ग्रिनकार्ड त्यागको रेकर्ड फाइल गर्ने स्थान परिवर्तन, भिजिटर भिसाका लागि आई-४०७ प्रमाण आवश्यक


प्रकाशित मिति : असार ८, २०८२ आईतबार

समाचार सारांश
  • आई-४०७ फारम अब मिनियापोलिस ठेगानामा पठाउनुपर्नेछ; जुलाई १५ सम्म पुरानो इस्टर्न फारम सेन्टर मान्य
  • फारमले ग्रिनकार्ड त्याग प्रक्रिया सरल बनाउँछ र स्वेच्छिक त्याग सुनिश्चित गर्छ
  •  फारम बुझाउँदा सबै पृष्ठहरू, एलियन नम्बर, सही हस्ताक्षर र युएससीआईएसका कागजात मात्र समावेश गर्नुपर्ने

युएससीआईएसले अमेरिकी ग्रिनकार्ड त्यागको रेकर्ड फाइल गर्ने स्थान परिवर्तन गरेको छ। जुन १६, २०२५ देखि लागू हुनेगरी ग्रिनकार्ड त्यागका लागि आवश्यक आई- ४०७ फारम युएससीआईएसको इस्टर्न फारम सेन्टरको सट्टा मिनियापोलिसको ठेगानामा पठाउनुपर्नेछ। यद्यपि, जुलाई १५ सम्म इस्टर्न फारम सेन्टरमा पठाइएका फारमहरू स्वीकार गरिनेछ। जुलाई १६ पछि भने अनिवार्य रूपमा नयाँ ठेगानामा पठाउनुपर्ने युएससीआईएसले जनाएको छ।

आई ४०७ फारम ग्रिनकार्डको हैसियत त्याग गर्ने व्यक्तिको रेकर्ड राख्नका लागि सरल प्रक्रिया प्रदान गर्न डिजाइन गरिएको छ। यो फारमले ग्रिनकार्ड हैसियत त्याग गर्ने व्यक्तिलाई अध्यागमन न्यायाधीशसमक्ष सुनुवाइको अधिकारबारे जानकारी दिई जानाजानी, स्वेच्छाले र स्पष्ट रूपमा त्यो अधिकार त्याग गरेको सुनिश्चित गर्छ। यो फारम अमेरिकाबाहिर रहेका वा प्रवेश बिन्दुमा रहेका ग्रिनकार्डवाहकले ग्रिनकार्डको हैसियत त्याग गर्न प्रयोग गर्छन्।

साथै गैर आप्रवासीको रूपमा प्रवेश गरेका वा पहिले ग्रिनकार्ड त्या गरेपछि परोलमा प्रवेश गरेका व्यक्तिहरूले पनि आफ्नो पूर्व ग्रिनकार्ड हैसियत त्यागको रेकर्ड राख्न यो फारम प्रयोग गर्न सक्छन्। अत्यन्तै दुर्लभ अवस्थामा ए वा जी भिसाका लागि तत्काल आफ्नो एलपीआर हैसियत त्याग गरेको प्रमाण आवश्यक परेमा अमेरिकी दूतावास वा वाणिज्य दूतावास वा युएससीआईएसको अन्तर्राष्ट्रिय फिल्ड कार्यालयमा व्यक्तिगत रूपमा यो फारम बुझाउन सकिन्छ ।

यो फारम अमेरिकाको प्रवेश बिन्दुमा रहेका अमेरिकी भन्सार तथा सीमा सुरक्षा सीबीपी अधिकारीलाई पनि बुझाउन सकिन्छ । युएससीआईएस, डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अधिकारीहरू र अमेरिकी विदेश मन्त्रालयका कन्सुलर अधिकारीहरूले पनि व्यक्तिगत अन्तर्वार्ता वा पत्राचारमार्फत ग्रिनकार्डको हैसियत त्याग गर्ने व्यक्तिका तथ्यहरू रेकर्ड गर्न यो फारम प्रयोग गर्छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फारम भर्दा कालो मसीले टाइप गर्नुहोस् वा स्पष्ट रूपमा लेख्न युएससीआईएसले सुझाव दिएको छ । सबै प्रश्नहरूको पूर्ण र सटीक जवाफ दिन तथा कुनै प्रश्न आफूलाई लागू नभएका एनए टाइप गर्न वा लेख्न सुझाव दिइएको छ । प्रत्येक पृष्ठको माथिल्लो दायाँ कुनामा आफ्नो एलियन रजिस्ट्रेसन नम्बर उल्लेख गर्न सुझाव दिइएको छ । यो नम्बर सातदेखि नौ अंकको हुन सक्छ । यदि कार्डको एलियन नम्बर नौ अंकभन्दा कम भएमा पहिलो अंकअघि पर्याप्त शून्यहरू राखेर कुल नौ अंक बनाउन सुझाव दिइएको छ ।

