ट्रम्पले टिकटकलाई ९० दिनको समयसीमा दिने संभावना
प्रकाशित मिति : माघ ५, २०८१ शनिबार

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई ९० दिनको समयसीमा दिने बताएका छन । सोमबार अमेरिकाको ४७ औ राष्ट्रपतिको रुपमा ट्रम्पले सपथ ग्रहण गर्दैछन ।
अमेरिकी सर्वोच्च अदालतले टिकटकको पक्षमा फैसला नगरेपछि जनवरी १९ देखि अमेरिकामा टिकटक प्रयोगमा प्रतिवन्ध लाग्दैछ ।
तर आफुसंग भएको अधिकार प्रयोग गरेर टिकटकलाई कानुनी प्रकृया पुरागर्न समयसीमा दिन तयार रहेको ट्रम्पले बताएका हुन । सपथ ग्रहण लगत्तै ट्रम्पले यो घोषणा गर्ने अपेक्षा गरिएको छ ।
बाइडेन प्रशासनले प्रतिबन्ध लागू नगर्ने स्पष्टता नदिएमा आइतबारदेखि प्लेटफर्म बन्द हुने टिकटकले चेतावनी दिएको थियो ।
शुक्रबार सर्वोच्च अदालतले चिनियाँ कम्पनी बाइटडान्स ले १९ जनवरीभित्र टिकटक बिक्री नगरेमा अमेरिका भित्र एपमाथि प्रतिबन्ध लगाउने कानुनलाई मान्यता दिएको थियो । तर बाइटडान्सले एप बिक्री गर्न भने अस्वीकार गरेको छ ।
तर ह्वाइट हाउसका प्रेस सचिव करिन जीन पियरेले शनिबार टिकटकले दिएको चेतावनीलाई चालबाजीको रूपमा टिप्पणी गरे ।
ट्रम्पले शुक्रबार चीनका राष्ट्रपति सी जिनपिङसँग कुराकानी गरेको र टिकटक लगायतका मुद्दाहरूमा छलफल गरेको बताए ।
अमेरिकी राष्ट्रिय सुरक्षा अधिकारीहरूले टिकटकमा डाटाहरू चिनियाँ गुप्तचरहरूले अमेरिकाका संघीय कर्मचारी र ठेकेदारहरूलाई ट्र्याक गर्न प्रयोग गर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । टिकटकले भने यो आरोपलाई अस्वीकार गरेको छ ।
अमेरिकामा टिकटकका १७ करोड प्रयोगकर्ता छन् । यसले अमेरिकी राजनीतिक अभियानहरूलाई युवा मतदातासम्म पुग्न महत्त्वपूर्ण माध्यम उपलब्ध गराएको छ ।
सन् २०२० मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विवादित सीमा क्षेत्रमा चिनियाँ सेनासँगको घातक झडपपछि टिकटक सहितका चिनियाँ एपहरू बन्द गराएका थिए ।