बाइडेनले युक्रेनलाई दिने भनेका हतियार ट्रम्प प्रशासनले किन रोक्यो ?
प्रकाशित मिति : असार १७, २०८२ मंगलबार
अमेरिकाले युक्रेनलाई हतियार पठाउन केही मात्रामा रोकेको छ । अमेरिकी अधिकारीहरूले आफ्नो हतियार भण्डारणमा न्यूनता आएको भन्दै युक्रेनलाई केही हतियार पठाउन रोक लगाएको बताएका छन ।
यो निर्णय युक्रेनका लागि थप गम्भीर स्थिति हुनसक्ने अनुमान गरिएको छ । रूसी आक्रमण तीव्र भइरहेका बेला अमेरिकाबाट हतियार कम आउन थाल्नुले युक्रेनलाई समस्यामा पार्न सक्ने संभावना बढेको छ ।
पछिल्लो तीन वर्षभन्दा बढी समयदेखि जारी युद्घमा युक्रेनलाई सुरक्षा मद्दत दिन अमेरिकी सरकारले केही म्यूनिसनहरू उपलब्ध गराउने निर्णय गरेको थियो।
तर अमेरिकी पदाधिकारीहरूद्वारा गरिएको समीक्षा र राष्ट्रिय प्राथमिकताहरू परिवर्तन भएपछि अब ती हतियारहरू रोकिएको हो ।
व्हाइट हाउसकी प्रवक्ता अन्ना केलीले भनिन्, “यो निर्णय अमेरिकी स्वार्थ पहिले राख्ने गरी गरिएको हो, जब हामीले विश्वभरका अन्य राष्ट्रहरूसँग दिने हाम्रो सैन्य सहयोग र समर्थनको समीक्षा गर्यौं।”
पेन्टागनको समीक्षा अनुसार पहिला प्रतिबद्धता जनाइएका केही हतियारहरू अहिले स्टकमा पर्याप्त नभएकोले दिन नसकिएको हो । हतियार स्थगन कस्तो हुने भन्ने विशिष्ट विवरण भने उनीहरूले सार्वजनिक गरेनन्।
पेन्टागनका प्रवक्ता सीन पर्नेलले भने, “अमेरिकाको सेना कहिल्यै यति तयार र सक्षम भएको थिएन।” उनले जारी बजेट सुधार र कर कटौतीले २१ औँ शताब्दीको खतराहरूको सामना गर्न नयाँ प्रणालीहरू तयार गरिरहेको बताए।
यो निर्णय युक्रेनको लागि चुनौतिपूर्ण छ । किनकि रूसले पछिल्लो समय तीव्र हवाई हमलाहरू सुरु गरेको छ । यी हमलाहरूले शान्ति प्रयासहरू अझ कमजोर बनाएका छन् । वार्तालापलाई ठप्प पारिसकेका छन् ।
फेब्रुअरी २०२२ मा रूसले युक्रेनमाथि आक्रमण गरेदेखि हालसम्म अमेरिकाले युक्रेनलाई कुल ६६ बिलियन डलर भन्दा बढीको हतियार र सैन्य सहयोग प्रदान गरेको छ।
अमेरिकाले आफ्ना सहयोगीहरूलाई युक्रेनलाई हवाई रक्षा प्रणाली उपलब्ध गराउन दबाब दिइरहेको छ । तर धेरै देशहरू यस्ता उन्नत उपकरणहरू दिनबाट हिचकिचाइरहेका छन्।
ट्रम्पका अनुसार यसै हप्ता नेटो सम्मेलनको अवसरमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई भेट्दा उनीहरूले “प्याट्रियट” मिसाइल प्रणाली चाहेको बताएका थिए ।
ट्रम्पले भने, “तिनीहरूलाई एन्टि–मिसाइल प्याट्रियट चाहिन्छ, हामी हेर्छौं के गर्न सक्छौं। हामीले इजरायललाई पनि दिएका छौं र अत्यन्त प्रभावकारी छन्।”






