बेलायतका राजा चार्ल्सलाई प्रोस्टेटको समस्या, अर्को हप्ता उपचार हुने


प्रकाशित मिति : माघ ४, २०८० बिहीबार

बेलायतका राजा चार्ल्स तृतीयले आफ्नो प्रोस्टेटको उपचारको लागि अर्को हप्ता अस्पताल जाने बकिङ्घम प्यालेसले बिहीबार जनाएको छ ।

बकिङ्घम प्यालेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हरेक वर्ष हजारौं पुरुषले सामना गर्ने प्रोस्टेटको समस्याजस्तै सामान्य अवस्थाको प्रोस्टेटको उपचारका लागि राजा चार्ल्स अर्को हप्ता अस्पताल जानुहुनेछ । अहिले राजा चार्ल्सकोे अवस्था सामान्य र जोखिमरहित रहेको र उहाँले समस्या थप नहोस् भनी चिकित्सकीय सेवा लिनुहुनेछ ।”

राजा चार्ल्सको पूर्व निर्धारित सार्वजनिक कार्यक्रम उपचारका क्रममा केही समयको लागि स्थगित गरिनेछ ।

महारानी एलिजाबेथ द्वितीयाको निधनपछि गत वर्ष ७४ वर्षको उमेरमा राजा चार्ल्सले बेलायतको राजकीय बागडोर सम्हाल्नुभएको थियो ।

बेलायतको नेसनल हेल्थ सर्भिसका अनुसार हरेक तीन जना बेलायती पुरुषमध्ये एक जनाभन्दा बढीले आफ्नो जीवनकालमा प्रोस्टेट बढ्ने समस्याको सामना गर्नुपर्ने हुन्छ र यो अवस्था सामान्यतया बुढ्यौलीसँग सम्बन्धित हुन्छ ।

एनएचएसले आफ्नो वेबसाइटमा भनेको छ, “उमेर बढ्दै जाँदा प्रोस्टेट किन ठूलो हुन्छ भन्ने थाहा छैन, तर यो क्यान्सरका कारण होइन र यसले प्रोस्टेट क्यान्सर हुने खतरा बढाउँदैन ।”

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com