शाखा अधिकृतको २७३ पदका लागि ९ हजार बढिले प्रतिश्पर्धा गर्ने


प्रकाशित मिति : फाल्गुन १५, २०८० मंगलबार

शाखा अधिकृतका २७३ पदका लागि ९ हजार जनाले प्रतिश्पर्धा गर्ने भएका छन । २१ हजार २७ जनाले पहिलो चरणमा सहभागिता जनाएकोमा ९ हजार २९३ जना दोश्रो चरणका लागि छनौट भएका हुन ।

राजपत्राकिंत तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरहको प्रारम्भिक चरणको परीक्षाफल प्रकाशित गरेपछि यो तथ्याङक बाहिर आएको हो । गत माघ २७ गते लोकसेवा आयोगले पहिलो चरणको परीक्षा लिएको थियो ।

छनोट भएका परीक्षार्थीले साविककै प्रवेश पत्र प्रयोग गरेर दोस्रो चरणको परीक्षामा सहभागी हुन पाउनेछन् । आयोगको धनकुटा, जलेश्वर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र दिपायल कार्यालयले तोक्ने परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुने सूचनामा उल्लेख छ ।

खुला तथा समावेशी प्रतियोगिताबाट २७३ जना अधिकृत पदपूर्तिका लागि लोक सेवा आयोगले गत मंसिर २७ गते विज्ञापन खुलाएको थियो । सोही विज्ञापनको प्रारम्भिक चरणको परीक्षा माघ २७ गते शनिबार भएको थियो ।

यो परीक्षामा फाराम भरेकामध्ये झण्डै ८९ प्रतिशत परीक्षार्थी सहभागी भएका थिए । लोकसेवा आयोगले परीक्षार्थीको यस्तो उपस्थितिलाई ‘अभूतपूर्व’ भनेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com