सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति


प्रकाशित मिति : जेष्ठ ९, २०८१ बुधबार

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राखिने भएको छ । उहाँलाई हिरासतमै राखेर अनुसन्धान गर्न धनुषा जिल्ला अदालतले अनुमति दिएपछि ३ दिन हिरासतमै बस्नुपर्ने भएको हो ।

जिल्ला अदालतका श्रेस्तेदार कैलाश प्रसाद भट्टराईका अनुसार जिल्ला न्यायाधीश चुरामन खड्काले बुधबार दुवै पक्षको बहस सुनेपछि ३ दिन थुनामा राख्न अनुमति दिनुभएको हो । प्रहरीले भने जिल्ला सरकारी वकिल कार्यालयमार्फत सिरोहियालाई ५ दिन हिरासतमा राख्न माग गरेको थियो ।

सिरोहियालाई मंगलबार प्रहरीले काठमाडौँबाट पक्राउ गरी धनुषा लगेको हो । उहाँलाई दोहोरो नागरिकता लिएको आरोपमा परेको उजुरीमाथि प्रहरीले आवश्यक कारबाही प्रक्रिया अघि बढाएको हो ।

सोही क्रममा धनुषा प्रहरीले उहाँबिरुद्ध जिल्ला अदालतबाट पक्राउ पूर्जी लिएको थियो । यसैबिच नेपाल बार एशोसिएसनले प्रतिशोध साँध्ने उद्देश्यले अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनसायबाट हुने राज्य शक्तिको दुरुपयोग किमार्थ स्वीकार्य नहुने बताएको छ ।

कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गरेकोमा बारले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रेस स्वतन्त्रता र मानवअधिकारको संरक्षण र सम्बद्र्धनमा एशोसिएसनले सदैव पहरेदारी र संरक्षण गर्दै आएको स्मरण गराएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com