पाकिस्तानमा निर्वाचनको प्रतिवेदन लेख्ने सँस्थाका प्रमुखको घर सिल
प्रकाशित मिति : फाल्गुन १०, २०८१ शनिबार

गत वर्षको राष्ट्रिय निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाउँदै प्रतिवेदन लेख्ने एक गैरसरकारी सँस्थाका प्रमुखको घर पाकिस्तानी अधिकारीहरूले सिल गरेका छन ।
सन् २०२४ फेब्रुअरीको निर्वाचन देशका सबैभन्दा लोकप्रिय राजनीतिज्ञ इमरान खान जेलमा रहेको र चुनाव लड्न प्रतिबन्धित भएको अवस्थामा भएको थियो ।
चुनावमा शक्तिशाली सेनासँग नजिक मानिने दलहरूको गठबन्धनले सत्ता हासिल गरेको थियो ।
यस महिना गैरसरकारी सँस्था पट्टनले निर्वाचनबारे प्रकाशित गरेको प्रतिवेदनमा ‘अभूतपूर्व रूपमा धाँधली भएको’ र ‘मतदान धाँधली, जालसाजी र हेरफेर’ भएको बताएको थियो ।
हाल लन्डनमा रहेका पट्टनका प्रमुख सरवर बारीले राजधानी इस्लामाबादमा रहेको आफ्नो घर शुक्रबार राति सिल गरिएको बताएका छन ।
निवासलाई सिल गर्ने न्यायाधीशको आदेशमा पट्टनको एनजिओको रूपमा दर्ता २०१९ मा रद्द गरिएको र यो गैरकानूनी रूपमा सञ्चालन भइरहेको उल्लेख गरिएको थियो ।
पट्टनले सन् २०२४ फेब्रुअरी ८ मा भएको राष्ट्रिय निर्वाचनको सार्वजनिक छानबिनको माग गरेको छ । मतदानअघि पूर्व प्रधानमन्त्री खानको पार्टीलाई व्यापक दमनद्वारा लक्षित गरिएको थियो ।
यस क्रममा धेरै वरिष्ठ नेताहरू पक्राउ परेका थिए र उनीहरूको सडक अभियान अवरुद्ध भएको थियो । मतदानको केही दिनअघि खानलाई भ्रष्टाचार, राजद्रोह र अवैध विवाह लगायतका तीनवटा अपराधमा दोषी ठहर गरिएको थियो ।
मतदानको दिन मोबाइल इन्टरनेट बन्द गरिएको थियो । यसलाई इस्लामाबादले सुरक्षा चिन्ताहरू समाधान गर्न आवश्यक भएको बताएको थियो ।
सामाजिक सञ्जाल प्लेटफर्म एक्स मतदानपछि धाँधलीका आरोपहरू सार्वजनिक गर्न प्रयोग गरिएपछि प्रतिबन्धित छ ।