नेपालीको टीपीएस खारेजी नोभेम्बर १८ सम्मका लागि स्थगित
प्रकाशित मिति : श्रावण १५, २०८२ बिहीबार
अमेरिकाको संघीय अदालतले नेपालको टीपीएस खारेजी नोभेम्बर १८ सम्मका लागि स्थगित गरेको छ । अदालतले मंगलबार भएको सुनुवाईबारे बिहिबार निर्णय सुनाउदै नेपालीको टीपीएस आगामी नोभेम्बर १८ सम्मका लागि स्थगित गरेको हो । नोभेम्बर १८ मा हुने सुनुवाईपछि टीपीएस खारेजी स्थगन थपिनसक्ने अदालतको निर्णयमा उल्लेख छ ।
तत्कालका लागि नेपालीको टीपीएस अब कम्तीमा नोभेम्बर १८ सम्मका लागि जोगिएको छ । अदालतले अगस्ट १४, २०२५ लाई प्रारम्भिक मुद्दा व्यवस्थापन सम्मेलनको लागि सुरक्षित राखेको छ भने अक्टोबर ९, २०२५ लाई थप मुद्दा व्यवस्थापन सम्मेलनको रूपमा राखेको छ। अदालतले नोभेम्बर १८, २०२५ को दिउँसो २ बजे प्रारम्भिक निषेधाज्ञा सुनुवाइको लागि सुरक्षित राखेको छ।
नेशनल टीपीएस एलायन्स र सात व्यक्तिगत वादीहरूले जुलाई ७, २०२५ मा ट्रम्प प्रशासनको विरुद्ध मुद्दा दायर गरेका थिए। यो मुद्दाले होन्डुरस, नेपाल र निकारागुआका नागरिकहरूको लागि टीपीएस अन्त्य गर्ने ट्रम्प प्रशासनको निर्णयलाई चुनौती दिन्छ। मुद्दाले प्रशासनिक प्रक्रिया ऐनको उल्लङ्घन, जातीय द्वेषका कारण संवैधानिक उल्लङ्घन, र पर्याप्त संक्रमण अवधिको प्रावधानमा असफलताको आरोप लगाएको छ।
नेपाली वादीहरूमा सान फ्रान्सिस्कोमा बस्ने ३३ वर्षीय नेपाली एसके रहेका छन्। ती टीपीएस वाहक अमेरिकी नागरिकसँग विवाह बन्धनमा बाँधिएका छन् र थिएटरमा काम गर्छन्। त्यस्तै अर्का नेपाली वादी सन्ध्या लामा हुन्। भर्जिनियामा बस्ने ४३ वर्षीय यी नेपाली आफ्ना तीन अमेरिकी नागरिक बच्चाहरूको लागि एक मात्र अभिभावक हुन्, जसमध्ये एक बच्चालाई विशेष चिकित्सा उपचार आवश्यक छ।






