अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा १५ देखि ४१ प्रतिशतसम्मको आयात कर लगाउने घोषणा
प्रकाशित मिति : श्रावण १५, २०८२ बिहीबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६७ भन्दा धेरै देशहरुमा लगाउने आयात करको घोषणा गरेका छन ।
बिहीबार साँझ कार्यकारी आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले ६७ भन्दा बढी देशबाट अमेरिका आयात गरिने सामानमा १५ देखि ४१ प्रतिशतसम्मको ट्यारिफ (शुल्क) लगाउने घोषणा गरेका हुन ।
यो निर्णयसँगै अमेरिकाले पछिल्लो सय वर्षमा सबैभन्दा उच्च ट्यारिफ दर लागू गर्न लागेको हो । यद्यपि, यी नयाँ शुल्कहरू अगस्ट ७ देखि मात्र लागू हुनेछन् । जसले सम्बन्धित देशहरूलाई सम्झौता गर्न अझै केही समय दिएको छ ।
यो ऐतिहासिक हो, यो नयाँ व्यापार प्रणाली हो । यसलाई ‘ट्रम्प वार्ता चरण’ भन्न चाहेको एकजना अमेरिकी अधिकारीले बताएका छन । अमेरिका जुन देशहरूसँग व्यापारिक नाफामा छ त्यस्ता देशहरूलाई १० प्रतिशतको आधारभूत ट्यारिफ यथावत राखिनेछ ।
युरोपियन युनियन, जापान र दक्षिण कोरिया जस्ता मुख्य व्यापारिक साझेदारसँगको सम्झौता अनुसार १५ प्रतिशतको ट्यारिफ लागू हुनेछ ।
फिलिपिन्स, भियतनाम र इन्डोनेसिया सँग प्रशासनले १९–२० प्रतिशतको अस्थायी सम्झौता गरेको उल्लेख छ।
उच्च ट्यारिफ लाग्ने देशहरूमा सिरिया ४१ प्रतिशत,म्यानमार ४० प्रतिशत,लाओसमा ४० प्रतिशत,इराकमा ३५ प्रतिशत,स्विजरल्यान्डमा ३९ प्रतिशत र ताइवानमा २० प्रतिशत रहेका छन ।
यो आदेशमा ट्रम्प प्रशासनले ती देशहरूलाई “सजाय” दिएको संकेत गरेको छ । जुन देशहरूले व्यापार वार्ताका क्रममा पर्याप्त सम्झौता वा सहयोग नगरेको अमेरिकी धारणा छ।
ह्वाइट हाउसले अगस्ट ७ अघि थप देशहरूसँग सम्झौता हुने अपेक्षा गरिएको बताएको छ ।
अधिकारीले भने, “हामीसँग केही सम्झौता छन्, तर राष्ट्रपति ट्रम्पको अघि म विस्तृत रूपमा भन्न सक्दिन। तर अझ धेरै आउँदैछ भन्ने संकेत दिन सक्छु।”








