लण्डनमा प्रतिबन्धित ‘प्यालेस्टाइन एक्शन’ समूहको समर्थनमा प्रदर्शन, ५५ जना पक्राउ


प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार

लण्डनको संसद् भवन बाहिर शनिबार भएको प्रदर्शनका क्रममा प्रतिबन्धित ‘प्यालेस्टाइन एक्शन’ समूहको समर्थनमा संलग्न ५५ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ।

लण्डन मेट्रोपोलिटन प्रहरीले दिएको जानकारी अनुसार संसद् स्क्वायरमा भेला भएका प्रदर्शनकारीहरूले हालै प्रतिबन्धित घोषित उक्त समूहको समर्थनमा प्लेकार्डहरू प्रदर्शन गरेका थिए। केही सहभागीहरू कालो र सेतो रंगको परम्परागत प्यालेस्टाइन स्कार्फलगाएका थिए, जसलाई प्रहरीले नियन्त्रणमा लिई प्रहरी भ्यानमार्फत लगिएको थियो।

‘प्यालेस्टाइन एक्शन’ समूहलाई बेलायती सरकारले यसै महिनाको सुरुवातमा आतंकवादविरोधी कानुन अन्तर्गत प्रतिबन्ध लगाएको हो। प्रतिबन्ध लगाउने निर्णय समूहका केही सदस्यहरूले रोयल एयर फोर्सको एउटा आधारशिविरमा घुसपैठ गरी विमानहरूमा क्षति पुर्‍याएपछि लिइएको हो। उनीहरूले बेलायतको इजरायलप्रतिको समर्थनको विरोधस्वरूप सो आक्रमण गरेका थिए।

अब सो समूहको सदस्यता लिएको प्रमाणित भएमा १४ वर्षसम्मको जेल सजाय हुन सक्ने कानुनी व्यवस्था छ। समूहले सरकारले लिएको निर्णयलाई ‘सत्तावादी’ भन्दै विरोध जनाएको छ। प्रतिबन्धविरुद्ध दायर गरिएको मुद्दाको सुनुवाइ सोमबार लण्डनको हाई कोर्टमा हुने बताइएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘प्यालेस्टाइन एक्शन’ ले गाजा युद्ध सुरु भएदेखि बेलायतमा इजरायलसँग सम्बन्धित रक्षा कम्पनीहरू र अन्य व्यापारिक संस्थाहरूलाई बारम्बार निशाना बनाउँदै आएको छ। प्रतिबन्ध लगाइएपछि बेलायतभर भएका र्‍यालीहरूमा प्रहरीद्वारा दर्जनौं समर्थकहरूलाई पक्राउ गरिएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com