दादुरा रुबेला बिरुद्धको खोप अभियान सुरु हुदै , ५७ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य


प्रकाशित मिति : फाल्गुन १२, २०८० शनिबार

दादुरा–रुबेलाविरुद्धको खोप अभियान आइतबार देखि सुरु हुदैछ । सरकारले देशका ७५ वटा जिल्लामा शुरु गर्न लागेको हो । आउँदो चैत ७ गतेसम्म खोप अभियान सञ्चालन हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अभियानमा ५७ लाख ४२ हजार ९९३ जनालाई खोप प्रदान गर्ने लक्ष्य रहेको छ ।

तराईका २१ जिल्ला र काठमाण्डौ उपत्यकाका तीन गरी २४ जिल्लामा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई र बाँकी जिल्लामा नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । भूकम्प प्रभावित दुई जिल्ला जाजरकोट र रुकुमपश्चिममा यसअघि नै खोप लगाइसकेको छ ।

२०७९ सालको मङ्सिर ३ गतेदेखि गएको पुस १५ सम्मको तथ्याङ्क अनुसार नेपालमा १ हजार ३४९ जनामा दादुरा सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमितमध्ये एक जनाको ज्यानसमेत गएको थियो । गत वर्ष १९ जिल्लामा यो महामारीका रूपमा फैलिएको थियो। नेपालमा बितेको ३५ वर्षदेखि दादुरा र ११ वर्षदेखि दादुरा रुबेला खोप अभियान सञ्चालन हुँदै आइरहेको छ ।

सरकारले सन् २०१९ मै दादुरा–रुबेला रोग नियन्त्रण गर्ने लक्ष्य राखेको थियो । त्यो लक्ष्य प्राप्त नभएपछि पुनः २०२३ सम्ममा नियन्त्रण गर्ने अर्को लक्ष्य रोखेको थियो । सन् २०२३ को लक्ष्यसमेत पुरा नभएपछि पुनः सन् २०२६ सम्ममा निवारण गर्ने अर्को लक्ष्य सरकारले निर्धारण गरेको छ । जसलाई सफल बनाउन दादुरा रुबेला बिरुद्धको खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com