पाकिस्तानको चुनाव : जेलमा रहेका खान समर्थक उम्मेदवार सबैभन्दा धेरै स्थानमा विजयी , गठबन्धन सरकार बन्ने


प्रकाशित मिति : माघ २७, २०८० शनिबार

wiki

पाकिस्तानमा सम्पन्न भएको आमचुनावको नतिजा सार्बजनिक भइरहँदा कुनैपनि दलले सरकार गठनका लागि आवश्यक बहुमत संख्या प्राप्त गर्न नसकेको देखिएको छ । २ सय ६६ सिटमध्ये दुई सय ५३ सिटको नतिजा सार्वजनिक हुँदा कुनै पनि दलले सरकार गठनका लागि आवश्यक बहुमत ल्याउन नसक्दा अब गठबन्धन सरकारको सम्भावना बढेको छ । त्यहाँ गएको बिहीवार चुनाव भएको थियो ।

चुनावको औपचारिक नतिजा घोषणा हुन बाँकी नै छ । पाकिस्तानमा ३ सय ३६ सदस्यीय संसद् छ । तीमध्ये २ सय ६६ सिटमा प्रत्यक्ष चुनाव हुन्छ । जसअनुसार सरकार गठनका लागि कम्तीमा एक सय ३४ सांसदको समर्थन आवश्यक छ । समानुपातिक प्रणालीबाट चुनिने ७० सिटमध्ये भने ६० सिट महिला र १० सिट गैरमुस्लिमका लागि छुट्याइएको छ ।

पूर्वप्रधानमन्त्री इमरान खानको दल पाकिस्तान तेहरिक–ए इस्लाम (पीटीआई) समर्थित स्वतन्त्र उम्मेदवार सबैभन्दा धेरै एक सय सिटमा विजयी भएका छन् । पूर्वप्रधानमन्त्री नवाज सरिफको पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन ) दोस्रो र पूर्व विदेशमन्त्री विलावल भुट्टो जर्दारीको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) तेस्रो भएका छन् । पीएमएल–एनले ७१ र पीपीपीले ५४ सिट जितेको छ । अन्य दल २८ सिटमा विजयी भए ।

पूर्वप्रधानमन्त्री खानले चुनावी नतिजा आफ्नो पक्षमा आएको दाबी गर्नुभएको छ । तर उहाँ अहिले जेलमा हुनुहुन्छ । निर्वाचन आयोगले चुनावअघि नै खानको दललाई प्रतिबन्ध लगाएको थियो । त्यसैले पीटीआईका नेताहरू स्वतन्त्र हैसियतमा चुनावमा भाग लिएका हुन् ।

पूर्वप्रधानमन्त्री सरिफले पनि चुनावमा आफ्नो दल विजयी भएको दाबीसहित सरकार गठनका लागि अन्य दललाई गठबन्धनमा सहभागी हुन आग्रह गर्नुभएको छ । शरीफका भाइ शहबाज शरीफले कुनै पनि दलले स्पष्ट बहुमत नपाएको अवस्थामा गठबन्धन सरकार बनाउन पीपीपीका बिलावल भुट्टो जर्दारीसँग हात मिलाएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । केही विश्लेषकले पछिल्लो चुनाव विश्वसनीय हुन नसकेको टिप्पणी गरेका बीबीसीले जनाएको छ । यस्तै बेलायत र अमेरिकाले पनि हस्तक्षेप वा धाँधलीको दाबीमा अनुसन्धान हुनुपर्ने बताएका छन् ।

चुनावी नतिजापछि पाकिस्तानी सेना प्रमुख जर्नेल असिम मुनिरले देशलाई ध्रुवीकरणको राजनीतिबाट बाहिर निकाल्न आह्वान गर्नुभएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । लोकतन्त्र र देशको हितका लागि एउटा स्थिर नेतृत्व आवश्यक रहेको उहाँको भनाइ छ । एजेन्सीहरु

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com