न्युयोर्क सिटीमा ‘एफ’ ट्रेन लिकबाहिर खस्यो, सबै यात्रुहरुको सकुशल उद्दार


प्रकाशित मिति : पुस २५, २०८० बुधबार

बुधवार न्युयोर्क सिटीको कोने आइल्याण्ड एक्वारियम नजिकै एफ ट्रेनको चक्का लिकबाट बाहिर खसेपछि विशेष गरी ब्रुकलिनमा ट्रेन सेवा गम्भीर रूपमा अवरुद्ध भएको छ । घटना वेस्ट ६ स्ट्रीट र नेप्च्यून एभिन्यूमा दिउसो साढे १२ बज्नै लाग्दा भएको थियो।

दुईवटा उद्धार कारले एक घण्टाभित्रै कामदारसहित ३७ जनालाई उद्धार गरेको थियो । कसैलाई पनि कुनै चोटपटक लागेको रिपोर्ट गरिएको छैन। ट्रेन हल्लिएको र अर्को साइडमा गएपछि चक्का लिकबाहिर खसेको आफूले तुरुन्तै अनुभव गरेको यात्रुले बताए । उनले पहिले कहिल्यै यस्तो अनुभव नगरेको बताए ।

दुर्घटनाको समयमा ट्रेन नेप्च्युन स्टेशनमा आउँदै थियो। दुर्घटनाको कारण तत्काल खुल्न सकेको छैन । ट्रान्जिट प्राधिकरणका अधिकारीहरूले ट्रेनको डिब्बा तुलनात्मक रूपमा नयाँ भएको र अनुसन्धान अब ट्र्याकहरूमा केन्द्रित रहेको बताएका छन् ।

अधिकारीहरूले बिहीबार बिहानसम्म भीडभाडयुक्त घण्टामा सेवा संचालन सुचारु गर्ने लक्ष्य रहेको बताएका छन् । बेलुकासम्म किंग्स हाइवे र कोने आइल्याण्ड बीच एफ ट्रेन सेवा थिएन। किंग्स हाइवे र चर्च एभिन्यू बीचको सेवा अत्यन्त सीमित थियो।

न्युयोर्क सिटीमा ट्रेनहरू ठोक्किएर लिकबाट खस्दा २४ जना घाइते भएको एकसाता नहुँदै यो घटना भएको हो । गत बिहिबार म्यानहटनको वेस्ट ९६ स्ट्रीट र ब्रोडवे नजिकै करिब ३ सय जना बोकेको १ नम्बरको सबवे ट्रेन अर्को कामको ट्रेनसँग ठोक्किएको थियो, जसका कारण कामको ट्रेन लिकबाट खसेको थियो ।

दिउँसो ३ बजेतिर भएको दुर्घटनामा घाइते २४ जना मध्ये कम्तीमा आठ यात्रुहरूलाई अस्पताल लगिएको थियो । चार ट्रान्जिट कामदारहरू बोकेको कामको ट्रेनले ट्र्याक बदल्ने क्रममा यात्रुवाहक ट्रेनले ठक्कर दिएको थियो ।

अधिकारीहरूले दुर्घटना उपकरणको खराबीसँग सम्बन्धित नभएको बताएका थिए । दुर्घटनाग्रस्त यात्रुवाहक ट्रेनमा रहेका करिब ३ सयजनाका साथै स्टेशनमा बिजुली काटिएपछि पछाडिका ट्रेनबाट पनि तीनसयदेखि चारसय यात्रुहरुलाई बाहिर निकालिएको थियो । दुर्घटनापछि म्यानहटनका अधिकांश भागमा १, २ र ३ नम्बर ट्रेनको सेवा बन्द गरिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com