पछिल्लो अध्यागमन परिवर्तनले नेपाली समुदाय तनावमा, जर्सी सिटीमा निःशुल्क मानसिक स्वास्थ्य सेमिनार
प्रकाशित मिति : असार १३, २०८२ शुक्रबार

अमेरिकामा पछिल्ला अध्यागमन नीति परिवर्तनहरूले नेपाली समुदायमा ठूलो चिन्ता र तनाव सिर्जना गरेको छ। यसै सन्दर्भमा हड्सन स्पीक्स र साझेदार संस्था केयरपोइन्ट हेल्थ क्राइस्ट अस्पतालले जुन २९, आइतबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म निःशुल्क मानसिक स्वास्थ्य सेमिनारको आयोजना गर्दैछ। यो कार्यक्रम जर्सी सिटीको ८१ सिप एभिन्यूमा आयोजना हुनेछ।
आयोजकका अनुसार, सेमिनारमा नेपाली समुदायलगायत सबैका लागि विशेष रूपमा उपयोगी हुने गरी विभिन्न मानसिक स्वास्थ्यका विषयहरूमा छलफल गरिनेछ। हडसन स्पीक्सकी कार्यक्रम निर्देशक डा. विष्णुमाया परियार, जर्सी सिटी काउन्सिल प्रेसिडेण्ट जोयस वाटरम्यान, कन्सल्ट्यान्ट रोसियो क्रुज ओलिभेरा, क्लिनिकल थेरापिस्ट दिनेश श्रेष्ठ, हडसन स्पीक्स कन्सल्ट्यान्ट बालकृष्ण मैनाली, एसोसिएट म्यारिज एण्ड फ्यामिली थेरापिस्ट पूजा पाप्नेजा लगायतका अनुभवी वक्ताहरूले यसमा भाग लिनेछन्।
आयोजकले चिन्ता, डिप्रेसन, आत्महत्या, पोस्टट्रमेटिक स्ट्रेस डिसअर्डर र मानसिक स्वास्थ्यका चेतावनी संकेत तथा जोखिम कारकहरू जस्ता महत्त्वपूर्ण विषयहरूमा प्रकाश पारिने जानकारी दिएका छन्। हडसन स्पीक्सकी कार्यक्रम निर्देशक डा. विष्णुमाया परियारका अनुसार, यो सेमिनार विशेष गरी तनाव र अनिश्चिततासँग जुधिरहेकाहरूका लागि एक महत्त्वपूर्ण अवसर बन्नेछ र यसले उनीहरूलाई मानसिक स्वास्थ्य समस्याहरू समाधान गर्न सहयोग पुर्याउनेछ।
उनले भनिन्, “अमेरिकामा पछिल्लो अध्यागमन परिवर्तनले नेपाली आप्रवासी समुदाय अझ चिन्ता र तनावमा रहेको छ। टीपीएसको अन्त्य लगायतका परिवर्तनका कारण कैयन नेपालीहरू मानसिक समस्यासँग जुधिरहेका छन्। यो अवस्थालाई मध्यनजर गरेर हामीले यो कार्यक्रमको आयोजना गरेका हौं।”
अमेरिकामा प्रत्येक वर्ष ५ जना वयस्कमध्ये १ जनालाई मानसिक स्वास्थ्य समस्या देखिने गरेको छ। यो सङ्ख्या ५ करोडभन्दा बढी हुन आउँछ। तर, धेरैजसो मानिसहरूले सहयोग पाउँदैनन्। अल्पसङ्ख्यक समुदायका मानिसहरूका लागि मानसिक स्वास्थ्य सेवा पाउन अझ गाह्रो छ।
हालसालैको एउटा अध्ययनअनुसार, अमेरिकामा रहेका २०% दक्षिण एसियालीहरू – अर्थात् ५ जनामध्ये १ जनालाई – आफ्नो जीवनकालमा डिप्रेसन वा एन्जाइटी भएको पाइएको छ। तर, तीमध्ये करिब ३४% ले मात्र सहयोग लिने गरेका छन्। यसको अर्थ आधाभन्दा बढी मानिसहरू चुपचाप पीडित छन्।
धेरै दक्षिण एसियाली संस्कृतिहरूमा मानसिक रोगबारे कुरा गरिँदैन। यसलाई लाजमर्दो वा कमजोरीको रूपमा हेरिन्छ। धेरै परिवारहरू अङ्ग्रेजीबाहेक अन्य भाषाहरू बोल्छन्, र आफ्नो भाषा र संस्कृति बुझ्ने थेरापिस्ट खोज्न गाह्रो हुन्छ। कतिपय मानिसहरूलाई त सहयोग उपलब्ध छ वा आफूले महसुस गरिरहेको कुराको उपचार सम्भव छ भन्नेबारे पनि जानकारी हुँदैन।