१७ बर्षका पिटर पार्क बने क्यालिफोर्नियामा सबैभन्दा कम उमेरका वकिल


प्रकाशित मिति : पुस ६, २०८० शुक्रबार

सेन्ट्रल क्यालिफोर्नियाका १७ वर्षीय पिटर पार्कले आफ्नो पहिलो प्रयासमा बार परीक्षा पास गरेका छन् । टुलारे काउन्टी डिट्रिक्ट एटोर्नी कार्यालयमा कानून क्लर्क पार्कले जुलाईमा परीक्षा दिएका थिए भने नोभेम्बरमा उत्तीर्ण भएको थाहा पाएका थिए ।

उनी क्यालिफोर्नियामा बार परीक्षा पास गर्ने सबैभन्दा कान्छो व्यक्ति बनेका छन् । उनको यस उपलब्धिलाई कानूनी इतिहास बनाउने क्षण भनिएको छ । कानून क्लर्क पिटर पार्कले आफ्नो पहिलो प्रयासमा कठोर परीक्षा पास गरेको डिस्ट्रिक्ट एटोर्नी कार्यालयका अधिकारीहरूले बताएका छन् ।

डिसेम्बर ५ मा उनले क्यालिफोर्नियाको सबैभन्दा कान्छो वकिलको रूपमा शपथ लिइसकेका छन् । राज्यको बारले भने सन् १९२७ मा यसको स्थापना पछि पार्क बारको परीक्षा पास गर्ने साँच्चै सबैभन्दा कान्छो व्यक्ति भए नभएको पुष्टि गरेको छैन तर उनको उपलब्धिलाई भने एकदम प्रभावशाली भनेको छ ।

क्यालिफोर्निया बार परीक्षा पास गर्नु कुनै पनि उमेरमा ठूलो उपलब्धि र पार्क जत्तिकै युवाको लागि यो एकदमै असाधारण उपलब्धि र उत्सव भएको क्यालिफोर्नियाको स्टेट बारका कार्यकारी निर्देशक लेह विल्सनले बताएका छन् । क्यालिफोर्नियाको स्टेट बारले उनलाई कानुनी क्षेत्रमा करियर सुरु गर्नका लागि शुभकामना दिएको छ ।

५ वर्षको उमेरमा आफ्नो परिवारसँग कोरियाबाट बसाइँ सरेका पार्क दक्षिणी क्यालिफोर्नियामा हुर्किएका थिए । उनले सानै उमेरमा कानूनको डिग्री कमाउने आफ्नो यात्रालाई द्रुत रूपमा अगाडी बढाएका थिए । उनले १३ वर्षको उमेरमा ओरेन्ज काउन्टीको साइप्रसको अक्सफोर्ड एकेडेमीमा हाई स्कूल सुरु गरेका थिए ।

हाई स्कूलमा हुँदा नै उनले साक्रामेन्टोको नर्थवेस्टर्न क्यालिफोर्निया युनिभर्सिटी स्कूल अफ लमा चार वर्षको अनलाइन जुरिस डाक्टर जेडी कार्यक्रममा एकैसाथ भर्ना भएका थिए । विद्यार्थीहरूलाई कलेज स्तर परीक्षा कार्यक्रमपछि कानून स्कूलमा आवेदन दिन अनुमति दिने राज्यको बारको नियमको फाइदा लिदै उनी जेडीमा भर्ना भएका थिए ।

हाई स्कूल पूरा गर्न उनलाई दुई वर्ष लाग्यो भने २०२१ मा स्नातक गरेर उनले यस वर्षको सुरुमा जुरिस डाक्टर हासिल गरेर कानून स्कूलमा आफ्नो अध्ययन केन्द्रित गरे। अगस्टमा उनले टुलारे काउन्टीको डिस्ट्रिक्ट एटोर्नी कार्यालयमा कानून क्लर्कको रूपमा पद ग्रहण गरे। यो कठिन बाटो भएपनि हिड्न लायक भएको पार्कले बताए ।

बार पास गर्न अनुशासन र रणनीति चाहिने र आफूले यसलाई पूरा गरेको उनले बताए । उनले अभियोजकको रूपमा काम गर्ने योजना बनाएका छन् । आफू समाजमा स्वतन्त्रता, समानता र न्यायलाई कायम राख्ने नैतिक दायित्वबाट प्रेरित रहेको बताउदै उनले अभियोजकहरूले समुदायलाई सुरक्षित राख्ने कुराबाट आफू प्रेरित रहेको बताए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com