नीतिगत उतारचढावका बावजुद ‘मे’मा नेपाली विद्यार्थीलाई चालु आर्थिक वर्षकै उच्च अमेरिकी भिसा
प्रकाशित मिति : असार २७, २०८२ शुक्रबार
व्यापक नीतिगत उचारचढावका बाबजुत मे महिनामा ८१८ जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा पाएका छन् भने थप ७० जना उनीहरुका डिपेण्डेण्टहरुले अमेरिकाको एफटु श्रेणीको भिसा प्राप्त गरेका छन् । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार यो संख्या चालु आर्थिक बर्षका कुनै पनि महिनाको तुलनामा बढी हो ।
अप्रिलमा ७०१ जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा एफ वान पाएका थिए भने उनीहरुका ४७ जना डिपेन्डेन्टहरुले पनि एफ टु श्रेणीको भिसा पाएका थिए । मार्चमा ७६१ जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा एफ वान पाएका थिए भने उनीहरुका ३६ जना डिपेन्डेन्टहरुले पनि एफ टु श्रेणीको भिसा पाएका थिए ।
फेब्रुअरीमा ८०२ जना नेपाली विद्यार्थीहरूले एफ वान भिसा प्राप्त गरेका थिए, जुन जनवरी २०२५ को तुलनामा मात्र नभई चालु आर्थिक बर्षका कुनै पनि महिनाका तुलनामा बढी थियो । जनवरीमा ७५० जना नेपालीले अमेरिकाको विद्यार्थी भिसा पाएका थिए।
विगतका महिनाहरूसँग तुलना गर्दा डिसेम्बर २०२४ मा ६१६ जना, नोभेम्बरमा १६७ जना र अक्टोबरमा ७१२ जना नेपाली विद्यार्थीहरूले एफ १ भिसा पाएका थिए।
अमेरिकी विदेश मन्त्रालयको ब्युरो अफ कन्सुलर अफेयर्सको तथ्यांक अनुसार आर्थिक बर्ष २०२४ मा १३,१८७ नेपालीलाई अमेरिकाको विद्यार्थी भिसा प्रदान गरिएको थियो, जुन अघिल्लो आर्थिक वर्ष २०२३ को तुलनामा दोब्बरभन्दा बढी हो।
राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनको कडा अध्यागमन नीतिका बाबजुत मे महिनामा नेपालीहरुको विद्यार्थी भिसामा भने रेकर्ड ब्रेक भएको छ । यद्यपी मे महिनाको अन्तिम साता नै ट्रम्प प्रशासनले अमेरिकी विश्वविद्यालयहरूमा अध्ययन गर्न आवेदन दिने सबै विदेशी विद्यार्थीहरूको भिसा अन्तर्वार्ताका लागि नयाँ अप्वाइन्टमेन्टहरू स्थगित गरेको थियो । सोही अनुशार अमेरिकी दूतावास काठमाडौंले पनि नयाँ अप्वाइन्टहरु दिन छाडेको थियो ।
मे महिनामा भिसा अन्तरवार्ता दिनेहरु विगतका महिनामा अप्वाइन्टमेन्ट लिनेहरु रहेकाले मेको अन्तिम सातादेखि जुनको दोश्रोसातासम्म नयाँ अप्वाइन्टमेन्टहरू स्थगित गर्दाको प्रभाव भने जुन र जुलाईमा पर्नसक्ने अनुमान गरिएको छ । यद्यपी जुन महिनामा कति नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा पाए भन्ने विवरण अझै प्राप्त भएको छैन ।
