ग्रिनकार्ड र भिसा लगायतमा अमेरिकाले अदालतबाट जारी नेपालीका विवाहका कागजात नमान्ने


प्रकाशित मिति : बैशाख २, २०८१ आईतबार

हालै परिवर्तन गरिएको नियम अनुशार अमेरिकाले ग्रिनकार्ड र आप्रवासी भिसा लगायत अन्य कुनै पनि अध्यागमन प्रयोजनका लागि नेपालीको अदालतको विवाहका कागजात स्वीकार गर्न छाडेको छ । गत नोभेम्बर २७ पछि अमेरिकी विदेश मन्त्रालय र युएससीआईएसले नेपालीका सन्दर्भमा विवाह दर्ताको वडाको कागजातमात्र स्वीकार गर्न सुरु गरेको हो ।

यस अगाडि वडा कार्यालय, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाले जारी गरेका कागजातसमेत मान्दै आएकोमा अहिले वडाले जारी गरेका कागजातमात्र स्वीकार गरिन्छ । यसअगाडि सामाजिक विवाहको हकमा नगरपालिका कार्यालयका वडा अधिकृतले जारी गर्ने विवाहको प्रमाणपत्र र सिभिल विवाहको मामलामा जिल्ला अदालतले जारी गर्ने विवाह प्रमाणपत्रलाई मान्यता दिइदै आएकोमा अब जिल्ला अदालतको कागजातलाई मान्यता दिइने छैन ।

विवाह सम्पन्न भएको ३५ दिनभित्र दर्ता भए निशुल्क र ३५ दिनपछि भएमा ५० रुपैयाँ शुल्क लिने गरिएपनि कतिपय वडा कार्यालयले भने १ हजार रुपैयाँसम्म अतिरिक्त शुल्क लिने गरेका छन् । अमेरिकी सरकारमा पेश गरिने कागजातको नाम विवाह दर्ता प्रमाणपत्र हुनुपर्छ । यदि प्रमाणपत्र अगस्त २०१७ अघि जारी गरिएको थियो र विवाह अदालतमा भएको थियो भने कागजातलाई अदालत विवाह प्रमाणपत्र पनि भनिन्छ ।

२०१७ देखि अदालतले दिने विवाह कागजातलाई विवाहको लागि सहमति पत्र भनिन्छ । उक्तपत्रपछि विवाह दर्ताको लागि वडा कार्यालयमा जानुपर्छ र विवाह दर्ता प्रमाणपत्र नामको अन्तिम कागजात वडा नै जारी गर्छ । त्यसैले यदि तपाईले सन् २०१७ पछि विवाह गर्नुभएको हो भने तपाईले अमेरिकी सरकारको युएससीआईएस, अमेरिकी दूतावास लगायतका निकायमा पेश गर्ने कागजात वडाबाट जारी विवाह दर्ता प्रमाणपत्रमात्र हुनेछ ।

अगस्ट २०१७ अघि विवाहहरू अदालतमा दर्ता गर्न सकिने प्रावधान थियो । प्रथागत, परम्परागत वा धार्मिक विवाह समारोहहरू नगरपालिका कार्यालय वा वडा कार्यालयमामा दर्ता गर्न सकिने प्रावधान थियो । अगस्ट २०१७ देखि विवाहहरू वडा कार्यालयमा मात्र दर्ता हुन्छन् । त्यसैले अगस्ट २०१७ पछि विवाह प्रमाणपत्रहरू सम्बन्धित वडा कार्यालयले मात्र बनाउन सक्छ, जुन कार्यालयले सुरुमा विवाह दर्ता गरेको थियो।

पहिले सामाजिक विवाह दर्ताको मामलामा दम्पतीहरूले विवाहपछि आफ्नो पालिकामा गएर आवेदन दिन सक्ने र उनीहरूले आफ्नो आवेदन अनलाइनबाट पनि पेश गर्नसक्ने तथा कोर्ट म्यारिजका सन्दर्भमा दम्पत्तिले नेपालमा भएमा सम्बन्धित जिल्ला अदालतमा निवेदन दिनुपर्ने र नेपाल बाहिर भएमा नेपाली दूतावास वा महावाणिज्य दूतावासमार्फत निवेदन दिनसक्ने प्रावधान थियो ।

अगस्ट २०१७ अघि जारी गरिएका विवाह प्रमाणपत्रहरूका सन्दर्भमा टाइप गरिएका, हस्तलिखित, वा मिश्रित विवाह प्रमाणपत्रहरूका धेरै मान्य ढाँचाहरू थिए, जसमा सामान्यतया कालो रबरको छाप वा जारी गर्ने अधिकारीको छाप लगाइएको हुन्थ्यो । केही विवाह प्रमाणपत्रहरू अंग्रेजीमा, केही नेपालीमा र केही दुवै भाषामा थिए। समान प्रकारको विशेष छाप, रंग, वा ढाँचा अवस्थित थिएन। नेपाली विवाह प्रमाणपत्रको आकार पनि फरक फरक थियो।

