रुसी पूर्व राष्ट्रपतिलाई ‘असफल राष्ट्रपति’ भन्दै ट्रम्पको चेतावनी : शब्दलाई नियन्त्रित गर
प्रकाशित मिति : श्रावण १५, २०८२ बिहीबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका पूर्व राष्ट्रपति दिमित्री मेदवेदेभलाई कडा शब्दमा चेतावनी दिँदै उनलाई “असफल राष्ट्रपति”को संज्ञा दिएका छन्। सामाजिक सञ्जालमा आक्रामक टिप्पणी गर्दै ट्रम्पले मेदवेदेभलाई “खतरनाक क्षेत्रमा प्रवेश नगर्न” चेतावनी दिएका छन्।
“रुस र अमेरिकाबीच लगभग कुनै व्यापार छैन। यसैगरी राखौं र मेदवेदेभलाई भन्नू – आफूलाई अझै राष्ट्रपति सम्झने असफल नेता, आफ्नो शब्दहरूलाई नियन्त्रित गर। उनी खतरनाक भूमिमा प्रवेश गर्दै छन् !”- ट्रम्पले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत भने।
ट्रम्पको उक्त टिप्पणी मेदवेदेभको पछिल्लो आलोचनापछि आएको हो, जसमा उनले ट्रम्पद्वारा रुसमाथि राखिएको युक्रेन युद्ध अन्त्यको लागि ‘अन्तिम म्याद’ को खिल्ली उडाएका थिए। मेदवेदेभले ट्रम्पको चेतावनीलाई ‘युद्धतर्फको पाइला’ भन्दै टिप्पणी गरेका छन्।
“रुससँग यस्तो अल्टिमेटम चल्दैन् । ट्रम्पले बुझ्नुपर्छ, रुस इजरायल होइन, न त ईरान। हरेक नयाँ धम्की युद्धको संकेत हो, त्यो पनि युक्रेनसँग होइन, अमेरिका आफैंसँग,” मेदवेदेभले लेखे।
मेदवेदेभले अर्का अमेरिकी सिनेटर लिन्डसे ग्राहमलाई पनि निशाना बनाउँदै ‘बुढा’ भनेर टिप्पणी गरेका छन्। ग्राहमले उनलाई वार्ताको टेबलमा आउन सुझाव दिएका थिए, जसको जवाफमा मेदवेदेभले भने, “शान्तिका वार्ता तब सकिन्छ जब हाम्रो सैन्य अभियानका सबै उद्देश्यहरू पूरा हुन्छन्। पहिले तिमी आफ्नो देश हेरे हुन्छ, बुढा !”
ट्रम्पले जुलाईमा घोषणा गर्दै रुसलाई युक्रेनसँग युद्धविराम गर्न ५० दिने म्याद दिएका थिए, नत्र व्यापारिक नोक्सानी हुने चेतावनी पनि दिएका थिए। हालै ट्रम्पले युक्रेन युद्ध अन्त्यको लागि १० वा १२ दिनको समयसीमा तोकेका छन् । मेदवेदेभ, जो २००८ देखि २०१२ सम्म रूसका राष्ट्रपति थिए, हाल राष्ट्रपति भ्लादिमिर पुटिनको विश्वासपात्रका रूपमा र सुरक्षा परिषदका उपाध्यक्ष पदमा छन्।








