भोलि अमेरिकामा चुनाव हुँदै, यस्ता छन् हेर्नलायक दौडहरु


प्रकाशित मिति : कार्तिक २०, २०८० सोमबार

अमेरिकाभर सन् २०२४ मा हुने राष्ट्रपति चुनाव अहिलेदेखि नै चर्चामा रहेपनि भोलि नोभेम्बर ७ मा अमेरिकामा हुने चुनावमा पनि केही दौडहरु हेर्न लायक नै छन् । केन्टकी, मिसिसिपी, ओहायो, भर्जिनिया र पेन्सिलभेनियाका मतदाताहरूले प्रमुख मुद्दाहरू र राजनीतिक दौडहरूमा आफ्नो मत जाहेर गर्ने अवसर पाउनेछन्। गर्भपतनदेखि गभर्नरसम्म मतदाताहरूले कम्तिमा अर्को केही वर्षको लागि आफ्नो राज्यको भाग्यको निर्णय गर्नेछन् ।

केन्टकीमा लोकप्रिय डेमोक्र्याटिक गभर्नर एन्डी बेशियरले रिपब्लिकन राज्यका महान्यायाधिवक्ता डेनियल क्यामरुनसँग प्रतिस्पर्धा गर्दैछन्। राज्यको रूढिवादी तप्काबाट समर्थन प्राप्त गर्न क्यामरुनले आफूलाई पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको नजिक देखाउने प्रयास गरिरहेका छन् । बेशियरको आर्थिक विकास र गर्भपतनको अधिकारमा झुकाव रहेको छ । देशको सबैभन्दा लोकप्रिय गभर्नरहरू मध्ये एक भए पनि बेशियरको लागि रिपब्लिकन राज्यमा गभर्नरमा कायम रहिरहन चुनौतीपूर्ण हुनेछ।

मिसिसिपीका वर्तमान गभर्नर रिपब्लिकन टेट रिभ्स दोस्रो कार्यकालको लागि प्रतिस्पर्धा गर्दै छन्। पुन चुनाव जित्नका लागि उनले डेमोक्र्याट ब्रान्डन प्रेस्लीलाई पराजित गर्नुपर्नेछ। यदि प्रेस्लीले जितेमा उनी सन् १९९९ पछि राज्यमा निर्वाचित हुने पहिलो डेमोक्रेटिक गभर्नर हुनेछन्।

भर्जिनियामा डेमोक्र्याटहरूले राज्यको सिनेट र रिपब्लिकनहरूले राज्य तल्लो सदनमा नियन्त्रण कायम गरिरहेको बेलामा त्यहाँको चुनावलाई अर्को बर्षको सम्भावित सूचकको रूपमा हेरिएको छ । रिपब्लिकनहरूले राज्य संसदमा पूर्ण नियन्त्रण प्राप्त गर्ने र गर्भपतन, शिक्षा, कर र अन्य प्रमुख नीति प्राथमिकताहरूमा आफ्ना प्रस्तावहरू लागू गर्न गभर्नरको लागि मार्ग प्रसस्त गर्ने आशा राख्छन्। डेमोक्र्याटहरूले कम्तिमा एउटा च्याम्बरको नियन्त्रण कायम राख्न खोजिरहेका छन् । उनीहरु अहिलेकै शक्ति सन्तुलन कायम राखिरहन चाहन्छन् ।

ओहायोका मतदाताहरूले प्रत्यक्ष रूपमा गर्भपतनको मुद्दामा मतदान गर्नेछन्। मुद्दा एकको रूपमा चिनिने संवैधानिक संशोधनले प्रक्रियाको लागि राज्यव्यापी संरक्षणहरू स्थापना गर्नेछ। यो मुद्दाका कारण राज्यभर र्‍याली र विरोध प्रदर्शन भएको छ । समरमा मतदाताहरूले ओहायोको संविधानमा संशोधनहरू पारित गर्नको लागि नाटकीय रूपमा थ्रेसहोल्ड बढाउने प्रस्तावलाई अत्यधिक रूपमा अस्वीकार गरेका थिए । यसपटक मतदाताहरूले मनोरञ्जनका रुपमा गाँजालाई राज्यव्यापी रूपमा वैध बनाउने नबनाउने भन्ने जनमत संग्रहमा पनि मतदान गर्नेछन् ।

पेन्सिल्भेनियामा राज्यको सर्वोच्च अदालतको लागि हुने दौडमा रिपब्लिकनहरूले वर्तमान डेमोक्रेटिक बहुमतलाई घटाउने आशा गरेका छन् । उदारवादीहरु ४ र रुढीवादीहरु २ जना न्यायाधिस रहेकोमा सातौं सिटका लागि चुनाव हुँदैछ । डेमोक्र्याटहरूले बहुमत विस्तार गर्ने आशा राखेका छन्, जबकि रिपब्लिकनहरूले भविष्यमा बहुमत प्राप्त गर्ने अवसर पाउनको लागि रुढीवादी न्यायाधिसको संख्या ३ बनाउन चाहन्छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com