भेगासमा बन्दुक किनेर न्यूयोर्कमा गोलीकाण्ड, को थिए तमुरालाई बन्दुक बेच्ने सुपरभाइजर ?
प्रकाशित मिति : श्रावण १४, २०८२ बुधबार
अमेरिकाको न्यूयोर्क सिटीमा गोलीकाण्ड मच्चाउने व्यक्तिले क्यासिनोमा काम गर्ने सुपरभाइजरबाट बन्दुक किनेको पाइएको छ ।
गोली चलाएर चार जनाको ज्यान लिने आक्रमणकारीले प्रयोग गरेको राइफल लस भेगासको क्यासिनोमा काम गर्ने आफ्नो सुपरभाइजरबाट किनिएको अनुसन्धानकर्ताहरूले बताएका हुन ।
अधिकारीहरुले बन्दुक विक्री गर्ने सुपरभाइजरको नाम सार्वजनिक गरेका छैनन । तर उनी अधिकारीहरूसँग सहकार्य गरिरहेका छन् ।
अहिलेसम्म उनीमाथि कुनै अभियोग लागाइएको छैन । बन्दुक बिक्री कानुनी थियो वा थिएन भन्ने अझै पुष्टि भइसकेको छैन ।
२७ वर्षीय शेन तमुरा नामक आक्रमणकारीले आत्महत्या समेत गरेका थिए । उनले लेखेको नोटमा आफू सीटीई नामक मस्तिष्क रोगबाट पीडित भएको दाबी गरेका थिए ।
गोलीकाण्डमा डिडारुल इस्लाम प्रहरी अधिकारी,वेस्ली लेप्याटनर कार्यकारी कर्मचारी,एल्यान्ड एटिएनसुरक्षा गार्ड र जुलिया हाइमन नामका रियल स्टेट कर्मचारी मारिएका थिए ।
प्रहरीका अनुसार सेमी अटोमेटिक राइफल तमुराले लस भेगासस्थित हर्सु क्यासिनो का सुपरभाइजरबाट १ हजार ४०० डलरमा किनेका थिए । तमुरा त्यहीँको सर्भेइलान्स टीम मा काम गर्थे ।
नेभाडा राज्यको कानून अनुसार १८ वर्षभन्दा माथिका व्यक्तिहरूले अनुमति पत्रबिनै हतियार किन्न सक्ने भए पनि पृष्ठभूमि जाँच भने अनिवार्य छ । अनुसन्धानकर्ताहरूले बन्दुक बिक्रीअघि त्यो जाँच गरियो वा गरेन भन्ने खुलाएका छैनन्।
सुपरभाइजरले तमुरालाई गोलीकाण्डका लागि प्रयोग गरिएको कालो बीएमडब्ल्यू कार पनि बेचेका थिए । उनको लस भेगासको अपार्टमेन्टबाट आत्महत्या नोट, एन्टि साइकोटिक औषधी र उनका आमाबुवालाई सम्बोधन गरिएको पत्र फेला परेको थियो ।
नोटमा “मेरो दिमागको अध्ययन गर्नुहोस्।”सीटीई ले मलाई सतायो । म माफी चाहन्छु लेखिएको थियो । यो माफी सुपरभाइजरप्रति लक्षित भएको अनुमान गरिएको छ ।
उनको कारबाट थप एक पेस्तोल पनि फेला परेको छ । जुन कानुनी रूपमा केही दिनअघि मात्र उनले किनेका थिए।
तमुराले नेभाडामा लुकाएर हतियार बोक्ने अनुमति पाएका थिए । उनले नेशनल फुटवल लिगको अफिसलाई लक्षित गर्ने योजना बनाएको आशंका गरिएको छ ।
तमुरा किशोरावस्थामा फुटबल खेल्थे, तर नेशनल फुटवल लिग मा भने उनी कहिल्यै खेलेका थिएनन्।