तर अगस्ट २०१७ पछि जारी गरिएका विवाह प्रमाणपत्र वडा कार्यालयबाटै जारी गरिएको हुनुपर्छ । विवाह २०१७ को अगस्त अगाडि भएको भएतापनि पमाणपत्र २०१७ को अगस्तपछिको मितिमा छ भने वडा कार्यालयबाटै जारी गरिएको हुनुपर्छ । साथै वडा कार्यालयकै अधिकारीले छाप लगाएको र हस्ताक्षर गरेको हुनुपर्छ । कागजात पोर्ट्रेट आकारको हुनुपर्छ भने माथिको बायाँ कुनामा रातो राष्ट्रिय छाप र माथिल्लो दायाँ कुनामा क्षेत्रीय रातो छाप हुनुपर्छ । तल दायाँतिर कालो मसीको छाप र तल बायाँतिर स्थानीय अधिकारीको हस्ताक्षर हुनुपर्छ । प्रमाणपत्रमा दुलहा र दुलहीको फोटो पनि हुनुपर्छ ।

अगस्ट २०१७ को मिति अगाडि जारी गरिएका विवाह प्रमाणपत्रहरू वडा कार्यालय, गाउँपालिका कार्यालय, नगरपालिका कार्यालय वा जिल्ला अदालतबाट जारी गर्न सकिने प्रावधान भएकाले उक्त मितिभन्दा अगाडिको मितिमा जारी भएका कागजातका सन्दर्भमा भने अमेरिकी सरकारले वडा कार्यालय, गाउँपालिका कार्यालय, नगरपालिका कार्यालय वा जिल्ला अदालतबाट जारी कागजातसमेत स्वीकार गर्छ ।

दम्पतीले विवाहदर्ता प्रमाणपत्रका लागि वडा कार्यालयमा निवेदन र प्रमाण पेश गर्नुपर्छ । उनीहरूको विवाह समारोह सम्पन्न प्रमाणका रुपमा जिल्ला अदालत वा नेपाली दूतावासद्वारा जारी गरिएको विवाह सम्झौतापत्र समेत वडामा पेश गर्न सकिन्छ । धार्मिक वा सांस्कृतिक विवाह समारोहको प्रमाण र साक्षी आवश्यक हुन सक्छ। त्यस्तै बाबुआमा दुबैको नाम लेखिएको बच्चाको जन्मदर्ता प्रमाणपत्र पनि पेश गर्न सकिन्छ । दुलहा र दुलही दुवै २० वर्ष वा माथिको उमेरको हुनुपर्छ । कुनै अपाङ्गता वा रोगहरू भएमो त्यसको खुलासा गरेको हुनुपर्छ। तिनीहरू एकअर्कासँग नाता पर्न हुँदैन त्यसैले तिनीहरूको पारिवारिक वंशको बारेमा जानकारी प्रस्तुत गर्नुपर्छ।

यदि दुलहा वा दुलहीमध्ये एकजना नेपाली नागरिक नभएको खण्डमा जिल्ला अदालतमा विवाह गरिनुपर्छ । जिल्ला अदालतमा विवाह गर्नु अघि विदेशी दुलहा वा दुलहीले विवाह गर्न योग्यताको शपथ पत्र वा नो अब्जेक्सन लेटर प्राप्त गरेर विवाह गर्नको लागि आफ्नो योग्यता प्रमाणित गर्न आवश्यक हुनेछ। अमेरिकी नागरिकका सन्दर्भमा विवाहको लागि योग्यताको शपथ पत्र काठमाण्डौस्थित अमेरिकी दूतावासमा नोटरी शुल्क तिरेर उपलब्ध छ। जिल्ला अदालतमा पनि दुबै पक्षहरू विवाह गर्न स्वतन्त्र छन् भनी प्रमाणित गर्न साक्षीहरूको आवश्यकता हुन सक्छ। बेहुला र बेहुली दुवै १५ दिनसम्म जिल्लाभित्रै बसेको हुनुपर्नेछ ।

वडा कार्यालयले दुलहा र दुलहीले विवाह गरेको कागजातमा सन्तुष्ट भएमा र कुनै कानूनी बाधा नभएको अवस्थामा विवाह दर्ता गरेर विवाह प्रमाणपत्र जारी गर्नेछ। वडा कार्यालयसँग विवाहको प्रभावकारी मितिमा वा दम्पतीको पहिले नै बच्चा छ भने बच्चाको जन्ममा ब्याक डेट गर्ने अधिकार छ। विवाह दर्ता प्रमाणपत्रले विवाह दर्ता भएको मिति र विवाह भएको मानिने मिति दुवै देखाउनेछ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com