अमेरिकी दूतावास काठमाडौंले अगस्तका लागि जुलाई ३ मा विद्यार्थी भिसाका नयाँ अप्वाइन्टमेन्ट खोलिसकेको छ । ट्रम्प प्रशासनले विद्यार्थी भिसाका नयाँ अन्तरवार्ता अप्वाइन्टमेन्ट सुचारु गर्ने निर्णय गरेसँगै अमेरिकी दूतावास काठमाडौंले पनि भिसा अप्वाइन्टमेन्टका स्लटहरु खुलाएको थियो ।
अमेरिकी दूतावास काठमाडौंले यस अगाडि पनि मासिक रुपमा विद्यार्थी भिसाका अप्वाइन्टमेन्ट स्लटहरु खोल्दै आएकोमा ट्रम्प प्रशासनले विद्यार्थी भिसाका नयाँ अप्वाइन्टमेन्ट नलिने निर्णय गरेसँगै त्यस्ता अप्वाइन्टमेन्ट स्लटहरु खोल्न रोकेको थियो । अहिले विदेश मन्त्रालयले सामाजिक सञ्जाल चेकजाँच कडा बनाउनेगरी भिसा सुचारु गर्न दूतावास र कन्सुलेटहरुलाई निर्देशन दिएकाले अमेरिकी दूतावास काठमाडौंले अप्वाइन्टमेन्ट स्लटहरु खोलेको सूचनासँगै विद्यार्थी भिसा एफ, एम वा जे गैर आप्रवासी श्रेणीका भिसाका लागि आवेदन दिने सबै व्यक्तिहरूलाई आफ्ना सबै व्यक्तिगत सामाजिक सञ्जाल खाताहरूको गोपनीयता सेटिङलाई ‘सार्वजनिकमा परिवर्तन गर्न चेतावनी दिएको छ ।
विगत ५ बर्षभित्र प्रयोग गरेका सामाजिक सञ्जालका विवरणहरु नदिए, सामाजिक सञ्जाल खाताहरूको गोपनीयता सेटिङ सार्वजनिक नगरे भिसा अस्वीकृत हुनेमात्र नभई भविश्यमा समेत भिसाका लागि अयोग्य हुनसक्ने चेतावनी दूतावासले दिदै आएको छ । दूतावासले सामाजिक सञ्जालहरु पब्लिक बनाउन अनुरोध गर्दै प्रत्येक भिसा निर्णय राष्ट्रिय सुरक्षासँग सम्बन्धित निर्णय भएको प्रष्ट पारेको थियो । यो निर्णयसँगै फेसबुक एकाउन्ट लक गरेका, ट्वीटर, टिकटक वा इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालहरु फ्लोअर्सहरुलेमात्र देख्न पाउनेगरी प्राइभेट गराएकाहरुले ती सामाजिक सञ्जालहरु पब्लिक मोडमा नराखी अमेरिकाको भिसा आवेदन दिएको खण्डमा उनीहरुको भिसा अस्वीकृत हुनसक्नेछ ।
ट्रम्प प्रशासनले भिसा आवेदकको सामाजिक सञ्जाल जाँच कडा गर्ने नीति ल्याएसँगै अमेरिकी दूतावास काठमाडौंले पनि उक्त नीतिको कार्यान्वयन सुरु गरेको हो । सामाजिक सञ्जालमा अमेरिकाले आतंकवादी सूचिमा राखेका संगठनहरुको समर्थन गरेमा वा त्यस्ता संगठनसँगको सम्बन्ध देखिने सामाग्रीहरु पोष्ट गरेमा ती भिसा आवेदकको अमेरिकाको भिसा अस्वीकृत गर्न ट्रम्प प्रशासनले दूतावासहरुलाई निर्देशन दिइसकेको छ ।
विद्यार्थीहरूको प्रोफाइल जाँच्दा दूतावासका कर्मचारीहरूलाई अमेरिकी नागरिक, संस्कृति, सरकार, संस्था वा स्थापनाका सिद्धान्तहरूप्रति शत्रुतापूर्ण मनोवृत्ति राख्ने आवेदकहरू, विदेशी आतंकवादी र अन्य राष्ट्रिय सुरक्षा खतराहरूलाई समर्थन गर्ने वा गैरकानुनी यहुदी विरोधी उत्पीडन वा हिंसा गर्ने व्यक्तिहरूलाई पहिचान गर्न निर्देशन दिइएको छ।






