जबरजस्ती करणीको मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर, सजाय पुष २५ मा निर्धारण


प्रकाशित मिति : पुस १३, २०८० शुक्रबार

जबरजस्ती करणीको मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएपछि आगामी पुष २५ मा सजाय निर्धारण गरिने भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो ।

अब सजाय निर्धारणका लागि पुष २५ को तारिख निर्धारण गरिएको छ । मुद्दामा न्यायाधीश शिशिरराज ढकालको इजलासमा पीडित र पीडक दुवैतर्फका वकिलहरुले बहस सकेपछि फैसला सुनाइएको हो ।

लामिछानेविरुद्ध एक किशोरीले जबर्जस्ती करणीको आरोपमा २०७९ भदौ २१ मा प्रहरीमा जाहेरी दिएकी छन् । त्यसपछि काठमाडौ जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन अनुमति दिएको थियो ।

कार्तिक १४ मा प्रहरीले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेपछि लामिछानेलाई पुर्पक्षमा राखेर अनुसन्धान गर्न आदेश दिइएको थियो । त्यसपछि लामिछाने कारागार चलान भएका थिए । तर उच्च अदालत पाटनले उनलाई २० लाख धरौटीमा छोड्न आदेश दिएपछि लामिछाने थुनामुक्त भएका थिए ।

उक्त मुद्दाको सुनुवाई पटकपटक जिल्ला अदालतमा हेर्दाहेर्दैकै सूचीमा परेर लम्बिँदै आएको थियो । मुद्दा दर्ता भएको करिब १४ महिनापछि शुक्रबार फैसला भएको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com