‘दलित’सँग प्रेम गरेको भन्दै बाबुले काटे छोरीको टाउको, शरीर र टाउको छुट्याएर फालिएको शव फेला


प्रकाशित मिति : माघ ११, २०८० बिहीबार

कथित दलित समुदायका किशोरसँग प्रेम गरेको भन्दै १५ वर्षीया छोरीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । छोरी कोशिला कुमारीको हत्या गरेको आरोपमा बाराको फेटा गाउँपालिका १ त्रिवेणी टोलका हरिन्द्र महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

महतोले साउन ११ गते छोरी कोशिलाको हत्या गरी पर्साको जगरनाथपुर गाउँपालिकाको सुपौलिया पुलनजिकै इमृतिया खोलाकिनारमा फालेको प्रहरीले बताएको छ । कोशिलाको शव पर्सा प्रहरीले साउन १३ गते फेला पारेको थियो । शरीर र टाउको छुट्टाछुट्टै पारी हत्यास्थलबाट ५० मिटर दुरीमा फालिएको अवस्थामा कोशिलाको शव फेला परेको थियो ।

प्रहरीको अनुसन्धान जारी राखेको थियो । पाँच महिनापछि अर्थात् करिब २० दिनअघि मात्रै शवको पहिचान भएको थियो ।

स्थानीयबासिन्दाले दिएको जानकारीका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । बाबु हरिन्द्र महतोले आफ्नै छोरीलाई बेपत्ता बनाएको स्थानीयहरुले प्रहरीलाई जानकारी दिएका थिए । कोशिला कुमारी कक्षा ८ मा अध्ययनरत थिइन् ।

कथित दलित समुदायका किशोरसँग प्रेम गरेको भन्दै परिवारले उनलाई कुनै सम्बन्ध नराख्न पटकपटक दवाव दिदै आएको जनाइएको छ । तर नमानेपछि बाबुले नै हत्या गरेको प्रहरीको दावी छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com