न्युयोर्क सिटीका शेल्टरमा ६० दिनभन्दा बढी बस्ने कागजविहिनलाई निष्कासन गरिने


प्रकाशित मिति : पुस २३, २०८० सोमबार

न्युयोर्क सिटीले ६० दिनभन्दा बढी शेल्टरमा बस्ने कागजपत्रविहिन आप्रवासी परिवारहरूलाई सिटीबाट संचालित शेल्टरहरूबाट बाहिर निकाल्ने प्रक्रिया सुरु गर्ने तयारी गरेको छ । मंगलबारको निष्कासनले करिब ४,००० परिवारलाई असर गर्नेछ।

एकल शरण खोज्ने वयस्कहरूसँग भने यो समय ३० दिनमात्र हुन्छ। अर्थात् ३० दिनभन्दा बढी शेल्टरमा बस्ने एकल कागजपत्रविहिन आप्रवासीहरूलाई पनि निष्कासन गरिने भएको छ । यसको विरोधमा सोमबार र्‍याली निकाल्ने तयारी समेत भएको छ ।

सिटीले आश्रयस्थलहरु ठाउँ खाली गर्न ३० र ६० दिनको समयसीमा राखेको हो । तर केही आलोचकहरू यसबाट थप अराजकता मात्र निम्त्याइरहेको बताएका छन् । थपरुपमा टेक्सासबाट कागजपत्रविहिन आप्रवासीहरूको बसहरू आउने क्रम पनि जारी रहेको छ ।

यसैबीच न्युयोर्कका मेयर एरिक आडम्सले १७ यातायात कम्पनीहरू विरुद्ध मुद्दा दायर गरका छन् । ३० हजार भन्दा बढी कागजपत्रविहिन आप्रवासीहरूलाई न्युयोर्क सिटीमा ल्याउने यातायात कम्पनीहरुविरुद्ध आडम्सले ७ सय मिलियन डलरको मुद्दा दायर गरेका हुन् ।

(Photo by Herika MARTINEZ / AFP)

यातायात कम्पनीहरूबाट क्षतिपूर्तिको माग गरिएको ७ सय मिलियन डलर रकम आप्रवासीहरूको हेरचाह र आश्रयको लागतको रूपमा वर्णन गरिएको छ। म्यानहटनमा रहेको राज्यको सर्वोच्च अदालतमा दायर गरिएको मुद्दामा कागजपत्रविहिन आप्रवासीहरूलाई उनीहरूको हेरचाहको लागत न्युयोर्कमा सार्ने गलत नियतका साथ न्युयोर्क सिटीमा पठाउनु राज्यको कानूनको उल्लङ्घन भएको उल्लेख छ ।

यो मुद्दासँगै न्युयोर्कका मेयर र टेक्सास गभर्नर ग्रेग एबटबीचको झगडा बढेको छ । यो मुद्दा निराधार रहेको र खारेज हुन योग्य रहेको एबोटले बताएका छन् । मेयर आडम्सलाई अमेरिकी संविधानको वाणिज्य प्रावधान वा अमेरिकी सर्वोच्च अदालतले मान्यता पाएको यात्रा गर्ने संवैधानिक अधिकारको बारेमा केही थाहा नभएको गभर्नर एबोटले आरोप लगाएका छन् ।

न्युयोर्कका लागि बस वा उडानमा चढेका आप्रवासीहरूले अमेरिकामा बस्नको लागि बाइडेन प्रशासनले अधिकार दिएपछि स्वेच्छिक रूपमा न्युयोर्कलाई रोजेको एबोटको भनाई छ ।

मुद्दा दायर गरिएका यातायात कम्पनीहरूमा ओहायोमा रहेको बकआई कोच एलएलसी र टेक्सासमा रहेको क्लासिक एलिगेन्स कोचहरू समावेश छन्। मुद्दा संयोजनमा जारी गरिएको एक मिनेट लामो भिडियोमा एरिक एडम्सले न्युयोर्क शहरले टेक्सास राज्यको लापरवाह राजनीतिक चालको लागत वहन गर्न नसक्ने बताएका छन् ।

(AP Photo/Eric Gay)

न्युयोर्क शहरमा आएका १ लाख ६० हजार भन्दा बढी कागजपत्रविहिन आप्रवासीहरूको आगमनले एडम्सको कार्यालयमा पहिलो दुई वर्षको धेरै समय खपत गरेको छ। न्युयोर्क शहरको कानून अनुशार न्युयोर्कले आश्रय माग्ने जो कोहीलाई आश्रय प्रदान गर्न आवश्यक छ। लगभग ७० हजार आप्रवासीहरू अहिले पनि सहरको हेरचाहमा रहन्छन्। कागपत्रविहिन आप्रवासीहरूलाई आश्रय दिँदा तीन वर्षमा सहरको १२ बिलियन डलर खर्च हुने मेयर आडम्सको अनुमान छ ।

कागजपत्रविहिन आप्रवासीहरूको आगमनले न्युयोर्क शहरलाई ध्वस्त पार्ने मेयर आडम्सले चेतावनी दिएका छन् । हालैका हप्ताहरूमा उनले यस मुद्दालाई सम्बोधन गर्न थप आक्रामक कानुनी रणनीति अपनाएका छन्। गत हप्ता चार्टर बसहरूले आप्रवासीहरूलाई ढुवानीमा नियन्त्रणहरू घोषणा गरेका थिए । त्यस्ता बसहरुले आप्रवासीलाई छोड्न सक्ने घण्टा र स्थानहरू सीमित गरेका छन् । जसका कारण चार्टर बसहरुले आप्रवासीहरुलाई न्युजर्सीमा छाडेका थिए ।

यसरी आप्रवासीहरुलाई न्युजर्सीमा उतारेपछि मुद्दामा यस्तो गतिविधिलाई बस कम्पनीहरूको गलत नियतको थप प्रमाणको रूपमा उद्धृत गरिएको छ । मुद्दामा न्युयोर्ककी गभर्नर क्याथी होकुलको समर्थन रहेको छ, जसको बजेट पनि आप्रवासीहरूलाई आश्रय दिने लागतले तनावग्रस्त भएको छ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com