अमेरिका आउँदै हुनुहुन्छ? अमेरिकाका ४ फरक मापन प्रणाली थाहा पाउनुहोस्


प्रकाशित मिति : जेष्ठ १५, २०८१ मंगलबार

assorted tape measures

पहिलोपटक अमेरिका आउँदै हुनुहुन्छ भने तपाईलाई अमेरिकाले फरक तरिकाको मापन प्रणालीबारे जानकारी नहुनसक्छ । दुरी, लम्बाई, तौल, मात्रा, तापक्रम लगायतका सन्दर्भमा अमेरिकाको मापन प्रणाली नेपाल लगायतका देशको तुलनामा फरक रहेको छ । जसका कारण पहिलोपटक अमेरिका आउनेहरुलाई यसबारे अन्यौल हुनसक्छ ।

नेपालमा कुनै पनि बस्तुको तौल किलोग्राममा मापन गरिन्छ । व्यक्ति वा सामानको तौल किलोग्राममा मापन गरिन्छ । ग्रोसरी स्टोरमा सामान किन्न जाँदा उक्त सामान किलोको हिसाबले किन्ने गरिन्छ । तर अमेरिकामा किलोग्रामको हिसाबले कारोबार हुँदैन । अमेरिकामा किलोग्रामको साटो पाउण्डमा मापन गरिन्छ भने ग्रामको साटो आउन्समा मापन गरिन्छ । एक पाउण्डमा १६ आउन्स हुन्छ । यदि पाउण्डलाई ग्राममा रुपान्तरण गर्ने हो भने एक पाउण्ड बराबर ४५३ ग्रामजति हुन्छ ।

clear erlenmeyer flask on the table

त्यस्तै अमेरिकामा कुनै पनि लम्बाई माइल, यार्ड, फिट वा इन्चमा नापिन्छ । कुनै दुरीको मापन गर्नुपरेमा पनि माइलमा नापिन्छ । तर नेपाल लगायतका देशमा यसको मापन प्राय किलोमिटर, मिटर, सेन्टिमिटर र मिलिमिटरमा गरिन्छ । गाडी चलाउँदा प्रतिघण्टा माइलको हिसाबमा चलाइन्छ भने हावाको गतिको मापन पनि प्रतिघण्टा माइलको हिसाबले नै हुन्छ । एक माइल बराबर लगभग १ दशमलव ६ किलोमिटर हुन्छ ।

त्यस्तै अमेरिकामा कुनै तरल पदार्थको मात्रा मापन गर्दा ग्यालेन, पाइन्ट, कप, आउन्समा मापन गरिन्छ । उदाहरणका लागि गाडीमा पेट्रोल वा डिजेल हाल्नु परेमा लिटरको हिसाबमा नभई ग्यालेनको हिसाबमा हाल्ने गरिन्छ । ग्रोसरी स्टोरमा पानी, दुध वा जुस किन्नुपरेमा पनि ग्यालेन वा आउन्सको हिसाबमा किन्ने गरिन्छ । १ ग्यालेन बराबर लगभग ३ दशमलव ७ लिटर हुन्छ । १ पाइन्टमा ४७३ मिलिलिटर हुन्छ भने १ कपमा २३६ मिलिलिटर हुन्छ । १ आउन्समा २९ मिलिलिटर हुन्छ ।

त्यस्तै तापक्रम पनि अमेरिकामा फरेनहाइटमा मापन गरिन्छ । नेपाल लगायतका मुलुकमा तापक्रम सेल्सियसमा मापन गर्ने प्रचलन रहेकाले पहिलोपटक अमेरिका आउँदा तापक्रमका सन्दर्भमा पनि अन्यौल हुनसक्छ । मौषम हेर्दा तापक्रम फरेनहाइटमा मापन गरिने भएकाले कत्तिको गर्मी वा जाडो हो भन्ने थाहा पाउन अन्यौल हुनसक्छ । त्यस्तै शरीरको तापक्रम पनि फरेनहाइटमा मापन गरिन्छ । जसले गर्दा ज्वरो आएको हो कि होइन भन्ने थाहा पाउन अन्यौल हुनसक्छ । १ सय डिग्री फरेनहाइट बराबर लगभग ३७ दशमलव ७ डिग्री सेल्सियस हुन्छ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com