के हो हिमोफिलिया रोग ? उपचार कसरी संभव छ


प्रकाशित मिति : बैशाख ५, २०८१ बुधबार

हिमोफिलियाका बिरामी उपचारभन्दा बाहिर रहेको तथ्याङ्कले देखाएको छ । हिमोफिलिया रोग प्रायः जसो पुरुषलाई बढी हुने गरेको चिकित्सकहरुले बताएका छन् ।

वीर अस्पतालका रगत रोग विशेषज्ञ डा निरजकुमार सिंहले हिमोफिलिया एक्स क्रोमोजोममा असर गर्ने रोग भएकाले पुरुषमा बढी हुने गरेको बताउनुभयो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार २०७८ को जनगणनामा चार हजार नौ सय ३७ जना हिमोफिलियाका बिरामी रहेका छन् । तीमध्ये आठ सय ६५ मात्र नियमित उपचारमा रहेका हिमोफिलिया सोसाइटीका अध्यक्ष मुकुन्द घिमिरेले जानकारी दिनुभयो । रगत जमाउने आवश्यक तत्वको कमीका कारण लामो समयसम्म रक्तस्राव भइरहेन अवस्थालाई हिमोफिलिया भनिन्छ ।

हिमोफिलिया एक वंशाणुगत समस्या हो भनेर पनि चिनिन्छ । मानव शरीरमा हुने रगतको १३ वटा तत्वमध्ये कुनै एउटा तत्वको कमी भएमा हिमोफिलिया हुन्छ ।

समयमै पहिचान हुन नसक्दा हिमोफिलिया भएका व्यक्तिहरुले दुःख पाएको, हेरचाह र उपचारमा समस्या हुने गरेको डा सिंहको भनाइ छ । हिमोफिलियाका बिरामी चोटपटकबाट बच्नुपर्ने भन्दै रक्तस्राव भएको खण्डमा औषधि लगाई आराम गर्नुपर्ने उहाँले बताउनुभयो ।

नेपालमा हिमोफिलियाको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरमा गर्ने गरिएको छ ।

हिमोफिलियाका कारणले जीउमा नीलडाम देखिने, जोर्नी तथा मांसपेशीहरु सुन्निने र दुख्ने गर्दछ । यस्ता व्यक्तिमा चोटपटक लागेर रगत बगेमा लामो समयसम्म रगत नरोकिने हुन्छ । यसको उपचारका लागि रगत जमाउने प्रोटिन दिनुपर्ने चिकित्सकको भनाइ छ ।

महिलाले हिमोफिलियालाई वाहकका रुपमा लिने गर्दछन् । रोगको लक्षण नदेखिने र रोग बोक्नेलाई वाहक भन्ने गरिन्छ । वाहक महिला भन्नाले ति महिलाको आफन्त कोहीमा हिमोफिलिया भएपछि ती महिलामा पनि यो रोग हुन्छ।

महिला पनि कहिलेकाहीँ हिमोफिलियाका रोगी हुन सक्ने भन्दै धेरै जसो रोगको वाहकका रुपमा मात्र हुने गर्दछन । ती वाहक महिलाबाट जन्मिने बच्चामा भने हिमोफिलिया सार्ने गर्दछन् ।

यो वंशाणुगत र कोषमा उत्परिवर्तन भएर पनि हुन्छ । दुई तिहाई वंशाणुगतबाट हुन्छ भने एक तिहाइ उत्परिवर्तनबाट हुन्छ भन्ने विश्वका विभिन्न देशमा गरिएका अध्ययनहरुले देखाएको छ ।

एकपटक रक्तस्राव भएपछि यसको उपचार ३० देखि ३५ हजार पर्ने भन्दै रक्तस्राव भएपछि बिरामीलाई दिनदिनै वा हप्तामा दुईपटकसम्म उपचार गर्नुपर्ने हुन्छ ।

हाम्रोजस्तो आर्थिक अवस्था कम भएको मुलुकका बिरामीले क्लटिङ फ्याक्टर किन्न नसक्ने अवस्था छ”, डा सिंहले भन्नुभयो, “एक युनिटको सबभन्दा कम मूल्य भनेको २५ हो ।

एकजना बिरामीलाई एकपटकमा रक्तस्राव भएपछि एकपटकमा एक हजारदेखि एक हजार पाँच युनिट औषधि दिनुपर्ने हुन्छ ।” उहाँले उपचार महङ्गो भएकाले सर्वसाधरण बिरामीको उपचारमा पहुँच नभएको बताउनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com