न्यूयोर्क सिटीको आप्रवासी संरक्षण कानुनविरुद्ध ट्रम्प प्रशासनको मुद्दा


प्रकाशित मिति : श्रावण ८, २०८२ बिहीबार

a wooden judge's hammer sitting on top of a table

फोटो: वेस्ली टिंगे

ट्रम्प प्रशासनले आप्रवासीको संरक्षणसम्बन्धी न्यूयोर्क सिटीको कानुनविरुद्ध मुद्दा दायर गरेको छ। न्यूयोर्क सिटीले ट्रम्प प्रशासनको आप्रवासन कानुनको कार्यान्वयनमा बाधा पुर्याएको दाबी गर्दै डिपार्टमेन्ट अफ जस्टिसले बिहीबार न्यूयोर्क सिटीका मेयर एरिक एडम्सविरुद्ध मुद्दा दायर गरेको हो। यो कदम ट्रम्प प्रशासनले आप्रवासीलाई संरक्षण प्रदान गर्ने अमेरिकाको सबैभन्दा ठूलो सिटीमा कारबाही गर्ने प्रयास तीव्र पारेका बेला आएको छ।

ब्रुकलिनको संघीय डिस्ट्रिक्ट कोर्टमा दायर गरिएको ३७ पृष्ठको मुद्दामा ट्रम्प प्रशासनले सिटीका नीतिहरूले संविधानको सर्वोच्चता धाराको उल्लङ्घन गरेको दाबी गरेको छ। मुद्दामा सिटी काउन्सिल, प्रहरी विभाग र यसका आयुक्तलाई पनि प्रतिवादीको रूपमा राखिएको छ। न्यूयोर्क सिटीमा स्थानीय कानुन प्रवर्तन र संघीय अध्यागमन अधिकारीहरूबीचको सहकार्यलाई सीमित गर्ने कानुन कायम छ।

ट्रम्प प्रशासनले फेब्रुअरीमा इलिनोय र शिकागोविरुद्ध यस्तै मुद्दा दायर गरेको थियो भने, मेमा न्यू जर्सीका चार ठूला सिटीहरूविरुद्ध अर्को मुद्दा दायर गरिएको थियो। त्यसैगरी, जुनमा लस एन्जलसविरुद्ध मुद्दा दायर गरिएको थियो।

“न्यूयोर्क सिटी लामो समयदेखि अमेरिकाको आप्रवासन कानुन लागू गर्ने काममा हस्तक्षेप गर्ने अग्रपंक्तिमा रहेको,” ट्रम्प प्रशासनले आफ्नो मुद्दामा उल्लेख गरेको छ। आप्रवासीलाई संरक्षण प्रदान गर्ने सिटीका रूपमा न्यूयोर्क सिटीको इतिहास १९८९ को रहेको र संघीय आप्रवासन प्रवर्तनलाई विफल पार्ने न्यूयोर्क सिटीका प्रयासहरू त्यसबेलादेखि मात्र तीव्र भएको मुद्दामा उल्लेख छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्यूयोर्क सिटीका मेयर एरिक एडम्स महिनौँसम्म धेरै आप्रवासन मुद्दाहरूमा सार्वजनिक रूपमा ट्रम्पको पक्षमा उभिएका थिए, किनभने उनले आफूमाथि लागेको भ्रष्टाचारको आरोप फिर्ता लिन संघीय सरकारलाई पैरवी गरिरहेका थिए। तर, म्यानहट्टनमा एक अफ-ड्युटी सीबीपी अधिकारीमाथि गोली प्रहार भएपछि सोमबार ट्रम्पका शीर्ष अध्यागमन अधिकारीहरू न्यूयोर्क सिटीमा उपस्थित भएर एडम्स र सिटीको कानुनको आलोचना गरेपछि त्यो साझेदारीमा तिक्तता आउन थालेको हो।

गोली प्रहारको सम्बन्धमा पक्राउ परेका दुई जना पुरुष डोमिनिकन रिपब्लिकका थिए र अवैध रूपमा अमेरिकामा प्रवेश गरेका थिए। उनीहरूको आपराधिक रेकर्ड पनि रहेको संघीय अधिकारीहरूले बताएका छन्।

सिटी हलका अधिकारीहरूले राष्ट्रपतिसँग मेयरको सम्बन्ध परिवर्तन भएको धारणाको प्रतिरोध गरेका छन्। उनीहरूले ट्रम्प प्रशासनविरुद्ध आप्रवासनसँग सम्बन्धित मुद्दाहरूलगायत सिटीले दायर गरेका मुद्दाहरू उल्लेख गर्दै मेयर एडम्स र ट्रम्पबीचको सम्बन्धको प्रतिरोध गरेका हुन्। एरिक एडम्सकी प्रवक्ता कायला मामेलक अल्टसले ट्रम्प प्रशासनले हालेको मुद्दाको समीक्षा गर्ने बताएकी छन्।

२०१४ मा तत्कालीन मेयर बिल डे ब्लासियोले एउटा बिलमा हस्ताक्षर गरेका थिए जसले प्रहरी र जेल अधिकारीहरूलाई कागजातविहीन आप्रवासीहरूलाई देश निकाला गर्न संघीय एजेन्टहरूलाई मद्दत गर्नबाट रोकेको थियो। कानुनले सिटीको सबैभन्दा ठूलो जेल परिसर राइकर्स आइल्याण्डमा रहेको कार्यालयहरूबाट आइस अफिस हटाएको थियो भने सिटीको जेल विभागसँग आइसको सञ्चारलाई कडाइका साथ सीमित गरेको थियो।

त्यस्तै, उक्त कानुनले सिटीका एजेन्सीहरूलाई अपराधको आरोप लागेका आप्रवासीहरूलाई पछि देशनिकालाका लागि हिरासतमा राख्ने आइसको अनुरोधलाई स्वीकार गर्नबाट पनि प्रतिबन्ध लगाएको थियो। कानुनअन्तर्गत सिटीले हिंसात्मक वा गम्भीर अपराधमा दोषी ठहरिएकाहरूका लागि मात्र यस्ता अनुरोधहरूलाई स्वीकार गर्न सक्छ, जसमा बलात्कार र हत्यासहित १७० भन्दा बढी अपराधहरू छन्। आइसले प्रत्येक अनुरोधसँगै संघीय न्यायाधीशद्वारा हस्ताक्षर गरिएको वारेन्ट पनि पेस गर्नुपर्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com