अर्कै महिलासँग सम्बन्धमा जोडिएपछि श्रीमतीको हत्या गरेको अभियोगमा अमेरिकी चिकित्सकलाई आजीवन जेल सजाय
प्रकाशित मिति : श्रावण १५, २०८२ बिहीबार
अमेरिकामा एकजना दन्त चिकित्सकले आफ्नी श्रीमतीलाई हत्या गरेको अभियोगमा आजीवन जेल सजाय पाएका छन् । कोलोराडोको एक अदालतले उनलाई कुनै क्षमायाचना वा जमानतको सम्भावना बिना नै कैदको फैसला सुनाएको हो ।
४७ वर्षीय जेम्स क्रेगलाई उनकी श्रीमती एन्जेला क्रेगको हत्या तथा अन्य अभियोगमा दोषी ठहर गर्दै अदालतले यस्तो फैसला सुनाएको हो । सन् २०२३ को मार्च महिनामा क्रेगले आफ्नी श्रीमतीको हत्या गर्ने योजना बनाएका थिए । जुन बेला उनी अर्कै महिलासँग सम्बन्धमा थिए।
अभियोजन पक्षका अनुसार क्रेगले पहिले एन्जेलाको प्रोटिन शेकमा आर्सेनिक मिसाएर खुवाए । पछि जब उनी अस्पतालमा बिरामी अवस्थामा थिइन् त्यतिबेला उनले सायनाइड नामक विष दिँदै अन्ततः उनको ज्यान लिएका थिए ।
अदालतमा दुई साता लामो सुनुवाइको क्रममा अभियोजन पक्षले क्रेगले आर्थिक समस्यामा परेका कारण र वैवाहिक जीवनबाट छुट्कारा चाहेर पनि डिभोर्स गर्न नचाहेको तर्क गरेका थिए ।
तर, बचाउ पक्षले भने एन्जेलाले आफ्ना पतिको ‘लगातार चलिरहेको बेइमानी’का कारण निराश भएर आत्महत्या गरेको दाबी गरेका थिए। तर, अरापाहो काउन्टीका फोरेंसिक विज्ञले एन्जेलाको मृत्यु सायनाइड र टेट्राहाइड्रोजोलिनको कारणले भएको पुष्टि गरेका थिए।
जेम्स क्रेगले ‘कति ग्राम शुद्ध आर्सेनिकले मानिस मर्छ’ र ‘आर्सेनिक पोष्टमार्टममा पत्ता लाग्छ कि लाग्दैन’ भन्नेजस्ता वाक्य गुगलमा खोजेका थिए । साथै उनले आफ्नै दन्त क्लिनिकमा पोटासियम सायनाइड मगाएका थिए।
सिसिटिभी फुटेजमा देखिए अनुसार जेम्स क्रेग एउटा सिरिञ्ज बोकेर पत्नीको कोठामा प्रवेश गरिरहेका थिए । त्यसपछि एन्जेलाको स्वास्थ्य अवस्था थप बिग्रिएको थियो । केही दिनमै उनलाई ब्रेन डेड घोषणा गरिएको थियो।
क्रेग दम्पतीका छ जना सन्तानमध्ये एक मिरियम मेसर्वीले अदालतमा पीडितको धारणा सुनाउँदै भनेकी थिइन्, “म आफ्ना बाबामाथि विश्वास गर्नुपर्ने थियो । उहाँ मेरो हिरो हुनुहुन्थ्यो। तर अब सधैंका लागि उहाँ मेरो नजरमा खलनायक बन्नुभयो।”
अदालतका न्यायाधीश शे व्हिटाकरले जेम्स क्रेगलाई हत्या अभियोगमा आजीवन कारावास र थप अभियोगका लागि ३३ वर्षको अतिरिक्त जेल सजाय सुनाए।








