क्यालिफोर्नियामा कार विष्फोट, १ जनाले ज्यान गुमाए
प्रकाशित मिति : जेष्ठ ३, २०८२ शनिबार

अमेरिकाको क्यालिफोर्नियाको पाल्म स्प्रिङ्समा भएको कार विस्फोटमा एक व्यक्तिको मृत्यु भएको छ । नजिकैको एक प्रजनन क्लिनिकमा क्षति पुगेको छ।
शहरको डाउनटाउन क्षेत्रभन्दा करिब एक माइल टाढा रहेको अमेरिकन रिप्रोडक्टिभ सेन्टर्स नजिकै यो विस्फोट भएको थियो।
प्रजनन क्लिनिकले आफ्नो स्टाफ वा बिरामीलाई कुनै चोटपटक नपुगेको बताएको छ । तर एक व्यक्तिको मृत्यु भएको र केही घाइते भएको जानकारी दिएको छ।
पाल्म स्प्रिङ्स प्रहरी प्रमुख एन्डी मिल्सले विस्फोटलाई “जानबुझी गरिएको हिंसात्मक कार्य” भन्दै पुष्टि गरेका छन्। उनले विस्फोटका कारण केही भवनहरू गम्भीर रूपमा क्षतिग्रस्त भएका बताएका छन्। हालसम्म मृतकको पहिचान खुलाइएको छैन। घटनाबारे अझै विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।
क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसमले राज्य सरकारले संघीय र स्थानीय निकायहरूसँग मिलेर घटनाको अनुसन्धान भइरहेको बताएको छ ।
अमेरिकी महान्यायाधिवक्ता प्याम बन्डीले पनि घटनाको जानकारी लिइसकेको जनाएकी छन्। अमेरिकन रिप्रोडक्टिभ सेन्टर्सका अनुसार, विस्फोट उनीहरूको भवननजिकैको पार्किङ क्षेत्रमा भएको थियो।
क्लिनिकले आफ्नो प्रयोगशाला, भ्रूण तथा अण्डाको सुरक्षाबारे जानकारी दिँदै सबै सामग्री ‘पूर्ण सुरक्षित र नोक्सानरहित’ रहेको उल्लेख गरेको छ।
पाल्म स्प्रिङ्स प्रहरीका लेफ्टिनेन्ट माइक विल्लेगसले पत्रकारहरूलाई जानकारी दिँदै यो घटना ूजानबुझी गरिएकोू देखिएको बताएका छन्। घटनाको अनुसन्धान सक्रिय रूपमा जारी रहेको पनि उनले बताएका छन्।
अमेरिकाको केन्द्रीय जिल्ला का महान्यायाधिवक्ता बिल एसेलीले एक्स मा पोष्ट गर्दै न्याय मन्त्रालय विस्फोटबारे जानकार रहेको र एफबीआई ले अनुसन्धान गरिरहेको बताएका छन्।
क्लिनिकको वेबसाइटअनुसार अमेरिकन रिप्रोडक्टिभ सेन्टर्स कोआचेला भ्याली क्षेत्रको पहिलो पूर्ण सेवायुक्त प्रजनन केन्द्र र इन भिट्रो फर्टिलाइजेशन प्रयोगशाला हो।
यसले बाँझोपन मूल्यांकन, आइभिएफ, अण्डा दान र फ्रिजिङ, समलिंगी जोडीहरूका लागि प्रजनन सहयोग र सरोगेसीजस्ता सेवाहरू प्रदान गर्दछ।