इक्वेडरका शक्तिशाली अपराधी नेता ‘फिटो’ अमेरिकालाई सुपुर्दगी
प्रकाशित मिति : श्रावण ४, २०८२ आईतबार
इक्वेडरका शक्तिशाली अपराधी नेता ‘फिटो’ लाई अमेरिकामा सुपुर्दगी गरिएको छ । लागूऔषध र हतियार तस्करी मुद्दामा अदालतमा उपस्थित गराइने बताइएको छ ।
इक्वेडरका कुख्यात गिरोह नेता ‘फिटो’भनेर चिनिने अडोल्फो मासीआस भिल्लामार अमेरिका सुपुर्दगी गरिएका हुन । उनीमाथि लागूऔषध र हतियार तस्करी सम्बन्धी अन्तर्राष्ट्रिय अभियोग लागेको छ ।
३४ वर्षको जेल सजाय भोगिरहेका फिटो गत वर्ष उच्च सुरक्षा जेलबाट फरार भएका थिए ।
झण्डै एक वर्षपछि, जुन महिनामा उनलाई प्रहरीले मान्ता सहरको एक विलासी घरको भुइँतलाको बंकरबाट पक्राउ गरेको थियो । त्यसपछि उनलाई उच्च सुरक्षा जेल ला रोक्का मा राखिएको थियो।
इक्वेडरका राष्ट्रपति ड्यानियल नोबोआले त्यसबेला सुरक्षाकर्मीहरूको प्रशंसा गर्दै फिटोलाई अमेरिका सुपुर्दगी गर्ने प्रतिबद्धता जनाएका थिए । उनलाई इक्वेडरको जेलबाट निकालेर अमेरिकी अधिकारीहरूलाई हस्तान्तरण गरिएको हो।
फिटो अमेरिकाको ब्रुकलिनस्थित संघीय अदालत सोमबार उपस्थित हुनेछन् । उनका वकिल एलेक्सी स्काख्टले बताए अनुसार उनले अदालतमा आफू निर्दोष रहेको बयान दिनेछन् ।
फिटो गिरोहका प्रमुख हुन् । उक्त गिरोह मेक्सिको र बल्कन राष्ट्रहरूको शक्तिशाली अपराध संगठनहरूसँग जोडिएको छ । उनीमाथि सन् २०२३ मा राष्ट्रपति पदका उम्मेदवार फर्नान्डो भिल्लाभिसेन्सियोको हत्या गराउन आदेश दिएको शंका पनि गरिएको छ।
गिरोहलाई इक्वेडरको अपराध दर अत्यधिक बढाउनुमा दोषी मानिन्छ । एक समय पर्यटकहरूको गन्तव्य मानिने इक्वेडर हाल दक्षिण अमेरिकी क्षेत्रकै एक उच्च हत्या दर भएको देश बनेको छ ।
विश्वमा उत्पादन हुने कुल कोकिनको ७० प्रतिशत भन्दा बढी अहिले इक्वेडरका बन्दरगाहमार्फत तस्करी हुने बताइन्छ । इक्वेडर कोकिन निर्यातकर्ता दुई प्रमुख देश—कोलम्बिया र पेरु—को बिचमा रहेको छ ।
राष्ट्रपति ड्यानियल नोबोआले देशमा बढ्दो अपराध नियन्त्रण गर्न सुपुर्दगीसम्बन्धी जनमत संग्रह गरेका थिए ।
जनताले विदेशी सुपुर्दगीलाई समर्थन गरेका थिए । जसअनुसार नागरिकहरूलाई अपराधमा संलग्न भएमा विदेश पठाउन सकिने व्यवस्था बनाइएको हो ।
इक्वेडरको एक अत्यन्तै शक्तिशाली अपराधी नेता फिटोलाई अब अमेरिकामा लागूऔषध र हतियार तस्करीको मुद्दामा कारबाही गरिनेछ ।
यो कदम इक्वेडरमा बढ्दो हिंसा र आपराधिक गिरोहको प्रभावविरुद्ध लिइएको महत्वपूर्ण निर्णय मानिएको छ ।








