जापानले अमेरिकी चामल नकिने कारमा भन्सार थप्ने राष्ट्रपति ट्रम्पको चेतावनी
प्रकाशित मिति : असार १६, २०८२ सोमबार
फोटो : ड्यानियल टोरोक
जापानले अमेरिकी उत्पादन चामल ‘नखाने’ भनेपछि अमेरिकाले कडा प्रतिकृया जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी निर्णयको बदलामा जापानी वस्तुहरूमा थप भन्सार (ट्यारिफ) शुल्क लगाउने चेतावनी दिएका छन् ।
ट्रम्पले जापानमा चामलको अभाव छ तर उनीहरुले अमेरिकाको चामल लिन्न भनिरहेका छन भनेर धारणा सार्वजनिक गरेका हुन ।
उनले जापानलाई लामो समयदेखिको व्यापार साझेदारको रुपमा अमेरिकाले ग्रहण गरिरहेको स्मरण समेत गराएका छन ।
तर ट्रम्पको यो दाबी गलत देखिन्छ। अमेरिकी जनगणना ब्युरोको व्यापार तथ्याङ्क अनुसार जापानले गत वर्ष मात्र अमेरिका बाट २९८ मिलियन अमेरिकी डलर बराबरको चामल किनेको थियो ।
यो वर्षको जनवरीदेखि अप्रिलसम्म पनि जापानले ११४ मिलियन अमेरिकी डलर बराबरको चामल खरिद गरिसकेको छ।
हाल जापान र अमेरिकाबीच जारी व्यापार वार्ताका क्रममा जापानी अधिकारीहरूले भविष्यमा अमेरिकी चामल किन्ने रोक्ने बताएका छन् कि छैनन् भन्ने कुरा भने स्पष्ट छैन ।
सन् २०२१ मा पूर्व राष्ट्रपति जो बाइडेनको कार्यकालमा अमेरिकी व्यापार प्रतिनिधिको कार्यालय ले प्रकाशित गरेको रिपोर्टमा जापानको चामल आयात र वितरण प्रणाली अत्यधिक नियन्त्रित र अपारदर्शी रहेको र अमेरिकी निर्यातकर्ताहरूलाई उपभोक्तासम्म प्रभावकारी रूपमा पुग्न गाह्रो बनाइरहेको उल्लेख गरिएको थियो ।
ट्रम्पले जापानी कारहरु अमेरिकामा बेच्ने हो भने २५ प्रतिशत कर तिर्नुपर्ने अवस्था छिटै आउने बताएका हुन । यो बयान ट्रम्पले घोषणा गरेको ९० दिने ट्यारिफ रोकको अन्त्य मिति जुलाई ९ नजिकिंदै गर्दा आएको हो ।
सो मितिपछि ट्रम्पले “पारस्परिक ट्यारिफ” लाई पुनः लागू गर्ने कि नगर्ने भन्ने अन्योल कायमै छ। ट्रम्पले उक्त ट्यारिफ रोक लगाउनु अघि जापानी सामानहरूमा कम्तीमा २४ प्रतिशत शुल्क लागिरहेको थियो ।
अहिले रोक अवधिमा सबै देशका सामानहरूलाई समानरूपमा १० प्रतिशत ट्यारिफमा राखिएको छ। ह्वाइट हाउसका राष्ट्रिय आर्थिक परिषदका निर्देशक केभिन ह्यासेटले वार्ता अन्तिम क्षणसम्म चलिरहने बताएका छन ।
ट्रम्पको यो कठोर शैलीमा व्यापार वार्ता गर्ने रणनीतिले पुनः अन्तर्राष्ट्रिय व्यापारमा तनाव ल्याउने संकेत देखिएको विश्लेषकहरुले बताएका छन ।








