरिकाले स्टिल, एल्युमिनियम, गाडी र गाडीका पार्ट्समा विश्वव्यापी शुल्क लगाएको छ । यो शुल्कले क्यानडाको निर्यातलाई असर पारेको छ।
ट्रम्प प्रशासनले यी शुल्कहरूको कारण फेन्टानिल जस्ता लागू औषध रोकथाममा क्यानडाको सहकार्यको अभाव देखाएको छ । तर क्यानडाले ती आरोप अस्वीकार गर्दै सीमामा नयाँ सुरक्षा कदम चालिएको बताएको छ ।
क्यानडाले अमेरिकी सामानहरूमा ६० बिलियन क्यानडाली डलर बराबरको प्रतिशोधात्मक शुल्क लगाएको छ । यसका कारण आयात शुल्कमा १।५ बिलियन क्यानडाली डलर बढी आम्दानी भएको क्यानडाले जनाएको छ।
हालसम्म क्यानडाको ९० प्रतिशत निर्यात क्यानडा अमेरिका मेक्सिको सम्झौता अन्तर्गत शुल्कमुक्त रहन सकेको छ । जसले क्यानडालाई ठूलो राहत दिएको छ।
क्यानडाले रक्षा खर्चमा वृद्धि, सीमामा सुरक्षा कडा बनाउने, र अमेरिकी प्रविधि कम्पनीहरूलाई लक्षित डिजिटल कर हटाउने निर्णय गरेर अमेरिका तर्फ सकारात्मक संकेत दिएको छ । यसले क्यानडालाई वार्तामा केही फाइदा मिल्ने आशा गरिएको छ।
क्यानडाका नीति निर्माताहरूले शुल्क न्यून बनाउने, एकीकृत आपूर्ति श्रृंखलालाई जोगाउने र दीर्घकालीन व्यापार विविधिकरणमा जोड दिइरहेका छन् । आगामी वर्ष क्यानडा अमेरिका मेक्सिको सम्झौता पुनरावलोकनको तयारी पनि भइरहेको छ।