फारम पूर्ण रूपमा भर्नुपर्छ, हस्ताक्षर गर्नुपर्छ र बुझाउनुपर्छ। फारम बुझाउँदा सबै पृष्ठहरू समावेश गर्नुपर्छ। यो फारममा हस्ताक्षर गरेपछि अध्यागमन न्यायाधीशसमक्ष सुनुवाइको अधिकार त्याग गरिएको मानिन्छ ।

फर्म भरेपछि केवल युएससीआईएसद्वारा जारी गरिएका कागजातहरू मात्र बुझाउन सुझाव दिइएको छ । राज्यद्वारा जारी गरिएको ड्राइभर लाइसेन्स वा सामाजिक सुरक्षा कार्ड जस्ता अन्य कागजातहरू बुझाउनु हुँदैन। यदि ग्रिनकार्डवाहक १४ वर्ष वा सोभन्दा कम उमेरको भएमा तिनका अभिभावक, संरक्षक अभिभावक वा विधिवत् नियुक्त कानुनी संरक्षकले आई ४०७ फारममा हस्ताक्षर गरी बुझाउन सहमति दिनुपर्छ।

सामान्यतया यदि अभिभावकले आफ्नो ग्रिनकार्ड हैसियत त्याग गर्छन् भने तिनको संरक्षकत्वमा रहेका नाबालिग बच्चाहरूको पनि ग्रिनकार्ड हैसियत स्वतः त्याग भएको मानिन्छ। तर यदि अभिभावक, संरक्षक अभिभावक वा कानुनी संरक्षकले नाबालिग बच्चाको तर्फबाट छुट्टै आई ४०७ फारम बुझाउन चाहन्छन् भने तिनले नाबालिगसँगको पारिवारिक सम्बन्ध, संरक्षकत्व वा कानुनी संरक्षकत्वको प्रमाण बुझाउनुपर्छ।

विगतको ग्रिनकार्डवाहक अमेरिकामा अस्थायी बसाइका लागि भिजिटरका रूपमा यात्रा गर्न चाहेमा आई ४०७ त्याग प्रक्रिया पूरा गरेपछि नियमित प्रक्रियामार्फत गैर आप्रवासी भिसाका लागि आवेदन दिनुपर्छ। गैर आप्रवासी भिसाको अन्तर्वार्ताका लागि जाँदा कतिपय दूतावासले युएससीआईएससँग आई ४०७ प्रक्रिया पूरा गरेको प्रमाण समेत माग्ने गरेका छन् । त्यसैले आई ४०७ त्याग प्रक्रिया पूरा नगरी भिजिटर वा अन्य गैर आप्रवासी भिसाको लागि अन्तर्वार्ता तालिका नबनाउन सुझाव दिइएको छ ।

आई ४०७ प्रक्रिया पूरा भएपछि अमेरिकाको गैर निवासीको रूपमा पूर्ववत् हैसियतमा फर्किने भएकाले अमेरिका भ्रमण गर्नका लागि आफ्नो नागरिकता भएको देशका नागरिकहरूका लागि लागू हुने भिसा आवश्यकताहरू पूरा गर्नुपर्छ। ग्रिनकार्ड त्याग गर्नाले भविष्यमा अमेरिकामा आप्रवासनका लागि आवेदन दिने तपाईंको क्षमतालाई असर गर्दैन। यद्यपि आवेदकले नयाँ प्रक्रिया सुरु गरी नियमित आवेदन प्रक्रियामार्फत आवेदन दिनुपर्नेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com