पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको मतपत्र योग्यता सम्बन्धी मुद्दाको बहसमा के भयो सर्वोच्चमा?


प्रकाशित मिति : माघ २५, २०८० बिहीबार

सर्वोच्च अदालतले आज पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको मतपत्र योग्यता सम्बन्धी मुद्दामा बहस गरेको छ । कोलोराडो राज्यको सर्वोच्च अदालतले संविधानको १४ औं संसोधनमा गरिएको प्रावधान उल्लेख गर्दै जनवरी ६ मा क्यापिटल दंगामा ट्रम्पको भूमिकाको कारण कोलोराडोको मतपत्रबाट हटाउने फैसला गरेपछि कोलोराडो मतपत्रमा ट्रम्पलाई पुनर्स्थापित गर्ने कि नगर्ने भन्नेबारेको मुद्दा सर्वोच्चमा पुगेको हो ।

कोलोराडो केन्द्रबिन्दुमा रहेपनि सर्वोच्चको निर्णयले ट्रम्पलाई मतपत्रबाट हटाउन चाहने अन्य राज्यहरूमा पनि ठूलो असर पार्न सक्ने भएकाले यो मुद्दाप्रति सबैको ध्यानाकर्षण भएको छ । यदि सर्वोच्चले ट्रम्पको पक्षमा फैसला गरेको खण्डमा ट्रम्पलाई मतपत्रबाट हटाउन चाहने अन्य राज्यहरु पछि हट्नुपर्नेछ । बिहिबारको सर्वोच्चको बहसले न्यायाधिसहरुले ट्रम्पको पक्षमा निर्णय गर्ने संकेत देखिएको छ । किनभने बिहिबारको बहसमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका पक्षमा ९ मध्ये बहुसंख्यक न्यायाधिसहरु देखिएका छन् ।

दुई घण्टाभन्दा बढीको बहसको क्रममा प्रधान न्यायाधीश जोन रोबर्ट्स र सर्वोच्च अदालतका अन्य रूढिवादी न्यायाधीशहरूले ट्रम्पका प्रतिद्वन्द्वीहरूको प्रतिनिधित्व गर्ने वकिलहरूलाई प्रश्नहरूको एक श्रृंखलाले प्रहार गरेका थिए, जसमा सम्भवतः तर्कको आधारमा ती न्यायाधिसहरुले पूर्व राष्ट्रपतिको पक्षमा जाने बाटो खोजिरहेका थिए । अदालतका केही उदारवादी न्यायाधिसले समेत ट्रम्पको विपक्षका वकिलहरूलाई गाह्रो प्रश्नहरू सोधेका थिए ।

गृहयुद्ध पछि अनुमोदित सैंविधानको १४ औं संशोधनले विद्रोहमा संलग्न अमेरिकी अधिकारीहरूले भविष्यमा सरकारी पद धारण गर्न नसक्ने उल्लेख गरेको छ । तर यो प्रावधान अस्पष्ट छ । यस्तो प्रतिबन्ध कसरी लागू गर्ने भन्नेबारे थप प्रष्ट छैन । ट्रम्पका विपक्षीहरुले जनवरी ६, २०२१ मा अमेरिकाको क्यापिटल हिलमा भएको दंगामा ट्रम्पको भूमिकाका कारण उनी बिद्रोहको प्रतिबन्ध अन्तर्गत चुनाव उठ्न अयोग्य हुने तर्क गर्छन् ।

विसकन्सिनमा मतदानका क्रममा एक मतदाता । फोटो : एएफपी

अमेरिकाको इतिहासमा  सन् २००० मा जर्ज डब्लु बुश र एल गोरको मुद्दापछि यो मुद्दा सबैभन्दा महत्त्वपूर्ण चुनावी विवाद हो। यदि सर्वोच्च अदालतले अन्ततः ट्रम्पको बिरूद्ध फैसला गरेमा यसले अर्को कार्यकालको लागि उनको चुनावी अभियान अन्त्य गर्ने निश्चित छ। सर्वोच्च अदालतले प्रायः रायहरू बनाउन केही महिना लगाउाछ । सर्वोच्चले सामान्यतया जुनमा आफ्नो कार्यकालको अन्त्यमा सबैभन्दा ठूला मुद्दाहरूमा निर्णय दिन्छ । तर यो मुद्दामा चुनावलाई मध्यनजर गरेर अदालतले छिटो निर्णय गर्नसक्ने देखिएको छ ।

बिहिबार बहसको क्रममा सर्वोच्च अदालतका रूढिवादी न्यायाधिसहरूले संविधानमा भएको विद्रोह प्रतिबन्ध पूर्व राष्ट्रपतिहरूमा लागू गर्ने उद्देश्यले थियो वा थिएन ? वा संसदले कानून लागू नगरी यो प्रतिबन्ध लागू गर्न सकिन्छ वा सकिदैन भन्नेबारे प्रश्न गरेका थिए । मतपत्रबाट उम्मेदवारलाई हटाउने अदालतको निर्णय लोकतान्त्रिक हो कि होइन भन्ने बारेमा थप आधारभूत प्रश्नहरू पनि सोधेका थिए ।

अदालतको निर्णयले अन्य राज्यहरूमा प्रभाव पार्नेछ जहाँ ट्रम्पको योग्यतामा चुनौतीहरू विचाराधीन छन्। तर ट्रम्प विरुद्धको निर्णयको नतिजा अझ फराकिलो हुन सक्ने प्रधान न्यायाधिस जोन रोबर्टसले बताए । यदि ट्रम्पलाई कोलोराडोमा मतपत्रबाट हटाइएमा अन्य राज्यहरूले पनि भविष्यका चुनावहरूबाट अन्य उम्मेद्वारहरूलाई हटाउने प्रयास गर्ने उनले बताए । यो १४ औं संशोधनको उद्देश्य र इतिहाससँग असंगत देखिने उनको भनाई थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com