अमेरिकामा तीन प्यालेस्टिनी मूलका विद्यार्थीमाथि गोली प्रहारका अभियुक्तबाट अदालतमा अभियोग अस्वीकार


प्रकाशित मिति : मंसिर ११, २०८० सोमबार

अमेरिकाको भर्मोन्ट राज्यको बर्लिङटनमा थ्याङ्क्सगिभिङ बिदाको जमघटका लागि आएका प्यालेस्टिनी मूलका तीनजना युवाहरूलाई भर्मन्ट विश्वविद्यालय नजिकै गोली हानी घाइते बनाएको अभियोग लागेका ४८ बर्षका जेसन जे ईटनले हत्या प्रयासको तीनवटा मुद्दामा आफूमाथिको अभियोग अस्वीकार गरेका छन् । ईटनलाई हत्या प्रयासको तीनवटा मुद्दामा जेलबाट भिडियो मार्फत अदालतमा उपस्थित गराइएको थियो ।

अभियुक्तका तर्फबाट दोषी नभएको निवेदन दर्ता गरिएको छ भने अभियुक्तलाई बिना जमानत थुनामा राख्न आदेश दिइएको छ । इजरायल हमास युद्ध सुरु भएदेखि अमेरिकाभरि यहूदी, मुस्लिम र अरब समुदायहरू विरुद्ध बढ्दो खतराको बीचमा शनिबारको गोलीकाण्ड घृणा अपराध हो वा होइन भनेर अमेरिकी अधिकारीहरुले अनुसन्धान गरिरहेका छन् ।

शनिबार साँझ ६ बजेर २५ मिनेटमा भएको आक्रमणपछि घाइतेमध्ये दुईजना पुरुषको अवस्था स्थिर रहेको छ भने अर्कोलाई धेरै गम्भीर चोट लागेको जनाइएको छ । तीनै जना सबै २० वर्षको हाराहारीका रहेका छन् । उनीहरु तीनजनामध्ये एक आफन्तको घरमा घेटघाटका क्रममा गइरहेका थिए । त्यहीबेला उनीहरूमाथि गोली प्रहार भएको थियो ।

आक्रमणकारीले पेस्तोलबाट कम्तिमा चार राउण्ड प्रहार गरेर भागेको विश्वास गरिएको छ । तीनजना पीडितहरूमध्ये दुईजनाको धडमा र एकजनाको तल्लो भागमा गोली हानिएको थियो । पीडित प्यालेस्टिनी मूलका व्यक्तिहरुमध्ये दुई जना अमेरिकी नागरिक र एकजना ग्रिनकार्डवाहक हुन् । दुई जना पुरुषले कालो र सेतो प्यालेस्टिनी पोशाक लगाएका थिए ।

यदि यो घृणाले प्रेरित अपराध भएको पुष्टी भएमा संघीय अनुसन्धान र अभियोजक साझेदारहरूसँग सम्पर्कमा रहेको प्रहरीले जनाएको छ । अहिले नै सर्वसाधारणहरुलाई निष्कर्षमा नपुग्न सुझाव दिइएको छ ।

अमेरिकी अरब भेदभाव विरोधी समितिले आइतवार एक विज्ञप्ति जारी गर्दै पीडितहरू प्यालेस्टिनी मूलका विद्यार्थीहरू भएको र पीडितहरू अरब भएकाले गोली हानिएको विश्वास गर्ने कारण रहेको बताएको छ । गोली प्रहार व्यक्तिले अरबीमा कुराकानी गरिरहेका पीडितहरूलाई चिच्याएर गाली गरेपछि उनीहरूलाई गोली हानेको समितिको विज्ञप्तिमा भनिएको छ।

अल्बानी न्यूयोर्कमा रहेको एफबीआईले एक्समा पोस्ट गर्दै बर्लिङटनमा प्रहरी विभाग, एटीएफ र अन्य संघीय, राज्य र स्थानीय एजेन्सीहरूसँग गोलीकाण्डबारे सक्रिय रूपमा अनुसन्धान गरिरहेको बताएको छ। राष्ट्रपति जो बाइडेनलाई पनि गोलीकाण्डको बारेमा जानकारी दिइएको छ ।

अमेरिकी इस्लामिक सम्बन्ध काउन्सिलले विज्ञप्तिमा गोलीकाण्डका लागि जिम्मेवार व्यक्ति वा व्यक्तिहरूलाई पक्राउ गर्न वा दोषी ठहराउने जानकारीको लागि १० हजार डलर इनाम प्रस्ताव गरेको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com